‘सकम्बरी’ सवाल: पीडितलाई नै प्रश्न र दोष किन?
महिला आफ्ना चाहना, रहर र सपना आफैं पूरा गर्न सक्छन् भन्नेमा सन्देह गरेको ‘सकम्बरी’ गीतले महिला अभावसँग लड्दै आफ्ना सपनाका मर्जी आफैं हुन सक्दैनन् भन्ने झुर कथा रचेको छ।
गीत कलाको विशिष्ट रूप हो, जुन सामाजिक स्मृतिमा रहिरहन्छ। लोकलयमा आधारित गीतहरूको प्रभाव झनै व्यापक हुन्छ। प्रकाश सपुतका गीतहरूले पछिल्लो समय यस्तै प्रभाव पार्ने गरेका छन्।
उनको हालै सार्वजनिक ‘सकम्बरी’ (फूलमाया) गीत पनि जताततै घन्किइरहेको छ। गीतको चर्चासँगै यसले उठाएको विषय र प्रस्तुतिमाथि आलोचना पनि भइरहेको छ।
विवादमा तानिएको सकम्बरी गीतको शब्द र भिडिओको सार यस्तो छ- गाउँबाट शहर आएकी फूलमाया कलाकारितामा भविष्य खोजिरहेकी हुन्छिन्। फूलमायालाई शहर ल्याउने पुरुष पात्रले उनलाई कलाकारितामा ‘भाग्य चम्काइदिने’ आश्वासन दिन्छ र यसकै आडमा यौनशोषण गर्छ।
पुरुष पात्रको ओछ्यानबाट फुत्किएर फूलमाया आफैं काम खोज्न थाल्छिन्। यही क्रममा शारीरिक शोषण भोग्दै कला क्षेत्रमा काम गर्ने दुराचारी पुरुषहरूको जञ्जालमा फस्छिन्। आफ्नै पहिचान बिर्सेर उनी फूलमायाबाट सकम्बरी बन्छिन्।
उनलाई शहर ल्याउने पुरुष फूलमाया सकम्बरीमा रूपान्तरण भएको साक्षी हुन्छ। ऊ फूलमायाले आफूभन्दा छिटो र धेरै पैसा कमाएकोमा ईर्ष्याले जल्छ। फूलमायाले आफूलाई बिर्सेपछि अनेक प्रश्न सोध्न थाल्छ।
भिडिओको केन्द्रमा देहव्यापारको कुरा छ। महिला पात्र आफ्नो शरीर बेचेर मात्रै सफल र सक्षम भएको देखाइएको छ। अर्कातिर पुरुष पात्रले महिला पात्रलाई आफूले गरेको कामप्रति लज्जित बनाउँदै प्रायश्चित गर्न समेत लगाइएको छ। गीतको विषयवस्तु र यसले निर्माण गर्न खोजेको भाष्यमा अलमल छ। यही कारण गीतबारे बहस र विवाद बढ्दै गएको हो।
बहसलाई निषेध गर्नेहरू भनिरहेका छन्, ‘गीतलाई गीत या कलाकारको एउटा कल्पना/सिर्जनाका रूपमा मात्रै बुझ्दा हुन्न र?’
गीत र भिडिओले फैलाइरहेको स्त्रीद्वेषी चेतलाई बेवास्ता गर्नेहरू थपिरहेका छन्, ‘कथा त हो नि!’
‘सर्जकलाई आफ्नो काम गर्न दिनुपर्छ’ भनेर गीतले उठान गरेको विषयवस्तुमा आँखा चिम्लिनेहरू छँदै छन्। कतिले गीतहरू सुनिजाने-भुलिजाने कुरा त हो भन्दै टालटुल पार्न पनि खोजिरहेका छन्।
जे जे भनिए पनि गीतले उठाएको विषयवस्तु र भिडिओमा गरिएको चित्रणबारे पर्याप्त छलफल जरुरी छ। मान्छेले गायक, गीतकार र सङ्गीतकार सपुतलाई बिर्सेलान्, तर ‘यो जीवन यसै चल्छ, तिमीलाई कसले भन्दियो?’ भनेर गाएको सजिलै बिर्सिन सक्दैनन्।
शब्द र सङ्गीत मात्र भन्दा दृश्यको प्रभाव अझ गहिरो हुन्छ। भिडिओ पनि हेर्नेहरूले त सफल महिला कलाकारहरू आफ्नो यौवन बेचेर मात्रै स्थापित हुन सफल भएका हुन् भन्ने भाष्य निर्माण गरेको छ।
सपुतको यो गीत पुरुषले महिलालाई सोधेको प्रश्न हो। हुन त प्रश्नहरूले नै समाजलाई गतिशील बनाउँदै प्रगतितर्फ उन्मुख गराउँछ। तर, प्रश्न कति सही छ? कसले सोधिरहेको छ? कसरी र किन सोधिरहेको छ? अनि आममानिसले प्रश्न कसरी सुनिरहेका छन्? कसरी बुझिरहेका छन्? यसको पनि खुला र निर्मम समीक्षा हुनैपर्छ। सकम्बरी कसले बनायो? कसले हेरेर मन पराइरहेछ? कलामा महिला र पुरुष चित्रणको बेग्लै राजनीति छ। यो राजनीति नबुझी सकम्बरी म्युजिक भिडिओ बुझिन्न।
बेलायती लेखक जोन बर्जरले वेज अफ सिइङ (१९७२) पुस्तकमा भनेका छन्, ‘कलाको दृश्य माध्यममा प्रायः पुरुष अभिनय गर्छन्, महिलालाई उपस्थितिमा मात्र सीमित गरिन्छ। पुरुषले महिलालाई हेर्छन् तर महिलाले पुरुषको नजरले आफूलाई कसरी हेर्छन् भन्ने मात्रै देख्छन्। यसले महिला र पुरुषबीचको शक्ति सम्बन्ध मात्रै नभएर महिलाको आफैंसँगको सम्बन्ध पनि निर्धारण गर्छ। महिला आफूलाई पुरुषले देख्न चाहेको स्वरूपमा मात्रै प्रस्तुत भएका हुन्छन्।’
सपुतको ‘सकम्बरी’ पनि यस्तै पुरुष हेराइबाट ग्रस्त छ। गीतमा सोधिएका रातो स्कूटर, चुरा ... कसले किन्दियो जस्ता बेफ्वाँकका प्रश्नहरू सोधिएका छन्।
खासमा यी प्रश्नमा रमाइरहेकाहरूलाई नै उल्टै सोध्नुपर्ने हुन्छ, 'महिलाले के किन्छन्, के लगाउँछन् भनेर कसले भनिदिनुपर्ने हो र!'
पुरुषसत्ता, गरीबी र शैक्षिक अवसरबाट वञ्चित हुनु फूलमायाको रोजाइ होइन। भिडिओमा महिला पात्रको हाउभाउ र उसले आफैंप्रति राख्ने भावनाले ऊ विचलित नभएको देखाउन खोजेको छ। तर, गीतका शब्दले हरेक टुक्कामा महिलाको पहिरन, यौवन, उसको काम गर्ने समय, आर्थिक स्रोतबारे प्रश्न गर्छ जुन आपत्तिजनक छ। विषयवस्तु महत्त्वपूर्ण हो, तर चित्रण र प्रस्तुतिमा समस्यै समस्या छन्।
भिडिओमा फूलमायालाई पुरुष पात्रहरूले आफूलाई हेरेको र छोएको मन नपरेको कुरा उसको हाउभाउले प्रस्ट देखाउँछ। तर, दुर्व्यवहार भोगिरहेकी उसलाई पुरुष पात्रले मर्माहत पार्दै उल्टै गिज्याएको छ। भिडिओका धेरै पुरुष पात्रहरू फूलमायाको जीवनको रमिते मात्र बनेका छन्। ती पुरुष पात्रको बीचमा एउटी महिलालाई वस्तूकरण गरेर पुरुषहरूको आनन्दको साधनका रूपमा देखाइएको छ।
आफू शोषित भएर कमाएको पैसाप्रति अन्य महिला पात्रको मोह देखाउँदै महिला पात्रहरूबीच सौन्दर्य र शक्तिबीचको द्वन्द्व सिर्जना गरिएको छ। यो महिलालाई एकअर्काको दुश्मन बनाइदिने पुरुषवादी चाल हो।
महिला पात्र सार्वजनिक ठाउँमा सलले मुख छोपेर हिंड्छिन्। महिला पात्रहरूलाई स्क्रीनमा यसरी देखाइनु महिलामाथि लाजको हतियार प्रयोग गर्नु हो। यही हतियार प्रयोग गर्दै शोषक पुरुष पात्रले महिलालाई प्रश्न गर्छ, ‘पाप लाग्दैन?’
धर्म मास्ने जहर भन्दै महिला पात्रलाई लज्जित बनाई सजाय दिन पुरुषले आफूलाई योग्य पात्र ठानेको छ। महिला पात्रलाई मात्रै आरोप लगाउँदै आफू ‘भगवान्को अजेन्ट’ जस्तो बनेको छ। महिलालाई सजाय दिनु पुरुषको धर्म हो भन्ने खालको समाजघाती भाष्य महिलाले सदियौंदेखि सहँदै आएका हुन्। सपुतको यो गीत र भिडिओमा पनि सम्पूर्ण महिलालाई लज्जित बनाउने शब्द, दृश्य र तौरतरीका अपनाइएका छन्। पुरुषलाई के लगाइस्, के खाइस्, किन राति ढिला आइस् भनेर कसैले सोध्छ? सोध्दैन।
म पनि काठमाडौंमा बाहिरबाट आएर संघर्षरत विद्यार्थी हुँ। राति अबेरसम्म काम गरेर घर फर्कने हतारमा रत्नपार्कमा उभिएर गाडी कुर्दै गर्दा अंकल उमेरका पुरुषहरूले तलदेखि माथिसम्म हेर्दै मेरो शरीरमाथि आँखा अड्याएका छन्। कति पटक राति एक्लै हिंडेर घर आउँदै गर्दा पिछा गरेका छन्। त्यस्तो वेला उनीहरूका आँखा घोचिदिऊँ जस्तो भएको छ। अनि कैयौं पटक बोल्न नसकेर उकुसमुकस भएर रोएकी छु।
शहरी क्षेत्रमा तह तहमा हुने यस्ता हिंसा महिलाहरूले छिनछिनमा भोग्नुपरिरहेको हुन्छ। तर, गीतमा महिला राति कामबाट फर्किनुलाई पनि समस्याजनक रूपले प्रस्तुत गरिएको छ। भिडिओ नहेरेर गीत मात्रै सुन्नेले त महिलाले लगाउने लुगा कसले किन्दिन्छ भन्ने प्रश्न मात्रै सुन्ने भए। यस्ता प्रश्नहरूले आर्थिक रूपमा स्वतन्त्र महिलाहरूको श्रम र क्षमताको अवमूल्यन गर्छन्।
यो म्युजिक भिडिओले निर्माण गर्न खोजेको भाष्यले महिलाहरूको शरीर र उनीहरूको छनोटमाथि धज्जी उडाएको छ। रोजगारी नपाएर, श्रमको उचित मूल्य नभएर, गरीबी वा अनेक बाध्यता वा प्रलोभनमा परी धेरै महिला देहव्यापार गरिरहेका छन्। देहव्यापारको केन्द्र शहरी क्षेत्र हो। गाउँबाट शहर आएका फूलमायाहरू कसरी बलात्कारी वा यौन व्यभिचारी पुरुषको पासोमा पर्छन् भन्ने गीतले देखाउँदैन।
गीतले सम्पूर्ण दोष महिलाको पोल्टामा पार्न खोजेको छ। गीतले देहव्यापार गरेर गुजारा चलाइरहेका महिलाहरूमाथि हुने सामाजिक बहिष्करण र हिंसालाई प्रोत्साहन गरेको छ। देहव्यापारलाई कानूनी मान्यता दिएर आर्थिक आधारले मात्रै महिला स्वतन्त्र हुन सक्छन् भन्ने धारणा महिलाविरोधी त छ नै, बाध्यताले देहव्यापार गरिरहेका महिलाहरूमाथि हुने हिंसालाई ‘ग्लोरिफाई’ र इन्कार गर्नु भनेको महिलालाई अमानवीयकरण गर्नु हो।
सर्जकले कथा देखाउन पाउँछ। शब्द काटछाँट पनि गर्न पाउँछ। बेचिएका र किन्नेहरूबीचको सम्बन्धमा बेचिएकाहरूलाई नै आघात पुर्याउने, कमजोर बनाउने खालका तुच्छ कला उत्पादन गर्न भने पाउँदैन। यसो गर्नु आफ्नै कथाका पात्रहरूलाई बेच्नु अनि बेचिन दिइनु हो। महिलासँग बेच्नलाई आफ्नो शरीर मात्रै बाँकी रहँदा प्रश्न उसलाई सोध्ने होइन, उसको शरीर किन्नेहरूलाई सोध्नुपर्ने हो। शोषणमा परी महिलाको शरीरमा डाम देख्दा प्रश्न शक्तिको दुरुपयोग गर्नेहरूलाई सोध्ने हो।
गीतमा एउटा टुक्का छ,
पेटको भोकैले शहर छिरायो
मनको भोकैले बाटो बिरायो।
भिडिओमा महिला पात्रले कमाएको पैसा आफ्नो परिवार र साथीहरूका आधारभूत आवश्यकता पूर्ति गर्न खर्च गरिरहेकी छन्। आर्थिक अवस्थाको कारण पेटको भोकले बाध्यताको भुमरीमा परी शोषित भइरहेकी महिलालाई यी आरोप लगाउनु भनेको ‘भिक्टिम ब्लेमिङ’ को निकृष्ट रूप हो। पीडितलाई नै दोष दिने पुरुष पात्र आफैं शोषक भएका कारण नैतिकताको ठेकेदारी पुरुषहरूको मात्रै हो भने सङ्कीर्ण विचार गीतमा छ।
कुनै पनि कथालाई सार्वजनिक गर्ने भाषा समाज समृद्ध बनाउने खालको हुनुपर्छ। सपुतले गीतको अन्त्यमा कलाकारिताबाट प्रसिद्ध भएकी सकम्बरी पात्रलाई राजनीतिमा जाने सङ्केत देखाएका छन्। वेलावेला राजनीतिक दलहरूले आफ्नो प्रचारप्रसारका लागि महिलाको प्रसिद्धिलाई ‘टोकन’ पनि बनाउने गरेका छन्। राजनीतिमा निशर्त रूपमा महिलाको समावेशीकरण र समान सहभागिता हुनुपर्नेमा वास्ता नगर्नेहरूले महिला शरीरलाई आफ्नो राजनीतिक मुद्दाको ‘फेस’ बनाइरहेका छन्। अर्कातिर राजनीति गरिरहेका महिलाले सामना गर्नुपर्ने प्रश्नहरू पनि महिलालाई ‘संरक्षण गर्ने’ खालका हुन्छन्। यस्तो अराजनीतिक माहोललाई सपुतले पनि देखाएका छन्।
तर, ‘सकम्बरी’ गीतका शब्द र दृश्य दुवैले महिला आफ्ना चाहना, रहर, सपना आफैं पूरा गर्न सक्छन् भन्ने कुरामा सन्देह गर्छन्। महिला अभावसँग लड्दै आफ्ना सपनाका मर्जी आफैं हुन सक्दैनन् भन्ने झुर कथा रचेको छ।
सबैको चेतनाको सीमितता हुन्छ, तर महिलाले आफ्नो ख्याल आफैं राख्न सक्छन् भन्ने न्यूनतम जानकारी यो समाजलाई महिलाहरूले कतिन्जेल दिइराख्नुपर्ने हो? महिला आफ्नो आवाज आफैं बन्न सक्छन् भन्ने कसले भनिदिनुपर्ने हो?
भाग दुई समेत आउने सङ्केत गरिएको यो गीतको अर्को भागमा यस पटकका गल्ती र यो गीतले निर्माण गर्न खोजेको महिलाविरोधी भाष्यलाई सपुतले फेर्न सकून्। अरूलाई ‘कुरा बुझ्नुपर्च’ भनेर गीत बनाउने सपुत आफैंले कुरा बुझून्।