उद्योगहरूमा लगातार विद्युत् कटौती, प्राधिकरण भन्छ- ठूलो समस्या होइन
हिउँद शुरू भएदेखि नै देशको औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिमा व्यवधान आएको भन्दै उद्योगीले गुनासो गर्दै आएका छन्।
नेपाल विद्युत् प्राधिकरणले औपचारिक रूपमा लोडसेडिङको तालिका ननिकाले पनि उद्योगको विद्युत् आपूर्तिमा भने कटौती गर्दै आएको छ। प्राधिकरणले पाँच वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको दाबी गरे पनि हिउँद याममा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ। यद्यपि घरायसी ग्राहकलाई विद्युत् कटौती गरिएको छैन।
प्राधिकरणले कोशी प्रदेशका सुनसरी, मोरङ औद्योगिक करिडोर लगायतका क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या अल्पकालीन भएको दाबी गरेको छ। उद्योगी व्यवसायीले लगातार विद्युत् कटौती (लोडसेडिङ) हुन थालेकोमा विरोध जनाएपछि प्राधिकरणले प्रतिरक्षा गरेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार पत्रकारसँगको भेटमा औद्योगिक क्षेत्रमा देखिएको समस्या १०-१५ दिनमा समाधान हुने बताए। उनले विद्युत् आपूर्तिमा भएको समस्यालाई बुझिदिन पनि आग्रह गरे।
यो वर्ष पर्याप्त हिउँ र पानी नपरेर सुक्खा याम लम्बिंदा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरूको उत्पादनमा करीब ३० प्रतिशत गिरावट आएको प्राधिकरणले जनाएको छ। त्यसैगरी धनुषाको ढल्केबर सबस्टेशनबाट थप विद्युत् पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको, सप्तरीको रुपनी सबस्टेशनको ब्रेकर चुँडिएको र कटैया-कुशहवा १३२ केभी प्रसारण लाइन मार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत् उताबाट कटौती हुँदा माग अनुसार आपूर्ति गर्न समस्या भएको घिसिङको भनाइ छ।
उनका अनुसार, ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत् आयोजनाको जडित क्षमता करीब २०० मेगावाट भए पनि हिउँ-पानी नपर्दा अहिले करीब ३० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ। तर, एक-दुई दिनदेखि ती आयोजनाबाट विद्युत् उत्पादन बढ्दै गएकाले उद्योगहरूलाई अहिले नियमित विद्युत् आपूर्ति भइरहेको उनले बताए।
“सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगलाई विद्युत् काटेका छैनौं, न्यून खपत हुने गरी मात्र चलाउनू भनेका थियौं, काबेली करिडोरमा उत्पादन बढ्नासाथ उद्योगलाई विद्युत् आपूर्ति दिन शुरू गरिसकेका छौं,” घिसिङले भने, “अहिले देखिएको अल्पकालीन समस्या हो, ठूलो समस्या हैन।”
उनले मनसुन शुरू भएसँगै खोलानालामा पानीको बहाव बढेर विद्युत् उत्पादन वृद्धि हुने भएकाले अहिलेको समस्या छिटै समाधान हुने बताए। आन्तरिक रूपमा खपत गरी अतिरिक्त विद्युत् जेठको पहिलो साताबाट भारततर्फ निर्यात गर्न लागिएको पनि जानकारी दिए। घिसिङले आगामी वर्षा याममा करीब एक हजार २०० मेगावाट विद्युत् निर्यात हुने अनुमान गरेको र निर्यात अनुमतिको स्वीकृतिका लागि भारतीय निकायहरूमा आयोजनाको सूची पठाएको जानकारी दिए।
अहिले प्रणालीमा विद्युत्को उच्चतम माग एक हजार ७५० मेगावाट पुगेको छ। औसत माग एक हजार ३०० मेगावाट र आधार माग एक हजार २७५ मेगावाट छ। तराईमा गर्मी बढ्दा खेतमा सिंचाइ गर्न लोड अत्यधिक बढेको छ। झापाको दमकदेखि अनारमनी क्षेत्रको मात्र विद्युत् माग ८० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।
कुलेखानी जलाशयलाई २४सै घण्टा पूर्ण क्षमतामा चलाइएको छ। आन्तरिक उत्पादनले विद्युत् माग धान्न नसकेपछि दैनिक रूपमा औसत ५०० मेगावाट आयात गरिएको प्राधिकरणको भनाइ छ।
गत वर्षभन्दा यस वर्ष जलविद्युत् आयोजनाहरूको जडित क्षमता बढे पनि पानी-हिउँ नपर्दा देशभित्रको विद्युत् उत्पादनमा करीब ३० प्रतिशत गिरावट आएको छ। प्राधिकरणका विद्युत्गृह बाहेक निजी क्षेत्रका जलविद्युत्गृहको विद्युत् उत्पादन जडित क्षमताको करीब १४ प्रतिशत मात्र रहेको प्राधिकरणको अनुमान छ।
कार्यकारी निर्देशक घिसिङले आगामी वर्षको गर्मी मौसममा अहिलेको जस्तो समस्या आउन नदिन अहिले ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौंडा-भरतपुर-बर्दघाट-नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण जतिसक्दो छिटै सम्पन्न गर्ने गरी काम भइरहेको बताए। यी लाइन बनेपछि ढल्केबरबाट पूर्व र पश्चिम विद्युत् प्रवाहका लागि प्रसारण लाइनको समस्या नहुने उनको भनाइ छ।