मधेशका मुख्यमन्त्रीसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण
निर्वाचन आयोगले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग स्पष्टीकरण मागेको छ।
उपनिर्वाचनको प्रचारप्रसारका क्रममा निर्वाचनको निष्पक्षतामाथि असर पर्ने गरी आचारसंहिता विपरीत कार्य गरेको भन्दै आयोगले मुख्यमन्त्री यादवसँग स्पष्टीकरण मागेको हो। मुख्यमन्त्री यादवले आइतबार बारा-२ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन भइरहेको समयमा निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमति विना आचारसंहिता विपरीत कार्य गरेको आयोगको ठहर छ।
आयोगले निर्वाचन आचारसंहिता विपरीत हुने गरी केकति कारण पचरौता नगरपालिका क्षेत्रमा गएको हो भनेर सोधेको छ। आयोगले भनेको छ, ‘त्यहाँ जानुको कारण, तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो/होइन? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ/हुँदैन?’
यससँगै आयोगले किन कारबाही नगर्ने भनेर पनि सोधेको छ। आयोगले भनेको छ, ‘निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने?’
मतदानका क्रममा मुख्यमन्त्री यादवले सरकारी स्रोत साधन प्रयोग गरी पचरौता नगरपालिका क्षेत्रमा गएको भन्दै उजुरी परेको थियो। उनले मतदान प्रभावित गर्न खोजेको विपक्षीले आरोप लगाएका थिए।