‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन
‘भिक्टोरिया क्रस’ (भिसी) विजेता क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ।
लिम्बूको आज बिहान ३:४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए। उनी ६ महीनादेखि बिरामी थिए।
बिरामी भएपछि झापास्थित बीएन्डसी अस्पतालमा भर्ना भएका थिए। निको नभएपछि उनी तीन महीनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थिए।
लिम्बूलाई नखिपोटस्थित घरबाट अस्पताल लैजाने र ल्याउने गरिँदै आएको थियो। तर, एक महीनायता भने उनलाई मेडिसिटी अस्पतालमै राखेर उपचार भइरहेको थियो।
दमक-८ का स्थायी बासिन्दा लिम्बूको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको सहयोग र समन्वयमा हेलिकप्टर चार्टर गरी काठमाडौं ल्याइएको थियो। लिम्बु मिर्गौला र मुटु सम्बन्धी रोगबाट पीडित थिए।
लिम्बूको दमकमा अन्त्येष्टि गरिने उनका छोरा मोहनले जानकारी दिए। (रासस)