मतदान सकियो, कहाँ कहाँ हुँदै छ मतगणना?
प्रतिनिधि सभा सदस्यका लागि तीन वटै क्षेत्रमा भएको उपनिर्वाचनमा मतदान सकिएको छ।
निर्वाचन आयोगका अनुसार बारा-२, चितवन-२ र तनहुँ-१ मा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ। मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टि हुने क्रम जारी छ।
प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ५९.६६ प्रतिशत मतदान भएको देखिएको आयोगले जनाएको छ। जस अनुसार बारा-२ मा ६१ प्रतिशत, चितवन-२ मा ६० प्रतिशत र तनहुँ-१ मा ५२ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण आएको छ।
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरिनेछ। मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार बारा-२ का मतपेटिका कैलयास्थित शिक्षा तालीम केन्द्रमा पुर्याइनेछन्। त्यही मतगणना गरिने भएको छ।
त्यस्तै, चितवन-२ का मतपेटिका भरतपुरस्थित उद्योग वाणिज्य संघको हलमा सङ्कलन गरिनेछनु। संघको हलमै मतगणना हुने आयोगले जनाएको छ।
तनहुँ-१ का मतपेटिका दमौलीस्थित जिल्ला समन्वय समिति परिसरमा संकलन गरिनेछन्। त्यहीं मतगणना गर्ने व्यवस्था गरिएको छ।
मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि प्रतिनिधि सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनाबारे आयोगले दिएको विशेष निर्देशन बमोजिम दल तथा उम्मेदवारसँग सहमति जुटाई गणना शुरू गरिनेछ। सकभर आजै र नभए सोमबार बिहानैदेखि मतगणना गर्न आयोगले निर्देशन दिएको छ।
आयोगले दुई दिनभित्रै मतगणना सम्पन्न गर्न पनि निर्देशन दिएको छ। यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगका उपसचिव कमल ज्ञवालीले बताए।