गण्डकीका मुख्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, कृषिबाट वार्षिक ६ लाख आम्दानी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् भने कृषिबाट वार्षिक ६ लाख आम्दानी गरिरहेको खुलाएका छन्।
भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग सम्बन्धी ऐनमा ६० दिनभित्र अनिवार्य रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। तर, ४० दिन ढिला गरी मुख्यमन्त्री अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
मुख्यमन्त्री अधिकारीले शनिबार संसद्बाट विश्वासको मत लिँदै छन्। उनको विश्वासको मतको पक्षमा बहुमत नपुग्ने देखिएको छ। पद जाने वेलासम्म पनि सम्पत्ति विवरण नबुझाएको भन्दै आलोचना भइरहेको थियो।
सम्पत्ति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सबैको अनुमति लिनुपर्दा ढिलाइ भएको बताए। आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न कुनै आपत्ति नरहेको उनको भनाइ थियो।
गण्डकी सरकार सात सदस्यीय थियो। नेकपा (माओवादी केन्द्र)बाट नियुक्त दुई मन्त्रीले गत चैत १० गते राजीनामा दिएका थिए। तर, अहिलेसम्म कुनै पनि मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।
मुख्यमन्त्री अधिकारीले जग्गा, सुन, ब्यांंक मौज्दात, शेयर, गाडी विवरण खुलाएका छन्। उनले अहिलेसम्म स्वआर्जनबाट १५ लाख रुपैयाँ नगद र तीन तोला सुन सम्पत्ति भएको उल्लेख गरेका छन्।
पोखरा महानगरपालिका–१२ मा ६ आनामा बनेको दुई करोड मूल्य पर्ने घर भएको र आमाको अंशबाट शेषपछि संयुक्त पुर्जा भएको पोखरा महानगरपालिका–३१ मा जग्गा रहेको उल्लेख छ। त्यस्तै, सहकारी र ब्यांकमा १० लाख रुपैयाँ मौज्दात रहेको विवरण छ।
उनको नाममा गण्डकी विकास ब्यांकमा दुई हजार ४९९ कित्ता शेयर छ भने शेयर प्राप्तिको स्रोत कृषि आम्दानी देखाएका छन्। कृषिबाट वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुनेसमेत विवरणमा उल्लेख छ। मुख्यमन्त्री अधिकारीको नाममा ५० लाख रुपैयाँ पर्ने स्कोर्पियो छ।
अग्रगामी कृषि फर्ममा मुख्यमन्त्री अधिकारीकी पत्नी रमा पाण्डेको नाममा १६ लाख रुपैयाँ लगानी छ। निर्माणाधीन चितवन फिस वेभ रिर्सोटमा पनि पाण्डेकै नाममा २० लाख रुपैयाँ लगानी रहेको उल्लेख गरिएको छ।
प्रभु ब्यांंकबाट ८० लाख रुपैयाँ ऋण लिएर काठमाडौंको चन्द्रागिरीमा पत्नी पाण्डेको नाममा आठ आना जग्गा खरीद गरेको सम्पत्ति विवरणमा उल्लेख छ।