रास्वपाले क्षमा मागेपछि चितवनमा मतदान फेरि सञ्चालन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्षमा मागेपछि चितवनको नयाँ किरण मावि मतदान केन्द्रमा अवरुद्ध भएको मतदान पुनः सञ्चालन भएको छ।
रास्वपाका उम्मेदवार समेत रहेका सभापति रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि अन्य दलले विरोध गरेका थिए। विवाद बढ्दै गएपछि बिहान ११ः१५ बजेदेखि मतदान रोकिएको थियो।
त्यसपछि बसेको सर्वदलीय बैठकमा रास्वपाले क्षमा मागेपछि मतदान शुरू भएको मतदान अधिकृत मञ्जु गुरुङले बताइन्। मतदान अधिकृत, सुरक्षा निकायका प्रमुख सहित राजनीतिक दलका प्रतिनिधिको बैठक बसेको थियो।
निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा रास्वपाले क्षमा मागेको हो। बैठकको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्दै कार्यक्रम सञ्चालन भएको पाइयो। उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो।’
रास्वपाले क्षमा मागेपछि मतदान शुरू गर्ने सहमति बनेको हो। बैठकको चौथो निर्णयमा भनिएको छ, ‘छलफल गर्दा अवरुद्ध भएको चुनाव अब सुचारु गर्नका लागि राजनीतिक दलले सहयोग गर्ने निर्णय गरियो।’
यो निर्णयसँगै पुनः मतदान शुरू भएको निर्वाचन अधिकृत गुरुङले बताइन्। यससँगै सर्वदलीय बैठकले निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई लिखित जानकारी पठाउने समेत निर्णय गरेको छ।
त्यस्तै, मतदान केन्द्रको ३०० मिटर वरिपरि शान्ति सुरक्षा कायम गर्ने निर्णय पनि गरेको छ।