नेपालको समूहमा रहेको ओमनको दोस्रो जित
एसीसी प्रिमियर कप अन्तर्गत आइतबार भएको खेलमा ओमनले मलेशियालाई पराजित गरेको छ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा ओमनले मलेशियालाई आठ विकेटले पराजित गरेको हो। मलेशियाले दिएको २२८ रनको लक्ष्य ओमनले ४१.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो।
ओमनका लागि जतिन्दर सिंहले १०१ रन बनाए। उनले १११ बलमा १३ चौका र एक छक्का प्रहार गरे।
त्यस्तै, कश्यप प्रजापतिले ६६, जिसम कम्सूदले ५२ र शोयब खानले दुई रन बनाए। मलेशियाका लागि मुहम्मद अमिरले दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको मलेशियाले नौ विकेटको क्षतिमा २२७ रन बनाएको थियो। मलेशियाका लागि विरनदीप सिंहले ९४, मोहम्मद सहादतले ५५, मोहम्मद अमिरले २०, मोहम्मद वाफिकले १९ र सेद अजिजले १८ रन बनाए।
ओमनका लागि जिसम मक्सूदले चार, बिलाल खान र आयान खानले दुई–दुई तथा कलिमुल्लाहले एक विकेट लिए।
समूह ‘ए’ मा रहेको ओमनको यो दोस्रो जित हो। यो जितसँगै ओमनको चार अङ्क भएको छ। दुई खेल जितेको नेपालको पनि चार अङ्क छ। रनरेटका आधारमा नेपाल शीर्षस्थानमा छ।
त्यस्तै, मलेशिया र साउदी अरबको दुई–दुई अङ्क छ भने कतारले अङ्क जोड्न सकेको छैन। सोमबार नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ।