तीन महीनामै तेस्रो पटक विश्वासको मत लिंदै कर्णालीका मुख्यमन्त्री
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तीन महीनामा तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्।
मुख्यमन्त्री शर्माले विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयलाई पत्र बुझाएका छन्। आइतबार मुख्यमन्त्री शर्माको पत्र दर्ता भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले बताए।
मुख्यमन्त्री शर्माले वैशाख १५ गते विश्वासको मत लिन खोजेका छन्। वैशाख १५ गते अपराह्न ३ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सरकारमा सहभागी एमालेले गत चैत २७ गते समर्थन फिर्ता लिएको थियो।
गत पुस २७ गते एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका शर्माले पहिलो पटक गत माघ ६ मा विश्वासको मत लिएका थिए। राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गत चैत १७ मा दोस्रो पटक विश्वासको मत लिएका हुन्।
अहिले एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। अहिले उनलाई नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को साथ रहेको छ।