नाटक उर्वशी सूक्त: ऋग्वेदकालको परिभ्रमण
दिशा र काल अनि भेडाका पाठा र सङ्गमक मणि तथा गिद्धको प्रसङ्गले कथालाई तिलस्मी र रहस्यमयी बनाएको छ।
पृथ्वीमा, जलमा तथा अनलमा, वायू र आकाशमा,
भानूमा, शशिमा, समस्त ग्रहमा, ब्रह्माण्डमा, जीवमा।
जस्को शक्ति बसेर गर्छ भवमा दिक्काल सञ्चालन
त्यस्ता श्रीपरमात्माका चरणमा गर्छू झुकी वन्दन।।
नाटक उर्वशी सूक्तको यो मङ्गलाचरण मोहनी लगाउने खालको छ। प्रख्यात छन्द गायिका सरु गुरागाईंको स्वरमा यो मङ्गलाचरणको मिठास अवर्णनीय छ।
शार्दूलविक्रीडित छन्दको यो मङ्गलाचरणमा लेखकले छन्द मिलाउन वायुलाई ‘वायू’, भानुलाई ‘भानू’ र गर्छुलाई ‘गर्छू’ प्रयोग गरेका छन्। भानुभक्तकालीन नेपालीमा यो स्वाभाविक भए पनि लेखकले थप परिश्रम गरेको भए यसलाई पनि परिशुद्ध गराउन सक्थे।
शास्त्रीय शैलीको भनिएको यो नाटक वैशाख १ गतेदेखि पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरमा मञ्चन भइरहेको छ र वैशाख ११ गतेसम्म चल्नेछ। करीब एक घन्टा ४५ मिनेटको नाटकमा तीन राग, एक परम्परागत गीत र ६ वटा छन्द कविता छन्।
नाटक नान्दी अर्थात् मङ्गलाचरण, सूत्रधार र नटीद्वारा कथन गरिएको छ। शास्त्रीय सङ्गीत, नृत्य र छन्दको प्रयोगबाट यसको शास्त्रीयतालाई पुष्टि गर्न खोजिएको छ।
नाटकका लेखक तथा निर्देशक शिव सङ्कल्प हुन्। यो उनको पहिलो मञ्चित नाटक हो। पहिलो प्रयासमै लेखकका रूपमा उनी सशक्त देखिएका छन्। सन्दर्भग्रन्थ र नाट्यशास्त्रको सैद्धान्तिक ज्ञानमा सङ्कल्प अब्बल देखिएका छन्। यद्यपि निर्देशनमा भने रङ्गमञ्चको प्रत्यक्ष व्यावहारिक अनुभव कम भएको झलक देखा पर्छ।
नाटकको कथानक ऋग्वेद तथा पुराणहरूमा वर्णित स्वर्गकी अप्सरा उर्वशी र मर्त्यलोकका राजा पुरूरवाको प्रेम, मिलन र विरहका वरिपरि घुमेको छ। उपकथाका रूपमा उर्वशीको उत्पत्ति, उर्वशी र इन्द्रको सम्बन्ध, केशी दैत्यद्वारा उर्वशीको अपहरण, उर्वशी अर्जुनप्रति आशक्त भएको प्रसङ्ग पनि जोडिएका छन्।
नाटकको मङ्गलाचरणदेखि नै पटक पटक समय र परिस्थितिको कुरा गरिएको छ। नाटकको मध्यमा त दिशा र काल नै पात्रका रूपमा उपस्थित भई संवाद पनि गर्छन्। यसले समय र परिस्थितिलाई समन्वय गरेर अघि बढेमा जीवन सुखद हुन्छ भन्ने सन्देश दिन खोजेको भान हुन्छ।
मानवीय जीवनमा धर्म अर्थात् कर्तव्य, अर्थ अर्थात् साधनस्रोतको प्राप्ति र काम अर्थात् भोगविलासको समन्वय हुनुपर्ने सन्देश पनि नाटकले दिएको छ।
नाटकका बलिया पक्ष
प्रत्यक्ष सङ्गीत, त्यसमा पनि शास्त्रीय राग र छन्दको गायन नाटकको कथासँग राम्रोसँग संयोजन भएको छ। यो नाटकको बलियो पक्ष हो।
नाटकको संवाद संस्कृत शब्दावलीले भरिपूर्ण छ। ती शब्दको उच्चारणमा पनि परिश्रम गर्न खोजिएको देखिन्छ। कथाको आवश्यकता अनुसार संस्कृत मन्त्रोच्चारण गर्न सक्षम कलाकार छनोट गरिनुलाई पनि यो नाटकको विशेषता नै मान्न सकिन्छ।
अभिनयका हिसाबले प्रमुख पात्रहरूले आआफ्नो भूमिकालाई न्याय गरेका छन्। नाटककारले पूर्वीय नाट्यशास्त्रका अवयवहरूलाई प्रयोग गर्न खोजेको स्पष्ट देखिन्छ। कथावाचक जोडीका रूपमा सूत्रधार र नटीको प्रयोग पनि सुन्दर छ। वर्तमान परिवेशमा यो प्रयोग कलात्मक देखिन्छ।
गिद्ध तथा भेडाका पाठाहरूको प्रयोग मार्फत जनावरको संवेदनालाई पनि प्रस्ट पारिएको छ। अर्जुन र उर्वशी संवाद, उत्पत्तिको समयमा उर्वशी तथा पुरूरवा र उर्वशीबीचको शृङ्गारिक दृश्य छायामा देखाइनु कलात्मक छ।
पूर्वीय नाट्यशास्त्रको नवरसको सिद्धान्त अनुसार, नाटकमा बीभत्स बाहेकका आठ रसको प्रयोग छ जुन निकै राम्रो छ। सूत्रधार र नटी तथा पुरूरवा र उर्वशीको सम्बन्धमा शृङ्गार रस प्रशस्त देखाइएको छ। सूत्रधार र नटीको संवादमा हास्य रस पनि प्रयोग भएको छ।
उर्वशीको विरहमा उन्मत्त पुरूरवाको लामो मनोवाद र अन्त्यको पुरूरवा र उर्वशीको संवादमा पुरूरवाको अंश करुण रसले ओतप्रोत छ। नाटकमा पटक पटक श्रापका प्रसङ्ग आएका छन्। तिनमा रौद्र रसको राम्रो झलक देखिन्छ।
देवता-दैत्यको युद्ध तथा पुरूरवाले दैत्य केशीलाई पराजित गरेको प्रसङ्ग अनि इन्द्रसभामा गाइएको पञ्चचामर छन्दको गीत वीर रसले पूर्ण छ। केशी दैत्यले उर्वशीलाई अपहरण गर्न लाग्दाको दृश्यमा भयानक रसको झलक देख्न सकिन्छ भने आकाशवाणी भएको प्रसङ्गमा अद्भुत रसको झलक पाइन्छ। ऋषिहरूको तपस्या, संवाद तथा पुरूरवा र उर्वशी संवादको अंशमा शान्त रस छ।
नाटकमा प्रयुक्त वेशभूषाले शास्त्रीय झलक दिन्छन्। तर, कतिपय नौला प्रयोग पनि भएका छन्। उदाहरणका लागि उर्वशीको परिधानका रूपमा ढाकामा सेतो मलमलले मोरेको चोलोको प्रयोग।
नाटकको अन्त्यतिर उर्वशीले पखेंटा लगाएर आउनुले उनको चरित्रमा पूर्वीय र पाश्चात्य मिथककी ‘स्वान मेडन’ को संयोजन गर्न खोजिएको महसूस हुन्छ। नाटकमा मूलतः शास्त्रीय अवयव भए पनि इन्द्र, पुरूरवा र उर्वशीबीचको त्रिकोणात्मक अनुराग वेला वेला आधुनिक शैलीको पनि बनेको छ।
यस्तै सूत्रधारसँगको संवादमा नटी आधुनिक नारीवादी जस्तो पनि सुनिएकी छिन्। यी प्रयोगले नाटकमा विभिन्न धारहरूको समन्वय गर्न खोजिएको अनुभव हुन्छ। दिशा र काल अनि भेडाका पाठा र सङ्गमक मणि तथा गिद्धको प्रसङ्गले कथालाई तिलस्मी र रहस्यमयी बनाएको छ।
सुधार गर्नुपर्ने पक्ष
नाटकमा सुधार गर्न सकिने पक्ष पनि छन्। जस्तो, संस्कृत उच्चारण गर्न सके पनि संवादको अर्थ आत्मसात् गर्न नसक्दा कलाकारहरूले पढिरहेको जस्तो सुनिन्छ। पर्याप्त प्रशिक्षण र अभ्यास भएको भए यो पक्षमा सुधार गर्न सकिन्थ्यो नै।
यस्तै कतिपय ठाउँमा कलाकार र सङ्गीतबीच समन्वय छुटेको पाइन्छ। यसमा निर्देशकले दुवै पक्षलाई अझै परिश्रम गराउन सक्थे।
स्वर्ग र मर्त्यलोकको पृथक्ता देखाउन प्रतीकात्मक रूपमा राजसिंहासन पछाडिको चित्र परिवर्तन गरिएको छ। तर, यो परिवर्तन दर्शकले अनुभव गर्न सक्दैनन्। दुई लोकको पृथक्ता देखाउन अरू प्रतीकात्मक कुराहरू प्रस्तुत गर्न सकिन्थ्यो। यसमा पनि निर्देशक चुकेका छन्। नवरसमध्ये बीभत्स रसको पनि छोटो प्रयोग भएको भए नाटक परिपूर्ण हुन्थ्यो कि जस्तो लाग्छ!
अर्को नाट्यशास्त्रको मुख्य अवयव विदूषक पात्रलाई लेखकले जानाजान छाडेको देखिन्छ। त्यो अवयव पनि राखिएको भए नाटकमा हास्य रसको अंश अझै बलियो हुन्थ्यो। नाटक झनै सुन्दर बन्ने थियो।
पात्र चयनको कुरा गर्दा इन्द्र बनेका पात्र नै अर्जुन बन्दा स्वाभाविक लाग्दैन। पुरूरवा विक्षिप्त भएको दृश्य अलिकति लामो र पट्यारलाग्दो छ।
उर्वशीको उत्पत्ति र स्वर्गलोक गमनसम्मकै कथालाई पनि संक्षेपीकरण गर्न सकिने देखिन्छ। यसो गर्दा नाटक करीब डेढ घण्टामै सकिन्थ्यो। १५ मिनेट लम्ब्याउनुको ध्येय निर्देशकले पुष्टि गर्न सक्दैनन्। वेशभूषाको प्रयोग शास्त्रीय भए पनि ऋग्वेदकालीन समयलाई न्याय गर्न सकेको महसूस हुँदैन।
नाटकमा वेला वेला कलाकारको प्रवेश र प्रकाश संयोजनबीच समन्वय टुटेको छ। गिद्ध बनेका पात्रको हात वा खुट्टा देखिनु जस्ता प्राविधिक त्रुटिहरू सुधार गर्न सके यो नाटक उत्कृष्ट बन्न सक्थ्यो।