प्रधानमन्त्री दाहालद्वारा निर्वाचन आचारसंहिता उल्लंघन!
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उपनिर्वाचनमा उम्मेदवारको प्रचारप्रसार गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्।
वैशाख ७ गते बाराको गढीमाईमा आयोजित चुनावी सभामा बोल्दै प्रधानमन्त्री दाहालले भने, “‘उपेन्द्रजी देश र मधेशको नेता हो, समग्र विकास निर्माण कार्य अगाडि बढाउन उहाँको ठूलो योगदान छ, नेपालको राजनीतिक आन्दोलनहरूमा उपेन्द्रजीले महत्त्वपूर्ण भूमिका निभाउनु भएको छ। उहाँको जित मधेश, हिमाल र पहाडको जित हो।”
बारा-२ बाट उम्मेदवारी दिएका यादव मात्रै होइन, यसअघि तनहुँमा पुगेर गोविन्द भट्टराई र चितवनमा जितनारायण श्रेष्ठको पक्षमा पनि प्रधानमन्त्री दाहालले भोट मागेका थिए। कार्यकारी प्रमुखको भूमिका रहेका दाहाल सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा भोट माग्नकै लागि तीन जिल्लामा पुगेका हुन्।
निर्वाचन आचारसंहिता स्पष्ट शब्दमा प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री लगायतलाई कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा भोट माग्न रोक लगाइएको छ। आफैं उम्मेदवार भएको निर्वाचन क्षेत्रमा भने उनीहरूले भोट माग्न पाउने व्यवस्था छ।
निर्वाचन आचारसंहिता, २०७९ को ५ (क) मा भनिएको छ, “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने।”
प्रधानमन्त्री दाहालले लगातार निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोगले वास्ता नगरेको अन्य दलका उम्मेदवारले गुनासो गरेका छन्।