मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत गुमाएसँगै सरकार ढलेको हो।
मुख्यमन्त्री अधिकारीले नेपालको संविधान धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट विश्वासको मत पाऊँ भन्ने प्रस्ताव राखेका थिए। अधिकारीले राखेको विश्वासको मतको प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएको सभामुख कृष्णप्रसाद धितालले घोषण गरे।
प्रदेश सभाको शनिबारको बैठकमा उपस्थित ५९ सांसदमध्ये २४ जनाले मात्रै विश्वासको मतको पक्षमा मतदान गरे। विश्वासको मतको प्रस्तावको विपक्षमा ३५ सांसद उभिए। प्रदेश सभामा ६० सांसद छन्।
प्रदेश सभामा विश्वास गुमाएसँगै अधिकारी मुख्यमन्त्रीबाट पदमुक्त भएका छन्। गत पुस २५ मा एमाले सहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका थिए। तर, गत चैत १० गते माओवादी समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएको थियो।
प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुख बाहेक सात, राप्रपाका दुई जना र एक जना स्वतन्त्र सांसद छन्। अब ठूलो दलको नेताको हैसियतले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने भएका छन्।
अधिकारी संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्री बनेका थिए। प्रदेश सभामा कुनै दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलिजुली सरकारका बनाउन सकिने व्यवस्था यस उपधारामा छ।
त्यस्तै, उपधारा ३ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने व्यवस्था छ। गण्डकी प्रदेश सभामा कांग्रेस सबैभन्दा ठूलो दल हो। कांग्रेसका २७ सांसद छन्।