नेपालगञ्ज फोटो महोत्सवका उत्कृष्ट नौ तस्वीर
बाँकेको नेपालगञ्जमा आयोजित तेस्रो ‘नेपालगञ्ज फोटो फेस्टिभल’का उत्कृष्ट तस्वीरहरूलाई प्रदर्शनीमा राखिएको छ।
अन्तरालको आयोजना र रक्षक सेक्युरिटीको सहकार्यमा सञ्चालन भइरहेको फेस्टिभलमा दुई हजारभन्दा बढी तस्वीर प्रतिस्पर्धामा सहभागी थिए। जसमध्ये आठ विधामा उत्कृष्ट आठ तस्वीरलाई नगदसहित पुरस्कृत गरिएको छ।
कृषि बिधामा राजबहादुर शाहीले खिचेको मुगुको छायानाथ रारा नगरपालिकास्थित ताल्च गाउकी एक महिला रुखमा लटरम्भ फलेको स्याउ टिप्दै गरेको तस्वीरले ‘फोटो अफ दि ईअर’को उपाधी जितेको छ।
समाचार बिधामा मोतीबिन्दुको अपरेशन गरेर पाँच वर्षपछि फेरि आँखा देख्न पाएका रामेछापको भतौलिका ८० वर्षीय रुद्रलाल तामाङले डा. सन्दुक रुइतको नाक छोएको अंगद ढकालले खिचेको तस्वीर उत्कृष्ट बनेको छ। ढकालले नै खिचेको फोटो नेपाल स्माईलमा उत्कृष्ठ हुँदा शाहीले खिचेको मुगुमा जोत्दै गरेको किसानको फोटो कृषि बिधातर्फ उत्कृष्ट भएको छ।
यसैगरी बबी साईको पोखरामा बराहा भैरव नाचको तस्वीर संस्कृति बिधामा उत्कृष्ट भएको छ भने मकवानपुरको हेटौडामा पाडोलाई झोलुङ्गे पुल तराउदै गरेको मनोज पौडेलको तस्वीर दैनिक जनजीवन बिधामा उत्कृष्ट बनेको छ।
प्रकृति र संरक्षण बिधामा श्रीराम खत्रीको काठमाडौंको टौदहमा पानीबाट माछा मार्दै ग्रेट कर्मोरान्टहरू तस्वीर उत्कृष्ट भएको छ भने क्रिकेटरले क्याच लिने प्रयास गरेको सत्यम जोशीको तस्वीर खेल बिधामा उत्कृष्ट भएको छ। पर्यटनमा सिर्जना ओलीको तस्वीर उत्कृष्ट बनेको छ।
विभिन्न विधाका उत्कृष्ट १५० तस्वीर प्रदर्शनीमा राखिएको छ। वैशाख ८ गतेदेखि शुरू भएको महोत्सव वैशाख ९ गतेसम्म चल्नेछ।