जब बीपीले भने- सुशीलाले मलाई हुन्छ भन्छे भने प्रधानमन्त्री हुन्छु, नभए हुन्नँ
“नेपालमा अहिलेसम्म सबैजसो प्रधानमन्त्रीका श्रीमती बदनाम छन्। बदनाम नभएको खालि सुशीला (कोइराला) भाउजू हो।”
उनलाई बीपी कोइराला र राजा महेन्द्र दुवैको विश्वासपात्र रहने संयोग जुर्यो। नेपाली कांग्रेसका महामन्त्री र कांग्रेस संसदीय दलको प्रमुख सचेतक समेत रहेका उनी अन्ततः पञ्चायती व्यवस्थाका सूत्रधार नै बन्न पुगे। तर पनि, उनमा आफ्ना कर्मप्रति कुनै पश्चात्ताप देखिँदैन।
काठमाडौंलाई अप्रत्याशित झरीले चिस्याएको एउटा मध्याह्न उनी अर्थात् विश्वबन्धु थापा (९६) सँग काठमाडौं, गैह्रीधारास्थित निवासमा शेखर खरेलले गरेको कुराकानी:
तपाईंको राजनीतिक पृष्ठभूमिबाटै कुरा थालौं। बीपी कोइरालाको परिवारसँगको सम्बन्ध वा निकटता के हो?
कोइरालासँगको मेरो सम्बन्ध जन्मजात हो। उहाँ (बीपी) र मेरो परिवार दुवै राणाका दुःखले भारत पलायन भएका हुन्। मेरा बुबा र आमा दुवैपट्टि चन्द्रशमशेरको दुःखले यहाँबाट भागेर गए। आमापट्टिको चाहिं पहिले नै भागेकाले व्यवस्थित तरीकाले भारतको एउटा गाउँमा बसोबास गरिसकेका थिए। त्यो टेडी दीपनगर भन्ने ठाउँ हो। त्यो हाम्रो कोशी पुलको दक्षिणपट्टि नहरको छेउमा पर्छ।
गिरिजा (प्रसाद कोइराला) बाबुदेखि हामी सबै त्यहीं जन्मेका हौं। त्यसैले हाम्रो त जन्मेदेखिकै सम्बन्ध हो। म जन्मेको १९८४ सालमा हो, ९० सालको भुइँचालो जाँदा ६ वर्षको थिएँ।
तपाईंहरू कहिलेसम्म टेडीमा रहनुभयो?
हाम्रो त त्यहाँ (टेडीमा) केही पनि थिएन, त्यसैले पछि विराटनगर गयौं। आमाले भाइटीका लगाउनुभएको कारण म बीपीको बुबा (कृष्णप्रसाद कोइराला) लाई मामा भन्थें। हामी उहाँकै घरमा बस्न थाल्यौं। त्यहींको आदर्श विद्यालयमा भर्ना भएँ। तर, म्याट्रिक दिन बनारस जानुपर्ने हुन्थ्यो।
राजनीतिमा प्रवेश चाहिं कहिले र कसरी भयो?
बीपीले सोसलिस्ट पार्टी छाडेर राष्ट्रिय कांग्रेस खोलेपछि हामीसँग कुरा गर्नुभयो। यसैबीच विराटनगरमा जुट मिलको हडताल भयो। बीपीलाई समातेर अड्डासर गरेर यहाँ (काठमाडौं) ल्याए। म त्यो वेला बनारसमा आईएमा पढ्थें। ‘लौ जुट मिलमा हडताल भयो जानुपर्छ’ भने। म १८ वर्षको थिएँ होला, अझ सरोज (कोइराला) त १६ वर्षको। ‘पर्चा बोकेर जाओ तिमीहरू’ भन्दिए। बाटोमा पुलिसले खोतलखातल गर्यो र हामीलाई थुनिदियो। अलि दिनसम्म जेल पर्यौं। अनि शुरू भइहाल्यो त राजनीति।
बीए पास भएपछि बीपीले क्रान्ति गर्नुपर्छ भन्नुभयो। किनकि, मैले (बनारसमै) विद्यार्थीले गर्ने सैनिक तालीम लिइसकेको थिएँ। उहाँले ‘गिरिजा र तिमी विराटनगर गएर काम गर’ भन्नुभयो। फेरि त्यति वेला गिरिजाबाबु जेलमा रहेकाले उनलाई निकाल्नुपर्ने थियो। उनलाई निकालें पनि।
क्रान्ति गर्ने भन्ने भए पनि हामीसँग हतियार थिएन। सुवर्ण (शमशेर) ले बर्माबाट हतियार ल्याउने कुरा भयो। महावीरशमशेरको डाकोटा जहाजले हतियार ल्याइदिने त भयो, तर ल्यान्ड गर्ने ठाउँ थिएन। सिमरा भन्ने ठाउँमा कोशीको बाढीले ठूलो मैदान बनाएको थियो। यसरी हतियार ल्याइयो त्यहाँ।
त्यसपछि त तपाईं कमै उमेरमा पार्टीको महŒवपूर्ण जिम्मेवारीमा पुग्नुभयो। त्यो कसरी सम्भव भयो?
क्रान्तिपछिको सात वर्ष यसै बित्यो। राजाले एकपछि अर्कालाई प्रधानमन्त्री बनाइरहे। किनकि राजासँग ‘नेगोसिएशन’ हुन सकेन। बीपी सुवर्ण (शम्शेर) लाई पार्टी सभापति बनाउन चाहनुहुन्थ्यो, तर गणेशमानजी ‘त्यो राणाको छोरालाई’ भन्दै मान्दै नमान्ने। हामीले पार्टी सभापतिमा सुवर्णले जित्नुपर्छ भनेर चुनाव तय गर्यौं। तर, बीपीले ‘धेरै मार्जिन नहोस् फेरि, गणेशमानजी मेरो बेइज्जती भयो भनेर पार्टी छाडेर हिंड्नुहोला’ भन्नुभयो।
यसरी वीरगन्ज सम्मेलनमा सुवर्णजी सभापति भए। गणेशमानजीले विरोध त गर्नुभयो। तर, बीपीले फकाएर गणेशमानजी र सूर्यप्रसाद (उपाध्याय) जीलाई महामन्त्री राखेर टीम बनाउनुभयो। बीपीले फेरि डा. गिरी (तुलसी गिरी) र मलाई “सुवर्णजीको टीममा गणेशमानजी र सूर्यप्रसादजी महामन्त्री भएर हुँदैन हेर, गणेशमानजीले सुवर्णजीलाई जहिल्यै ‘राइभल’ भनिठान्छन्, तिमीहरू सहायक महामन्त्री भएर बसिदेऊ” भन्नुभयो। हामी सहायक महामन्त्री भयौं। यसरी एक वर्ष चल्यो।
त्यहीबीचमा सुवर्णले राजासँग ‘नेगोसिएशन’ गरे। केआई सिंह, टंकप्रसाद (आचार्य) प्रधानमन्त्री भइसकेका थिए, अब सुवर्णजीको पालो आयो। ‘राणा गए, फेरि राणा आउने, छाड्छु पार्टी म’ भन्दै गणेशमानजी फेरि उफ्रिन थाल्नुभयो। सुवर्णजीलाई अध्यक्ष बनाइयो, प्रधानमन्त्री नभएर। उहाँले एक वर्षपछि ‘अब म बस्दिनँ, चुनाव गराउनुपर्यो’ भन्नुभयो। तर, महामन्त्री भएन भन्ने कुरा आएपछि गणेशमानजी र सूर्यप्रसादजीले राजीनामा गर्नुभयो। त्यसपछि डा. गिरी र म महामन्त्री बनाइयौं।
आम निर्वाचनमा तपाईंको उम्मेदवारी निकै रोचक लाग्छ। विराटनगरमा हुर्किएको मान्छे कसरी चितवनमा चुनावमा उठ्न पुग्नुभयो?
हामी गोरखाका मान्छे हौं, चितवन चाहिं मेरो ससुराली। विराटनगरमा ठाउँ थिएन। त्यहाँ मातृकाबाबु (कोइराला), बीपी अनि मधेशीलाई पनि दिनै पर्यो। जम्मा तीन निर्वाचन क्षेत्र थिए त्यहाँ। म गोरखा र पोखरामा बडाहाकिम भएर गएको थिएँ। त्यो नाताले म गोरखासँग नजिक थिएँ र चुनाव जित्छु भन्नेमा निश्चिन्त थिए। फेरि बीपीले ‘किसुनजीलाई लिएर जाऊ र जिताइदेऊ’ भन्नुभयो। किसुनजी बनारसको मान्छे, कुनै जमानामा उहाँको परिवार गोरखामा रहेका थिए।
यता चितवनमा म, मैयाँदेवी (श्रेष्ठ), बखानसिंह (गुरुङ), तीन-चार उम्मेदवार थियौं। जसलाई दिए पनि जित्थे त्यहाँ। यसरी गोरखा छाडेर चितवन आएँ, घर बनाएँ, अनि काम पनि गरें। बीपीले बखानसिंहलाई ‘अपर हाउस’ लान्छु भन्नुभयो, किनकि त्यस निम्ति ३५ वर्षको उमेर पुग्नुपथ्र्याे। म ३० वर्षको मात्र थिएँ। उहाँले बखानसिंहलाई चिठी लेख्नुभयो। मैले लगेर दिएँ, उनले तुरुन्तै मानिहाले।
चुनाव जिते पनि तपाईं मन्त्री बन्नुभएन नि?
बीपीले ‘तँ कि डा. गिरी, को मन्त्री बन्ने हो निर्णय गर्’ भन्नुभयो। म डा. गिरीभन्दा सिनियर र पार्टीको उम्मेदवार थिएँ। डा. गिरी पछि मात्र पार्टीमा आएको हो। त्यो वेला हामी विशालनगरमा बस्थ्यौं, अफिस थियो नेपाल ब्यांक उतापट्टि नयाँ सडकमा। हामी हिंडेर जानुपथ्र्यो। तुलसी गिरी धनीको छोरो हो। उसका बाबुको त्यतिवेलै दरभङ्गा (भारत) मा सिनेमा हल थियो। डा. गिरीको घर पुतलीसडकमा भए पनि मसँग बस्छु भन्यो।
म बीपीसँग बस्थें र मसँग बसेपछि बीपीसँग पनि नजिक भयो। ऊसँग लामो मोटर थियो। बीपी त्यसैमा बसेर ओहोरदोहोर गर्न थाल्नुभयो। डा. गिरीका बुबाले बीपीलाई ‘मेरो छोरालाई तपाईं राम्रो गरिदिनुस्, म पार्टी चलाउन पैसा दिन्छु’ भनेका रहेछन्। डा. गिरी आफंै पनि तेज थियो। तर, ऊ चुनाव लडेको थिएन। बीपीलाई डा. गिरीलाई (मन्त्री) बनाउन मन थियो होला, तर म सिनियर थिएँ। त्यसैले मैले गिरीलाई भने, “तँलाई बीपीले मन्त्री बनाउन खोज्नुभएको छ, तँ जा मन्त्रीमा।” म चाहिं पछि संसद्मा पार्टीको प्रमुख सचेतक भएँ।
बीपी कसरी प्रधानमन्त्रीका लागि छानिनुभयो?
नेपालमा अहिलेसम्म सबैजसो प्रधानमन्त्रीका श्रीमती बदनाम छन्। बदनाम नभएको खालि सुशीला (कोइराला) भाउजू हो। निर्वाचित (आमचुनाव) भएको दिनदेखि नै उहाँले बीपीलाई ‘तिमी प्रधानमन्त्री नहोऊ’ भन्न थाल्नुभयो। बीपीले मलाई ‘हेर् विश्वबन्धु, तँ भाउजूसँग कुरा गर्, सुशीलाले मलाई हुन्छ भन्छे भने म हुन्छु, नभए हुन्नँ’ भन्नुभयो। सुशीला भाउजूले मलाई ‘तिमीहरूले सुवर्णजीलाई पार्टी सभापति बनाउने, उसैले चुनाव गराउने अनि उसले चुनाव गराएर जितेपछि चाहिं बीपी प्रधानमन्त्री हुने, यो त बेइमानी भयो, जयप्रकाश (नारायण) हेर, गान्धी हेर, कसरी अरूलाई बनाए’ भन्नुभयो।
मेरो कुरा सुनेपछि बीपीले ‘सुवर्णशमशेरले नै बीपी हुन्छ भने भने म मान्दिन्छु, नभए मान्दिनँ’ भन्नुभयो। हामीले मुश्किलले यो कुरा मिलायौं। ललिता निवास (सुवर्णशमशेरको निवास) को एउटा भेलामा सुवर्णजीले प्रस्ताव गर्ने भए, गणेशमानजीले समर्थन र हामीले ताली पिट्ने भयौं। यसरी बीपी प्रधानमन्त्री हुने हुनुभयो।
जगजाहेरै छ, बीपी प्रधानमन्त्री बनेको राजा महेन्द्रलाई मन परेको थिएन। राजा ‘कू’ को अवस्थासम्म कसरी पुगे?
राजालाई बीपी प्रधानमन्त्री भएको सह्य थिएन। उनले केही उपद्रो गर्छन् भन्ने कुरा सबैलाई थाहा थियो। सुवर्णजी भनेको चाहिं उनका (राजाका) साथी जस्ता हुन्। इङ्ल्यान्डका रानीहरू त आफूलाई मन नपरेका प्रधानमन्त्री निकाल्न खोज्छन् भने यहाँ छाड्थे र? फेरि भारत पनि बीपीलाई हटाउनुपर्छ भनेर लागिरहेको थियो।
म प्रमुख सचेतक रहेकै वेला एकपटक राजाले मलाई दरबारमा बोलाए। उनले ‘तिमीले राख्यौ भने अविश्वासको प्रस्ताव पास हुन्छ, विश्वबन्धु’ भने। मैले ‘सरकार, अविश्वासको प्रस्ताव पासै हुँदैन, बीपी धेरै पपुलर छन्, बरु बीपी आफैं हट्छन्’ भनें। तर, राजाले मानेनन्। ‘त्यसो भए म बीपीको पक्ष र सरकारलाई गाली गरेर एउटा लेख लेख्छु, अनि त्यसको खिलाफमा कसले लेख्छ हेर्छु नि त’ भनें। राजाले हुन्छ भने। मैले लेख छापें, होहल्ला भयो, तर कसैको जवाफ आएन।
बीपीले आफैं छाड्छन् भन्नुको कारण के थियो?
भाउजू (सुशीला कोइराला) को प्रेसर। इच्छा त थियो बीपीलाई। उहाँ पनि कम नाटकिया त होइन नि !
यता ‘कू’ भएको वेला तपाईं त अमेरिकामा हुनुहुन्थ्यो। त्यसको पूर्व सूचना थियो?
मलाई एक पटक बीपीले बोलाएर संयुक्त राष्ट्रसंघ (यूएन) जान भन्नुभयो। डा. गिरीले म अमेरिका जाँदै छु भन्ने कुरा राजालाई भन्दिए होलान्। राजाले बोलाएर ‘तिमी नजाऊ’ भने। मैले ‘बीपी मेरो नेता हो, उहाँले भनेपछि जानुपर्छ’ भनें। ‘बीपीलाई हटाएर सुवर्णलाई प्रधानमन्त्री बनाउन हुँदै हुँदैन’ भन्दै ‘आफू फर्केर नआउन्जेल केही नगरिबक्सियोस्’ भनें। राजाले ‘तिमी बीपीले छाडेर सुवर्ण प्रधानमन्त्री हुन्छ भन्छौ, सुवर्ण बन्छ कि बन्दैन त्यो पत्ता लगाउँछु, उसले बन्छु भन्यो भने केही पनि गर्दिनँ, तर मानेन भने चाहिं मैले त केही गर्नुपर्छ’ भने।
म अमेरिका गइहालें। त्यही वेला बीपी राष्ट्रसंघमा भाग लिन अमेरिका आउनुभयो। मैले उहाँ फर्किने वेला ‘सान्दाजु, केही हुँदै छ, भाउजूले भन्नुभएको कुरा ठीक छ, तपाईं नेपाल गएर तुरुन्तै राजीनामा गरिदिनुस्, किङ माइट डू समथिङ’ (राजाले केही गर्न सक्छन्) भने।
एक दिन बिहानै मलाई एउटी अमेरिकी महिलाले फोन गर्दै ‘तिमीकहाँ कू भएछ, थाहा पायौं’ भनेर सोधिन्। मैले ऋषिकेश (राष्ट्रसंघका लागि आवासीय प्रतिनिधि ऋषिकेश शाह) लाई फोन गरेर ‘तिमी राजालाई भेट्न लन्डन गएका थियौ, केही कुरा भएन’ भनेर सोधें। अब हामी के गर्ने भनेर सोध्दा उसले ‘म र कमलराज रेग्मीलाई यूएनबाट निकालेर पठाइदिनु भनेको छ’ भन्यो। टिकट पनि दियो।
रेग्मी भारत जान्छु भन्दै उतै लागे। राजासँग कुरा भएकाले मारी नै त हाल्दैनन् होला भन्दै म काठमाडौं आएँ। मलाई एअरपोर्टमा समातेर सिंहदरबारमा लगेर थुने। त्यहाँका ड्यूटीका जर्नेललाई ‘म त्यति बेवकूफ छैन अमेरिकादेखि यहाँ आएर थुनिने, म त राजासँग कुरा गर्न आएको’ भनें। उसले दरबारमा सम्पर्क गरेछ र छाडिदेऊ भन्ने आदेश आएछ।
लगत्तै डा. गिरी मलाई भेटन आयो। उसले ‘राजालाई भेट र निर्णय गर’ भन्ने सल्लाह दियो।
राजासँग कस्तो संवाद भयो त?
डा. गिरी र म राजाकहाँ गयौं। मैले राजालाई ‘पोइन्ट ब्ल्याङ्क’ सोधें, “सरकारले मलाई त तिमीलाई नभनीकन गर्दिनँ भन्ने हुकुम भएको थियो, मलाई ऋषिकेशले केही पनि भनेन, सरकारले किन खबर नगरेको?” राजाले ‘ऋषिकेशसँग के भन्ने, त्यो रक्सी खाएपछि जे पायो बोल्दो रहेछ, सुवर्णलाई भनेको कुरा ऋषिकेशलाई भनिदिऊँ, त्यो सबैलाई थाहा भइहाल्छ, त्यसैले मैले केही पनि भनिनँ’ भने। ‘सरकार, यो ठीक भएन’ भनेर फर्किएँ।
भोलिपल्ट राजाले बोलाएका छन् भन्दै डा. गिरी फेरि आयो। राजाले ‘जे हुनु भइहाल्यो, तिमीहरू के गर्छौ’ भने। मैले ‘बीपीलाई जेलमा हालेर म मन्त्री हुन्नँ, थुन्ने भए थुनिबक्सियोस्’ भनें। राजालाई बडो गाह्रो पर्यो। पछि राजासँगको भेटमा डा. गिरीले ‘विश्वबन्धु हाम्रो पार्टीको हाइकमान्ड हो, मभन्दा पनि सिनियर, म मन्त्री हुँदा ऊ सहेर बस्यो, ऋषिकेश पनि आउँदै छ, त्यसैले ऊ थर्डम्यान हुँदैन’ भनिदिएछ। डा. गिरीले ‘राजाले तिमी फस्र्ट र ऊ (विश्वबन्धु) सेकेन्ड बनाउँछु भनेका छन्, नाइँ नभन्दे न’ भन्यो मलाई।
दरबार गएँ र राजालाई ‘सरकार, म पार्टीको मान्छे, बीपीलाई भेटेको पनि छैन, ऋषिकेश शाह पनि आओस्, अरू पनि खोज्नुपर्ला’ भनें। राजाले ‘मन्त्री जति तिमी खोज, मलाई कोही बनाउनु छैन, बीपी-सुवर्णले मान्दै मानेनन् त मैले के गर्ने, कति दिन पर्खनु’ भने। मैले ‘सरकार, अरूलाई बनाइबक्सियोस्, मलाई चाहिं नबनाइबक्सियोस्’ भनें। कुरा बढ्दै गयो। पछि मैले ‘सरकार, प्लान-प्रोग्राम त केही होला’ भनेर राजालाई सोधें। ‘केही छैन प्लान प्रोग्राम, तिमी मन्त्री भएर आऊ, जे जे भन्छौ त्यही गरिदिउँला’ भने।
तपाईं बीपीको त्यस्तो विश्वासपात्र, राजा महेन्द्रले ‘मलाई सघाऊ’ भन्दा अन्तद्र्वन्द्व उत्पन्न भएन?
मैले अमेरिकामै बीपीलाई राजाले केही गर्छन् भनिदिएको थिएँ। त्यो थाहा पाएर भनेको होइन। किनकि सुवर्ण बीपीलाई अलग पारेर आफू प्रधानमन्त्री हुन सक्दैनथे। बीपीले भनेपछि र त्यो पनि मुश्किलले हुन्थे उनी। हेर्नुस्, दुनियाँमा राजाहरूले उनीहरूले मान्ने प्रधानमन्त्री खोज्छन्। राजालाई सुवर्ण जस्तो मान्छे चाहिएको थियो।
कस्तो सोचले राजा महेन्द्रलाई नै सघाउँछु भन्ने निर्णयमा पुग्नुभयो?
राजा डा. गिरीसँग एकथरी र मसँग अर्को थरी कुरा गर्थे। राजाले मसँग एक दिन पनि बीपीको खिलाफ कुरा गरेनन्। ‘मेरो देखाउन लायक प्रधानमन्त्री बीपी थियो’ भन्थे। सुशीला भाउजूले बीपी थुनिएपछि राजाले (उपहारमा) दिएका गहना फिर्ता गरिदिनुभएछ। बडो दुःख मानेका थिए राजाले, ‘मैले दिएको होइन त्यो, बडामहारानीले दिएको’ भन्दै।
बीपीले धेरै पछि मलाई ‘डा. गिरी त लागेको भन्ने मैले बुझिसकेको थिएँ, तँ किन लागिस्’ भनेर सोध्नुभयो। मैले भनें, “यस्तो कुरा त मेरो मनमा पनि आउँछ, राजाले यति दुःख दिए तपाईंलाई, जेल बस्नुभयो, बाहिर जानुभयो, अहिले आएर राजा चाहिन्छ किन भन्नुहुन्छ?” उहाँले ‘हेर्, राजा हाम्रो गार्जियन हो, हामी चीन र भारतको बीचमा बस्नुपरेको छ, कहिले नेहरूले यसो गर भन्छ, कहिले चाउ-एन-लाइले उसो गर भन्छ।
यस्तो वेला राजालाई एकपल्ट सोध्नुपर्छ भन्न पाइन्छ, अनि मान्दिएनन् भन्न पाइन्छ नि’ भन्नुभयो। “हो त्यही कुरा मैले सोचेको हो, तपाईंले सुवर्णलाई बनाएको भए तपाईं बच्नुहुन्थ्यो, अनि बिस्तारै राजाले तपाईंलाई माया गर्ने थिए। उसबाट काम त हुँदैनथ्यो, फेरि तपाईंलाई चाहियो भन्ने थिएँ,” मैले भनें।
थप, नेपालमा राजा रहिरहे मध्यम वर्गको वृद्धि हुन्छ। त्यो वर्ग नउठेसम्म प्रजातन्त्र आउँदैन भन्ने विचारले म राजासँग लागेको हुँ।
तर, तपाईं पञ्चायतमा छिरे पनि अरूले झैं ठूलो भूमिका पाउनुभएन। डा. गिरी प्रधानमन्त्री भए, तर तपाईं राष्ट्रिय पञ्चायत र ‘गाउँ फर्क’ को अध्यक्ष भन्दा ठूलो ओहदामा पुग्नुभएन। अहिले सम्झेर पश्चात्ताप लाग्दैन?
म एक वर्ष बस्दा नै धेरै काम भएको हो। पञ्चायत नाम दिएको, अञ्चल बनाएको मैले हो। पञ्चायत र गृहमन्त्री मै थिएँ। एन्टि-इन्डिया झगडा गर्ने मै हुँ। राजा अध्यक्ष हुँदा म मन्त्री भएँ, डा. गिरी प्रधानमन्त्री बनेपछि म राष्ट्रिय पञ्चायत गएँ।
जनमत संग्रहमा म बहुदलको पक्षमा रहें। म कांग्रेसमा पनि गएँ फेरि। तर, बीपीको निधन भएपछि गणेशमान, किसुनजी र गिरिजाबाबु झगडा गर्न थाले। बीचमा परें म।
तपाईं राजालाई साथ दिएको मान्छे। तर, आज मुलुकमा गणतन्त्र छ। कस्तो अनुभव हुन्छ?
मैले राजा (तत्कालीन राजा ज्ञानेन्द्र) लाई आफैं गएर नातिलाई राजा बनाएर गद्दी छाड्न भनेको हुँ। उनले ‘तिमीले भनेर हुन्छ’ भने। अनि कसले भनेर हुन्छ भन्दा ‘गिरिजा केही भन्दैनन्’ भने। फेरि गिरिजाकहाँ गएँ र ‘सान्दाजुले राजा राख्न खोजेका थिए, केही कारण थिए होला, तपाईं कुरा बुझ्नुस्’ भनें।
उनले विराटनगर पुगेर ‘बेबी किङ (नाति राजा)’ बनाए हुन्छ भने। मैले फेरि राजालाई भेटेर ‘प्रधानमन्त्रीले भनिसके अब गरिदिइबक्स्योस् न’ भनें। तर, राजाले त ‘विराटनगरमा बोलेर हुन्छ, यहाँ बोल्नु पर्दैन’ पो भने। उनलाई छोड्न मनै थिएन। पछि मैले यही विषयमा एउटा वक्तव्य दिएँ। त्यसपछि राजाले मलाई भेट्नै छाडे। अनि के भयो देखिहाल्नुभयो।
त्यसो भए नेपालमा राजतन्त्र राजाकै कारणले गयो भन्ने तपाईंको दलिल हो?
शतप्रतिशत ज्ञानेन्द्र दोषी छन् यसमा। भाउजू र देवरले यो देश बिगारेको भन्छन् नि। भाउजू भनेको रानी (ऐश्वर्य), देवर भनेको ज्ञानेन्द्र।
(हिमालको २०८० वैशाख अंकबाट।)