महाकाली तर्दा तुइनबाट खसेर युवकको मृत्यु
भारतको बाटो भएर घर फर्किदै गरेकी आमालाई लिन गएका युवकको महाकाली तर्ने क्रममा तुइनबाट खसेर मृत्यु भएको छ।
तुइनबाट महाकाली नदी तर्ने क्रममा शनिबार दिउँसो सिङ्दलसिंह भण्डारी नदीमा खसेका थिए। तुइनबाट खसेर वेपत्ता भएका उनको शनिबार साँझ शव भेटिएको छ।
महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए। उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन्।
दार्चुला सदरमुकाम खलङगाबाट दैनिक उपभोग्य सामान किनमेल गरी जसोदा भारतको बाटो भएर घर फर्किदै थिइन्। नेपालतर्फ सडक सुविधा नहुँदा भारतीय सडक प्रयोग गर्दै घर फर्किनुपर्ने बाध्यता रहेको ब्याँस गाउपालिका-२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए।
“जसोदाले समान लिन तुइन चढेर भारततर्फ आउन छोरा सिङ्दलसिंहलाई बोलाएको जानकारीमा आएको छ,” वडाध्यक्ष बुढाथोकीले भने, “तुइनबाट भारततिर जाने क्रममा सिङ्दलसिंह महाकालीमा खसेका हुन्।”
सिङ्दलसिंहको शव भारतीय भू-भागमा फेला परेको छ। भारतीय सीमा सुरक्षा बलले कानूनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।
सिङ्दलसिंहका दुई छोरा र एक छोरी छन्। उनकी श्रीमतीको भने चार वर्ष अघि मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन्।