गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत लिँदै छन्।
आज अपराह्न ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले बताए। सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले गत चैत १० गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले फेरि विश्वासको मत लिन लागेका हुन्।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ।
गत पुस २५ मा एमालेसहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री अधिकारीले संवैधानिक व्यवस्थाको पूर्ण पालना गर्दै आफूले २९औं दिनमा विश्वासको मतको सामना गर्न लागेको बताए।
प्रदेश सभाको अङ्कगणित हेर्दा उनले विश्वासको मत पाउने सम्भावना भने कम देखिन्छ। सरकार गठनका लागि निर्णायक माओवादीले समर्थन फिर्ता लिएर नेपाली कांग्रेससँगको गठबन्धनमा पुगेको छ। ६० सदस्यीय प्रदेश सभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ।
प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ (सभामुख सहित), राप्रपाका दुई र एक स्वतन्त्र सदस्य छन्। मुख्यमन्त्री अधिकारी विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुनुहुनेछ।