भीसी रामबहादुर लिम्बूले लडेको बोर्नियो युद्ध
बेलायतको सर्वोच्च युद्धपदक ‘भिक्टोरिया क्रस’ प्राप्त गर्ने १३ जनामध्ये रामबहादुर लिम्बू अन्तिम गोर्खा हुन्। इन्डोनेशिया-मलेशिया (बोर्नियो)मा भएको विद्रोह दबाउने क्रममा सन् १९६५ मा देखाएको बहादुरी बापत भीसी प्राप्त गरेका थिए।
बेलायती सेनामा भर्ती भएर हजारौं गोर्खाली (नेपाली)ले पहिलो र दोस्रो विश्वयुद्धमा विभिन्न देशमा बहादुरीपूर्वक लडे। विश्वयुद्ध लड्नेमध्ये १२ जनाले बेलायतको सर्वोच्च युद्धपदक ‘भिक्टोरिया क्रस’ (भीसी) प्राप्त गरे। विश्वयुद्ध सकिएपछि थप एक जनाले पाएपछि भीसी पाउने नेपालीको संख्या १३ पुगेको थियो। विश्वयुद्धपछि भीसी पाउने रामबहादुर लिम्बू हुन्।
पहिलो विश्वयुद्धमा कुलवीर थापा र कर्णबहादुर रानाले भीसी प्राप्त गरेका थिए। दोस्रो विश्वयुद्धमा लालबहादुर थापा, गजे घले, तुलबहादुर पुन, नेत्रबहादुर थापा, शेरबहादुर थापा, अगमसिंह राई, थमन गुरुङ, गञ्जु लामा, लछिमन गुरुङ र भानुभक्त गुरुङले भीसी प्राप्त गरेका थिए। रामबहादुर लिम्बूले सन् १९६५ मा इन्डोनेशिया-मलेशिया (बोर्नियो)मा भएको विद्रोह दबाउने क्रममा भीसी प्राप्त गरेका थिए।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले प्रकाशन गरेको ‘गोर्खा सैनिक आवाज’ मा २०५७ देखि २०५९ सम्म आबद्ध थिएँ। गेसोका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष जितबहादुर राईसँग ८ फेब्रुअरी २०२१ मा भीसी रामबहादुर लिम्बूलाई भेट्ने अवसर पाएको थिएँ। त्यही भेटमा भीसी लिम्बूसँग गरिएको कुराकानीको आधारमा यो आलेख तयार पारिएको छ।
भीसी लिम्बूका बुबा टेकवीर बेघा लिम्बू पनि ब्रिटिश गोर्खामा भर्ती भएका थिए। तर‚ पहिलो छुट्टी आएकै वेला लडाइँमा पर्ने डरले आमाले उनको विवाह गरिदिइन्। विवाहपछि टेकवीरलाई आमा र श्रीमतीले पल्टन फर्कन दिएनन्। उनी गाउँमै छोराछोरी पढाउँदै बसे।
पाँचथरको च्याङ्थापु पुर्ख्यौली घर भएका रामबहादुर सन् १९५७ मा ब्रिटिश गोर्खामा भर्ती भएका थिए। उनी भर्ती हुँदा दोस्रो विश्वयुद्ध पनि सकिसकेको भए पनि लडाइँको डर भने कायमै थियो। त्यसैले कुनै पनि अभिभावक आफ्ना सन्तानलाई भर्ती हुन पठाउँदैनथे। गल्लावालहरू भने युवाहरू हाट, बजार, गोठालो गएको मौका छोपेर फकाउँथे र मिति तोकेर कुनै स्थानमा बोलाउँथे।
१८ देखि २० वर्षका युवाहरूलाई भर्ती गरिन्थ्यो। तर‚ रामबहादुर २२ वर्ष भइसकेका थिए। १९९२ साउन २१ गते जन्मिएका उनलाई गल्लावालले थालेलुङ थोक्पेमा बोलाएको थियो। गल्लावालले पाएको कोटा अनुसार युवा भेला गर्न नसकेर उनलाई बोलाएको हुन सक्छ।
टोलीमा २२ जना थिए। दार्जीलिङको घुमपहाडमा एक साता बसेपछि उनीहरू पक्लिहवा हुँदै नौतुनवा पुगे। नौतुनवा पुग्दा धेरै जना रेलको मात लागेर लल्याकलुलुक भएका थिए। टोलीका सात जना मात्रै भर्ती भए। भर्ती भएकालाई केही दिन ‘लेरा’ मा लगेर राखियो। त्यसपछि कलकत्ता लगे। कलकत्ताबाट सान्थिया नाम गरेको पानीजहाजबाट मलेशिया पुर्याए। त्यसको १० दिनपछि मलेशियाको पेनाङस्थित तालीम केन्द्रमा लगे।
मलेशिया त्यो वेला बेलायतको उपनिवेश थियो। सन् १९४८ देखि नै मलेशियामा कम्युनिस्टले स्वतन्त्रताका लागि ब्रिटिश विरुद्ध ‘गुरिल्ला युद्ध’ शुरू गरेको थियो। त्यो युद्ध दबाउन औपनिवेशिक सरकारले ‘मलायन इमर्जेन्सी’ लगाएको थियो। गोर्खालीको आडमा बेलायत औपनिवेशिक शासन निरन्तरता दिन सफल भइरहेको थियो।
१० महीनाको तालीमपछि कम्पनी छुट्याइयो। रामबहादुर सेकेन्ड टेनमा परे। उनीहरूलाई जोहरबारु लगियो। उनको पल्टन कम्युनिस्टहरूले स्वतन्त्रताका लागि सञ्चालन गरेको ‘गुरिल्ला वार’ मा खटिएको थियो। ‘गुरिल्ला वार’ छेडेका मलायन कम्युनिस्ट पार्टीको मलायन नेशनल लबरेशन आर्मी (एमएनएलए)को अवस्था कमजोर थियो।
सन् १९६३ मा इन्डोनेशियाका तत्कालीन सुकार्नो सरकारले सरावक लिन खोज्यो। इन्डोनेशियासँग सीमा जोडिएको बोर्नियो टापुमा रहेको सरावकमा बेलायतले नै शासन गरिरहेको थियो। उक्त टापुलाई बेलायतले मलेशियाकै एक भागका रूपमा लिएको थियो। इन्डोनेशियनले सरावकमा दिनदिनै लुटपाट मच्चाउन थालेका थिए। त्यसैले त्यहाँ ब्रिटिश गोर्खालाई खटाइयो।
इन्डोनेशियन सैनिक सीमा नजिकै ट्रेन्च खनेर बसेका थिए। ब्रिटिश गोर्खाको सेकेन्ड टेन बटालिन ‘सी’ कम्पनीले त्यहाँ हमला गर्ने भयो। रामबहादुरको टोली १० दिनका लागि पुग्ने रासनपानी बोकेर गएका थिए। उक्त टोली २१ नोभेम्बर १९६५ मा एउटा डाँडामा बसेका थिए। सीधा जान सक्ने अवस्था नभएकाले उनीहरू एक फन्को घुमेर ‘दुश्मन’ बसेको ठाउँतिर लागे। तल खोला थियो। सुतेर घस्रिंदै अघि बढे। कैंचीले बाटोमा भएको झार, लहरा, ससाना बुट्यान हटाउँदै अघि बढे।
सेभेन र एट प्लाटूनले हमला गर्ने, नाइनले कक्रे फेर दिने भयो। त्यस्तै बमबारी गर्न तोपखाना टोली तयार थियो। रेकी टोली पनि आएको थियो। ओपी पनि बस्यो। गोर्खालीहरू दुश्मनको छेउमै पुगे। रामबहादुर सेभेन प्लाटूनको सेक्सन ‘टु’ मा थिए। एट प्लाटून नजिकै पुगेको थियो। ‘सेभेन प्लाटून अघि बढ्’ भन्ने आदेश आयो। उनीहरू एट प्लाटूनलाई पछाडि पारेर अघि बढे। अघि बढ्दा दुश्मन टोलीको नजिकै पुगेछन्। दायाँपट्टि एट र बायाँपट्टि सेभेन प्लाटून थिए।
तोपखानाले केही बेर बमबारी गर्ने र दुश्मनहरू तितरबितर भएपछि गोर्खालीहरू अघि बढ्ने भन्ने थियो। रामबहादुर बीचमा परे। दुश्मनहरू ट्रेन्च खनेर बसेका रहेछन्। दायाँ–बायाँबाट सेन्ट्री आउने रहेछ। दायाँ र बायाँबाट आउने अनि भेट हुने। लिम्बू सहित आठ जनाको टोली थियो। त्यहाँ पुग्दा त सेक्शन कमान्डर गायब। गन वान, गन टू सहित उनीहरू पाँच जना मात्र थिए। लडाइँको मैदानमा पहिले बनाइएको योजना र गरिएको ब्रिफिङ जस्तो नहुने रामबहादुरले सुनाएका थिए।
दुश्मन दायाँ र बायाँबाट सेन्ट्री आए। उनीहरूबीच हेराहेर मात्र भयो। त्यसपछि एक जना दाहिनेबाट गयो। अर्को थोरै अघि बढेर पिसाब फेर्न लागे। लुकेर बसेका गोर्खाली अलि अलि चल्दा आएको खस्य्राकखुस्रुक आवाज सुनेर दुश्मनले फायर गर्न खोजे। गोर्खालीले तत्काल फायर खोल्यो। दुश्मन त्यहीं ढले। अलि माथि सेन्ट्री बसेका अर्कालाई पनि गोली दागे। उनी चरा जस्तो भएर तल ढले।
रामबहादुर सहितको गोर्खाली ट्रेन्चभित्र माथि परेछन्। त्यहाँ एउटा रूख पनि रहेछ। त्यो दुश्मनहरूको ओहोदोहोर गर्ने मूलबाटो रहेछ। गन वान र टूलाई गोली लाग्यो। निधारमा गोली लागेकाले गन टूले ‘ऐया’ मात्र भन्न सक्यो। गन वान चाहिं ऐया... ऐया... भनिरहेको थियो। रामबहादुर बीचमा थिए। उनले गन वान र टूलाई तान्दै ल्याए। तर‚ त्यहाँ फर्किंदासम्म गन वान मरिसकेको रहेछ। टाउकोमा गोली लागेको साथीको गिदी उनको लुगाभरि लागेको रहेछ। पछि धोइपखाली गरे।
“लडाइँमा जाँदा शुरूमा केही डर लागेको भए पनि पछि डर नै मसँग डराएर भागेको मेरो अनुभूति छ,” भेटका वेला लिम्बूले भनेका थिए, “त्यहाँ पुग्ने हामी मात्र थियौं। गन वान र गन टू दुवै जना गोली लागेर ढले पनि मलाई समेत गोली लाग्छ भन्ने त एक मन पनि भएन। फेरि मेरो सेक्शनका मान्छेलाई त्यहीं छाडी राख्न पनि मनले मानेन।”
१९६६ मा फेब्रुअरीमा रामबहादुरलाई रिबन लगाइदियो। पछि १२ जुलाई १९६६ मा बकिङ्घम प्यालेसमा बेलायतका महारानी एलिजाबेथले बेलायती सर्वोच्च युद्धपदक भिक्टोरिया क्रस (भीसी) तक्मा लगाइदिइन्। त्यसको केही अगाडि रामबहादुरलाई पत्नीवियोग परेको थियो। श्रीमती टीकामाया इम्बुङको सिङ्गापुर अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो। त्यसैले पाँच वर्षीय जेठो छोरो भक्तबहादुरलाई लिएर बहादुरीको तक्मा थाप्न गएका थिए।
लडाइँमा सहभागी हुँदा उनी लान्स कर्पोरल थिए र उनको जिम्मेवारी सेक्शन ट्वाइसी थियो। सेक्शन कमान्डर चाहिं ताप्लेजुङका लाखमान लिम्बू थिए। उक्त युद्धमा बेलायतको (गोर्खाली) तीन जनाले ज्यान गुमाए भने दुई जना घाइते भए। इन्डोनेशियाका २४ जना मरे। त्यो लडाइँमा प्लाटून कमान्डरले पनि मिलिटरी क्रम (एमसी) पाएका थिए।
रामबहादुरले सन् १९८५ मा जीसीओ क्याप्टेन दर्जामा अवकाश पाए। बेलायती महारानी एलिजाबेथको सेरेमोनियल एडीसी पनि भए। मेम्बर अफ भिक्टोरियन अर्डर (एमभीओ)बाट पनि सुशोभित भए। ब्रिटिश गोर्खाबाट अवकाश आएपछि उनले थप सात वर्ष गोर्खा रिजर्भ युनिट (जीआरयू) ब्रुनाईमा पनि सेवा गरे।
उनै भीसी विजेता रामबहादुरको ८८ वर्षको उमेरमा वैशाख ९ गते बिहान ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा निधन भयो। झापाको दमकस्थित घरमा बस्दै आएका उनमा ६ महीनाअघि मिर्गौला र मुटु सम्बन्धी समस्या देखिएको थियो। त्यसपछि झापामै उपचार गराइएको उनलाई तीन महीनाअघि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।