पाटेबाघ २२ घण्टापछि नियन्त्रणमा
कञ्चनपुरको बेलौरी नगरपालिकामा स्थानीय बासिन्दामाथि आक्रमण गरेको पाटेबाघलाई वनको टोलीले नियन्त्रणमा लिएको छ।
बेलौरी–८ पचुँइकी गङ्गादेवी चन्दमाथि वैशाख ८ गते बाघले आक्रमण गरेको छ। उनी अझै भेटिएकी छैनन्।
बाघ वरिपरि नै रहेको थाहा पाएपछि वन कार्यालयको टोली खटिएको थियो। वनको टोली पुग्नुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो।
स्थानीय बासिन्दामाथि आक्रमण गर्ने बाघलाई वनको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए। “बाघ नियन्त्रणपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लैजाने कुरो थियो,” उनले भने, “बेपत्ता महिलाको खोजीमा प्रहरी र स्थानीय बासिन्दा सक्रिय छन्।”
चन्दसहित स्थानीय महिला घाँस काट्न गएका वेला बाघले आक्रमण गरेको थियो। अन्य महिला भने भागेर ज्यान जोगाउन सफल भएका थिए। चन्दको अवस्था अज्ञात रहेको र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए।
घटनाबारे लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपपछि प्रहरी र वनको टोली पचुँइ पुगेको थियो। बाघ नियन्त्रणका लागि बर्दिया र शुक्लाफाँटा निकुञ्जको टोली खटिएको थियो। चार वटा हात्तीको सहारामा पचुँइको खप्टी नाला छेउछाउबाट डार्ट गरेर बाघलाई नियन्त्रणमा लिएको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पु¥याइएको बताए। “आवश्यक प्रक्रिया पूरा गर्नुका साथै केही समय बाघलाई निगरानीमै राख्छौं,” ठगुन्नाले भने, “विभागसँगको सल्लाहअनुसार नियन्त्रणमा लिइएको बाघबारे थप निर्णय लिन्छौँ।”
केही समययता कञ्चनपुरको दक्षिण क्षेत्रमा बाघ नियमित बस्ती वरपर देखिन थालेपछि वन कार्यालयले पनि यहाँ विभिन्न स्थानमा स्वभालित क्यामेरा जडान गरेर निगरानी गरिरहेको छ। केही समयअघि पनि पुनर्वास नगरपालिकामा एक जनाको बाघकै आक्रमणबाट ज्यान गएको थियो।