तीन अर्द्धशतकको मद्दतले कुवेतको पहिलो जित
तीन खेलाडीले अर्द्धशतक प्रहार गरेपछि एसीसी प्रिमियर कपमा कुवेतले पहिलो जित हासिल गरेको छ।
मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेको छ। बहराइनले दिएको २५६ रनको लक्ष्य कुवेतले ४४.२ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो।
कुवेतका लागि अडन इद्रिस, मीट भवसर र यासिन पटेलले अर्द्धशतक प्रहार गरे। इद्रिसले ४६ बलमा ५६, भवसरले ५९ बलमा ५४ र पटेलले ८९ बलमा ६३ रन बनाए।
त्यस्तै, उस्मान पटेलले १८ र मोहम्मद अस्लमले १४ रन बनाए। बहराइनका लागि अब्दुल मजिदले तीन, अलि दाउद, रिजवान बट, इम्रान अनवर र शोयल अहमदले एक–एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको बहराइनले सात विकेटको क्षतिमा २५५ रन बनाएको थियो। बहराइनका लागि इम्रान अनवरले ५३, फिआज अमहदले ४८ र जुनैद अजिजले ३६ रन बनाए।
कुवेतका लागि सायद मोनिबले चार, शाहरुख कुदुसले दुई र अडन इद्रिसले एक विकेट लिएका थिए।
त्यस्तै, आजै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा साउदी अरबले कतारलाई पराजित गरेको थियो। साउदी अरबका लागि अब्दुल वाहीदले शतक प्रहार गरेका थिए।
एसीसी प्रिमियर कप अन्तर्गत लिग चरणका आधा खेल सकिएका छन्। प्रतियोगितामा प्रतिनिस्पर्धा गरिरहेका १० वटै टिमले दुई–दुई खेल खेलेका छन्। अब दुई–दुई खेल बाँकी छन्।
आइतबार त्रिवि क्रिकेट मैदानमा सिंगापुर र यूएई तथा मुलपानी क्रिकेट मैदानमा मलेसिया र ओमन प्रतिस्पर्धा गर्नेछन्।
नेपाल रहेको समूह ‘ए’ मा मलेशिया, ओमन, कतार र साउदी अरब छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत, सिंगापुर र यूएई छन्।
नेपालले सोमबार साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ। एसीसी प्रिमियर कपको विजेता टोलीले एशिया कप खेल्न पाउनेछ।