तनहुँ‚ चितवन र बारामा उपनिर्वाचन
प्रतिनिधि सभातर्फ रिक्त रहेका तीन निर्वाचन क्षेत्र तनहुँ-१‚ चितवन-२ र बारा-२ मा उपनिर्वाचन हुँदै छ।
ती क्षेत्रमा मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।
गत मंसीर ४ मा सम्पन्न निर्वाचनमा तनहुँ-१ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएकाले ती क्षेत्रमा उपनिर्वाचन भएको हो। यस्तै‚ चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद नागरिकता विवादका कारण गएकाले त्यहाँ पनि उपनिर्वाचन भएको हो।
तनहुँ-१ मा कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्ले लगायत उम्मेदवार छन्। यस्तै‚ बारा-२ मा सत्ता गठबन्धनबाट जसपाबाट अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाहा, रास्वपाबाट रमेश खरेल लगायत उम्मेदवार छन्। चितवन-२ मा रास्वपा सभापति रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेबीच मुख्य प्रतिस्पर्धा रहेको बताइएको छ।