‘बल्ल समुदायका कथा आउन थालेका छन्’
‘हामीले हाम्रै समाज, संस्कृति र सभ्यताको आधार टेक्ने हो। यसभित्र सकारात्मक र नकारात्मक दुवै पक्ष छन्। तिनलाई हाम्रो अभिव्यक्तिका हरेक माध्यममा सही तरीकाले ल्याउनुपर्छ।’
नेपाली समाजमा रहेका प्रथाजनित सामुदायिक अभ्यासलाई नेपाली चलचित्रको विशिष्टता बनाउनुपर्ने मत राख्दै आएका नवीन सुब्बा समुदाय आधारित चलचित्र निर्देशककै रूपमा परिचित छन्।
लिम्बू समुदायमा आधारित नुमाफुङ निर्माण गरेर यसको उदाहरण समेत प्रस्तुत गरेका र अहिलेगाउँ आएको बाटोको पोस्ट-प्रोडक्शनमा व्यस्त उनीसँग नेपाली समुदायको विशिष्टता र सिनेमामा त्यसको प्रयोग विषयमा केन्द्रित रहेर प्रभाकर गौतमले गरेको कुराकानी:
हाम्रा सिनेमा समुदायको कति नजिक छन्?
नेपालमा कुमारी, झुमा, देउकी जस्ता प्रथामा पहिल्यैदेखि सिनेमा बन्दै आएका छन्। बालविवाह, जातीय विभेद, मुग्लान/लाहुर जाने चलन, लैङ्गिक विभेद लगायत विषय पनि आएकै हुन्। तर, पहिलेका सिनेमामा विषयवस्तुको चित्रण यथार्थपरक थिएन।
पछिल्लो समय सिनेमामा बढाइचढाइ गरेर देखाउने अभ्यास कम भएर विषय उठान यथार्थपरक भइरहेको छ। सुधार गर्नुपर्ने प्रशस्त ठाउँ अझै छन्। तर, प्रस्तुतिमा आएको परिवर्तन हेर्दा नेपाली सिनेमा परिपक्वतातिर गइरहेको भन्न सकिन्छ। परम्पराभित्रका कुरीतिमाथि टिप्पणी समेत गर्ने गरी काम भइरहेको जस्तो देखिन्छ।
मौलिकता उन्मुख भनिएका पछिल्ला सिनेमा पनि सिर्जनात्मकभन्दा सूत्रात्मक देखिन्छन् नि?
यसमा दुई वटा कारकले प्रभाव पारेको देख्छु। एउटा, बजार, अर्को, अभियान। अहिलेको सिनेमाका कथा हेर्ने हो भने परिवारमा एउटा सदस्य खस आर्य वा आदिवासी-जनजाति देखाउने वर्णसङ्कर कथाको चलन बढेको छ। आदिवासी जनजाति वा खस आर्य राखिएन भने बजारले सहजै स्वीकार गर्दैन।
संस्कृतिको पाटो आफ्नो ठाउँमा छँदै छ, तर बजारका लागि फिल्ममेकरहरूले चलाखी गरिराखेको देखिन्छ। साहित्य, नाटक, सिनेमा सबै विधामा राजनीतिक विचार स्थापित गर्न सांस्कृतिक विषयमा काम गर्ने चलन पनि बढेको देखिन्छ।
हाम्रा फिल्ममेकर कहिलेदेखि अतिशयोक्तिबाट टाढा र यथार्थको नजिक हुन थालेका हुन्?
लामो समयदेखि हाम्रो मूलधारका सिनेमाको विषय र कथ्य संरचना बलिउडबाट नै प्रभावित थियो। तर, बलिउड सिनेमासँग नेपाली सिनेमाले प्रतिस्पर्धा गर्न सकिरहेको थिएन। मौलिक सिनेमा बन्नुपर्छ भन्ने धारणा उठिरहेको थियो। यस्तै सन्दर्भमा दीपेन्द्र गौचनको उजेली (टेलिफिल्म), छिरिङ रितार शेर्पाको मुकुण्डो आयो जसले समाजभित्रका कथा उठाउने अभ्यासलाई नयाँ मोड दियो।
२०४६ सालपछिको राजनीतिक वातावरणमा पहिचानको आन्दोलनले सबै जाति, समुदाय, क्षेत्र र भूगोलका मुद्दा उठाइरहँदा सिनेमा लगायत कलाका सबै विधामा त्यसको प्रभाव पनि पर्यो। अचेल चरित्र निर्माण गर्दा उसको भूगोल र सांस्कृतिक पृष्ठभूमि निर्माण गर्न थालिएको छ। पहिले त्यो अभ्यास थिएन।
लिम्बू समुदाय-संस्कृतिको कथा भन्ने तपाईंकै सिनेमा नुमाफुङ पनि त्यही पृष्ठभूमिमा आयो। अनुभव कस्तो रह्यो?
हो, नुमाफुङमा पहिलो पटक हामीले लिम्बू समुदायको सांस्कृतिक अभिव्यक्तिको कुरा गरेका थियौं। कथ्य संरचनामा पनि नेपाली सिनेमाको आफ्नै भाषा निर्माण गर्ने ध्येयका साथ काम गरिएको थियो।
नुमाफुङ नेपाली सिनेमाको अन्तर्राष्ट्रियकरणको खोज पनि थियो। अलि फरक कथा भयो भने अन्तर्राष्ट्रिय बजारमा स्वीकार्यता बढ्छ कि भन्ने सोचले काम गरेका थियौं। समुदायको विषय उठाइयो भने समुदायले सहयोग गर्छ भन्ने मनोविज्ञान पनि थियो। नभन्दै शुरूमा पूर्वका लिम्बू, राई र पछि तामाङहरूले यो फिल्म मन पराए। ठाउँ ठाउँमा सांगठनिक सक्रियतामा प्रदर्शन भयो।
त्यस वेलाको मूलधारले ‘यो नेपाली होइन, लिम्बू सिनेमा हो’ भन्दै ‘अदर्स’ को व्यवहार समेत गर्यो। अर्कातिर, बौद्धिक जमात र मिडियामा बलिउडबाट प्रभावित सिनेमाले हाम्रो कुरा बोक्दैन भन्ने भावना बलियो थियो। नुमाफुङले त्यो समूहबाट खास समर्थन पायो। दुई दशकपछि हेर्दा त्यही ‘आइडिया’ अहिले मूलधार बनिरहेको छ। मौलिक सिनेमा बनायो भने एउटा खास तप्काले साथ दिन्छ भन्ने धारणा ऐना झ्यालको पुतलीका प्रदर्शनका क्रममा पुनःपुष्टि भएको छ।
समुदायभित्रका चालचलन/प्रथामा आधारित सिनेमा बनाउनु कति संवेदनशील हो?
हाम्रो जाति, भाषा, भूगोलमा विविधता छ, तर तीबारे समाजमा पर्याप्त अन्तरक्रिया भएको छैन। त्यो अन्तरक्रियालाई घनीभूत बनाउन कलाको विशेष भूमिका हुनुपर्ने हो। विगतमा त्यसरी अभ्यास नै भएन। हामीकहाँ एउटाले गरेको अभ्यास कसैले राम्रो माने पनि अर्कोले सम्मान नगर्ने र विरोध गर्ने संस्कार छ। यस्ता संवेदनशील विषयमा छलफल चलाउन र आपसमा बुझाइ विकसित गर्न सकियो भने मात्रै संवादको सम्भावना रहन्छ।
तुलनात्मक रूपमा आफ्नो समुदायको मात्र कुरा गर्न सजिलो छ। इतर समुदायका संवेदनशील पक्षमा काम गर्न थालेपछि जटिल बन्दै जान्छ। तर, जटिल छ भनेर यस्ता विषयहरू छोड्ने कुरा आउँदैन। जबसम्म इतर समुदायबारे पर्याप्त जानकारी हुँदैन, आपसी समझदारी पनि हुँदैन। नत्र ससाना कुराहरू पनि नबुझिने र सांस्कृतिक ‘जेस्चर’हरूको गलत अर्थ लगाइने सम्भावना रहिरहन्छ। समाजमा दूरी र द्वन्द्व रहिरहन्छ। र, शान्ति, समृद्धि वा विकास हुँदैन।
हामीले हाम्रै समाज, संस्कृति र सभ्यताको आधार टेक्ने हो। यसभित्र सकारात्मक र नकारात्मक दुवै पक्ष छन्। तिनलाई हाम्रो अभिव्यक्तिका हरेक माध्यममा सही तरीकाले ल्याउनुपर्छ। यसले सामाजिक विशेषता र जटिलता बुझ्ने दृष्टिकोण दिन्छ। राज्यले जति छिटो यस्ता सांस्कृतिक अभ्यासलाई आत्मसात् गर्छ, त्यति नै छिटो सभ्यता निर्माण गर्ने यात्रामा फड्को मार्छौं।
तपाईंकै निर्देशनमा बनेको टेलिशृङ्खला दलनले जातप्रथालाई दलित पात्रको दृष्टिकोणबाट चित्रण गरेको थियो। त्यसको सामाजिक प्रतिक्रिया कस्तो थियो?
दृश्य विधाले दर्शकसँग सोझै संवाद गर्छ। सामाजिक मुद्दामा काम गर्ने हो भने त्यस्तो संवादले समाजलाई रूपान्तरण गर्न, परिष्कृत गर्न सहयोग गर्छ। त्यसैले यस्ता संवेदनशील विषयलाई धेरैभन्दा धेरै छलफलको विषय बनाउनुपर्छ। त्यही सोचका साथ हामीले दलन निर्माण गरेका थियौं। नेपाल टेलिभिजनका लागि निर्माण गरिएको भए पनि संस्थापन पक्षले दलनलाई स्विकारिरहेको थिएन। ‘यस्तो पनि कहाँ चल्छ?’ भनिरहेका थिए। तर, व्यापक सफल भयो। त्यसले कति प्रभाव पार्यो त्यो सामाजिक अध्ययनको विषय होला, तर कम्तीमा दलन छलफलको विषय बन्यो।
कथित तलदेखि माथिसम्म भनिने सबै जातका मानिसले हेरे। देशभर ६/७ सय वटा फ्यान क्लबहरू बनेका थिए, जसले जातव्यवस्थाबारे छलफल चलाउँथे। तर त्यसको निरन्तरता चाहिं भएन। जातप्रथाले अहिलेसम्म पनि नेपाली समाजमा नकारात्मक प्रभाव पारिराखेकै छ। गाउँमा मात्र होइन, काठमाडौंमा समेत अझै जातीय विभेद स्पष्ट देखिन्छ।
समाजभित्रका रीतिथिति कथ्य संरचनाका स्रोत पनि हुन् नि, हैन?
विश्व सिनेमाका संरचना र स्वरूप हेर्दा पनि यही देखिन्छ। त्यसैले मैले बारम्बार नेपाली सिनेमाको मौलिकता निर्माण गर्न आवश्यक कथ्य संरचना खोज्नुपर्छ भन्ने गरेको छु। संसारमा अनेक कथ्य संरचना चलेका छन् र ती विश्वास पद्धतिमा आधारित छन्।
पछिल्लो समय एकदमै चलेको हिरोको यात्रा संरचना आदिवासीहरूको कथ्य शैलीबाट उठाइएको हो। नेपालमा समेत पछ्याइएको थ्री एक्ट संरचना र हाम्रो लोकदोहोरीको संरचना अलग छ। थ्री एक्ट जसरी शुरू, मध्य र अन्त्य नभएर लोकदोहोरी घुमिरहन्छ र जति पनि लम्बिन सक्छ।
हाम्रा निश्चित विश्वासहरू रीतिथितिमा अभ्यास भइरहेका हुन्छन्। सामाजिक रीतिरिवाज र प्रथाले चेतन-अर्धचेतन स्तरमै काम गरिरहेका हुन्छन्। त्यो मनोविज्ञान समेत बुझेर सैद्धान्तीकरण गर्ने काम हुन सकेको छैन। यस्ता विषयमा गहन अध्ययन-विश्लेषण भयो भने त्यसले हाम्रो आफ्नै कथ्य संरचना निर्माण हुन सक्थ्यो।
कथावाचनमा रीतिथितिभित्र पनि केही समानता र भिन्नता छन्। बाहिरबाट हेर्दा राई र लिम्बू उस्तै देखिए पनि राईहरू चुलो पूज्छन् र लिम्बूहरू मूल खाँबोको पूजा गर्छन्। यस्तै संस्कृतिको बीचबाट साझा केही ल्याउन सकिन्छ कि!
अन्य विषयमा सिनेमा बनाउनु र समुदाय-संस्कृति विशेष सिनेमा बनाउने प्रक्रिया कति फरक हुन्छ?
कुनै पनि समुदायविशेषको कथा भन्दा त्यो समुदायलाई दिशानिर्देश गर्ने तत्त्वहरू पहिल्याउनुपर्ने रहेछ। खस आर्यभन्दा लिम्बू वा थारू किन फरक? उसले समाजलाई कसरी हेर्छ? विश्वलाई कसरी हेर्छ? या कुनै पनि घटनालाई कसरी हेर्छ? त्यो पत्ता नलगाई कथा भनियो भने न त्यो विषयलाई सही तरीकाले न्याय गर्न सक्छौं न त्यही अनुरूपको कथ्य शैली तयार गर्न सक्छौं।
यसका लागि समुदायविशेषको पृष्ठभूमि, जीवनदर्शनलाई पक्रेर त्यो समुदाय अरूभन्दा किन अलग हो भन्ने बुझ्नुपर्छ। चरित्रले कसरी सोच्छ, के गर्छ, क्यामेरा कसरी चलाउने, प्रकाश, ध्वनि, सङ्गीत कस्तो हुने, सम्पादन कसरी गर्ने सबै त्यसैले निर्देशित गर्छ।
नेपालको जातीय, भाषिक, भौगोलिक विविधता नै हाम्रो पहिचान हो। यसरी काम गरियो भने त्यही विविधता अनुसार बहुल शैली विकास हुँदै जाला। स्थानीय र मौलिकताले नै हामीलाई विश्व सिनेमामा स्थापित गर्न सक्ला।
यसरी बनेको सिनेमा हेर्दा दर्शकमा पार्ने प्रभाव पनि फरक हुन्छ?
त्यसरी बनाइएका सिनेमाका कथा, चरित्र, कथानक, अभिनय शैली अरूभन्दा पृथक् हुन्छन् जसले नयाँ आयाम थप्छ। कलाकार र दर्शक दुवैलाई यथार्थको नजिक पुर्याउला। सिनेमाको कथाले अझ सशक्त प्रभाव पार्ला।
तपाईंको प्रदर्शनोन्मुख सिनेमा गाउँ आएको बाटो पनि यही अवधारणा अन्तर्गतको अर्काे प्रयोग हुन सक्छ?
हामी जुन समुदायको कथा भनिरहेका छौं त्यो समुदायले कसरी सोच्छ भन्ने बुझ्न एउटा प्रक्रिया हुन्छ। हामी त्यहाँ चुक्दा रहेछौं र ‘अथेन्टिक’ नहुँदो रहेछ। हाम्रो प्रयास जुन भूगोल र समुदायको कथा हो, त्यहींको मनोविज्ञान, लवज, भाषा, हाउभाउ, भोगाइ देखाउने हो।
बान्तवा राई समुदायको पृष्ठभूमिमा बनेको यो सिनेमा भोजपुरको आम्चोकमा छायाङ्कन भएको थियो। भाषाविद्हरूको सहयोग लिएर काम गर्दा लवज नै नयाँ आएको छ। समुदायका शारीरिक हाउभाउ, मनोविज्ञानदेखि मूल्यमान्यतासम्मको जरोमा पस्ने कोशिश गर्दा धेरै रोचक आयाम आउने रहेछन्। त्यही समुदायभित्रका कतिपय अभ्यास र ज्ञानले हाम्रो सिनेमामा नयाँपन थपिएको छ।
(हिमालको २०८० वैशाख अङ्कबाट।)