‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
‘संरक्षण क्षेत्रमा राति ११ बजेसम्म सडक खोल्नु दुःखदायी हो। जनताको सुविधाका लागि त ठीकै होला, तर वन्यजन्तुको दृष्टिले राम्रो होइन।’
संरक्षण अनुभव समेटेर सिनियर गेमस्काउट धर्तीचन्द्र यात्रीले पुस्तक ल्याएका छन्, जङ्गलमा ३३ वर्ष। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यरत यात्रीले संरक्षणमा बिताएका ३३ वर्षको अनुभवलाई पुस्तकको रूप दिएका छन्।
साहित्यिक सिर्जनामा पनि उत्तिकै सक्रिय यात्रीसँग हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा महेश्वर आचार्यले गरेको कुराकानी:
भर्खरै पुस्तक प्रकाशित भएको छ। केकस्ता प्रतिक्रिया पाइराख्नुभएको छ?
वन्यजन्तु संरक्षणमा कार्यरत पाठकको प्रतिक्रिया उत्साहप्रद नै छ। संरक्षणका लागि फिल्डमा खटिने तल्लो तहका कर्मचारीको भोगाइ पुस्तकमा आएको धेरैले बताएका छन्।
किताबमा लाङटाङप्रतिको प्रेम झल्किएको छ। किन लाङटाङसँग यस्तो मोहनी?
मैले कामको शुरूआत नै लाङटाङ जस्तो सुन्दर ठाउँबाट गर्न पाएँ। पहिलो ड्यूटी स्टेशन कुटुमसाङ हो जुन सुन्दरीजलबाट गोसाइँकुण्ड जाने लामो ट्रेकिङ रुटमा पर्छ। त्यहाँबाट जुगल, गणेश, दोर्जेलाक्पा हिमालको मनोमोहक दृश्य देखिन्छ। शेर्पा, तामाङहरूको बसोबास भएको यो ठाउँ हरेक दृष्टिले रमणीय छ।
२०४७ वैशाखदेखि लाङटाङको कुटुमसाङबाट निकुञ्जमा सेवा शुरू भयो। अढाई दशक बिताएको हुनाले लाङटाङ बिर्सन सक्तिनँ।
त्यस्तै, रसुवाको सबैजसो वडामा पुग्ने मौका पनि पाएँ। सबैसँग चिनजान भयो। मैले आफ्नो लेखकीय नाम धर्तीचन्द्र यात्रीबाट परिचित हुने मौका पनि रसुवाबाटै पाएँ। तसर्थ लाङटाङसँग मेरो लगाव रहेको छ।
तीन दशकअघिको कुटुमसाङको अवस्था कस्तो थियो? अहिले केही परिवर्तन आएको छ कि उस्तै छ?
अहिले त्यहाँ बाटो पुगेको छ। पर्यापर्यटनको विकास भएको छ। पहिला हिंड्दाको छुट्टै रमाइलो थियो। अहिले गाडीमा जाँदा पहिला जस्तो रमाइलो नभएको हो कि भन्ने लाग्छ। तर, जनतालाई बाटोको सुविधा हुनु हुँदैन भन्ने कुरा होइन। बाटोसँगै प्रदूषण बढेर पर्यावरण बिग्रिन सक्ला कि भन्नेमा चाहिं ध्यान पुर्याउनुपर्ने देखिन्छ।
लामो अनुभवका आधारमा लाङटाङमा कता कता घुम्न सुझाव दिनुहुन्छ?
गोसाइँकुण्ड जान चाहनेले धुन्चेमा एक दिन, त्यसपछि स्याफ्रुबेसीको बाटो हुँदै बाम्बो, बिज्र, ल्यान्ड स्लाइड, लामा होटल, लाङटाङ, क्यान्जिङ, लाङसिला, याङ्ग्री, च्यागोरी पुगेर ठूलो स्याफ्रुबाट चन्दनबारी हुँदै चोलाङपाटी, गोसाइँकुण्ड जान सकिन्छ। त्यहाँबाट ठाडेपाटी, मागेनगोठ, कुटुमसाङ हुँदै आउन सकिन्छ। फर्कने वेला ठाडेपाटीबाट हेलम्बु जान पनि सकिन्छ, जहाँबाट शेर्माथाङमा रमाउन पाइन्छ।
कुटुमसाङबाटै ओर्लने हो भने पनि दुई वटा बाटा छन्। सीधै चनौटे बजारबाट गाडीमा फर्कन सकिन्छ वा गोल्फुभन्ज्याङ, पाटीभन्ज्याङ, चिसापानी हुँदै पनि आउन सकिन्छ। कम्तीमा १२ दिन जतिको ‘राउन्ड ट्रेक’ गर्दा लाङटाङको सौन्दर्य देख्न सकिन्छ। यसरी यात्रा गर्दा लाङटाङ क्षेत्रमा पाइने तिब्बती, हिमाली शेर्पा र स्थानीय तामाङ संस्कृति सबै समेटिन्छ।
लाङटाङ घुम्ने उपयुक्त मौसम चाहिं कुन हो?
लाङटाङ घुम्न जाने हो भने अक्टोबर-नोभेम्बरको समय सबैभन्दा उत्तम हो। दशैं र तिहारबीचको समय सबैभन्दा उपयुक्त हुन्छ।
लाङटाङ क्षेत्रमा एक्लै नहिंड्नू भन्ने गरिन्छ। किन यस्तो भनिएको हो?
लाङटाङमा पर्यटक हराउने भएकाले एक्लै हिंड्न सिफारिश गरिंदैन। त्यहाँ लेक लाग्ने र केही विषालुु वनस्पतिको असरले स्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्छ। जसले गर्दा एक्लै हिंड्ने सुझाव दिइँदैन।
लाङटाङमा हेर्न पाइने प्राणी र प्राकृतिक सम्पदा के के हुन्?
लाङटाङमा स्थानीय भाषामा लाङटाङ सल्ला भनिने दुर्लभ वनस्पति ल्यारेक सल्ला पाइन्छ। प्रसिद्ध लाङटाङ पहिलो, दोस्रो र तेस्रो हिमशृङ्खला पनि यही क्षेत्रमा पर्छ। गोसाइँकुण्ड पनि यहीं पर्छ। धुन्चे आसपास घले राजाहरूको दरबार छ। लाङटाङ राष्ट्रिय निकुञ्जले समेटेको क्षेत्रमा ५६ प्रतिशत भूगोल रसुवामा छ। सिन्धुपाल्चोकको जुगल र गौरीशंकर हिमाल पनि रमाइला क्षेत्र हुन्।
सिन्धुपाल्चोकको गौरीशंकर संरक्षण क्षेत्र पनि लाङटाङसँगै जोडिएको छ। जुन रेड पान्डा र लौठ सल्लो पाइने ठाउँ हो। दुर्लभ लौठ सल्लो सङ्कटकाल र माओवादी द्वन्द्वकालमा सखाप पारियो। लाङटाङमा पाइने अन्य प्राणीमा हिउँचितुवा, ध्वाँसे चितुवा, रेड पान्डा हुन्।
रेड पान्डालाई जोखिम छ भनिन्छ। यसलाई जोगाउन के गर्नुपर्ला?
लाङटाङ निकुञ्ज क्षेत्रमा भएका रेड पान्डा जोगाउन गोठ-खर्कहरूको व्यवस्थापन गर्नुपर्ने चुनौती छ। गुप्चे खोला आसपासमा रेड पान्डाको राम्रो वासस्थान छ। तर, गोठ-खर्क र शिकारीको गतिविधि नियन्त्रण गर्नुपर्ने देखिन्छ।
लाङटाङमा संरक्षण कार्य गर्दाका चुनौती पनि थिए होला नि?
कामका सिलसिलामा धेरै तस्करहरूसँग भिड्नुपर्यो। माओवादी द्वन्द्वकालमा एम्बुसमा पनि परियो। एक पटक लाङटाङमा हुँदा ल्यारेक सल्ला काट्नेलाई पक्राउ गर्दा पूरै गाउँ नै उल्टियो। दोस्रो पटक पक्राउ गर्दा गाउँका ठूलाबडा सबैले मलाई तारो बनाए। म त्यहाँबाट हिँड्नुपर्यो। त्यो मेरो जीवनको सबैभन्दा दुःखद क्षण हो। म एउटा कर्मचारी विरुद्ध पूरै गाउँ नै लाग्दा उस्तै कमजोर मान्छे भए त पागलै हुन्थ्यो होला।
संरक्षणमा लाग्दालाग्दै गस्तीका क्रममा साथीहरूले ज्यान पनि गुमाएका छन्। रामेश्वर पण्डित, विजय अधिकारीले गस्तीकै क्रममा ज्यान गुमाए। म आफैं पनि एम्बुसमा परेको थिएँ, धन्न बाँचियो।
तपाईं संरक्षणमा लागेको ३३ वर्ष भइसक्यो। यहाँको विचारमा संरक्षण कार्य कत्तिको गाह्रो छ?
निश्चय नै संरक्षण कार्य चुनौतीपूर्ण छ। हामीले समुदायको दबाबको सामना गर्नपर्छ। कहिलेकाहीं मुठभेड हुन्छ, त्यो वेला गोदाइ खानुपर्ने अवस्था पनि हुन्छ। ठाउँ ठाउँका वार्डेनले कुटिनुपरेका घटना पनि भएका छन्।
संरक्षण विना त केही पनि हुँदैन। तर, जनताको कुरा नसुनी संरक्षण मात्र भनेर पनि हुँदैन। हामीले आफू मरेर पनि संरक्षण गर्नुपर्छ। किनभने यही संरक्षणले हामीलाई पहिचान दिएको छ। व्यक्तिगत पहिचानदेखि राष्ट्रिय पहिचान पनि बनेको छ।
निकुञ्जमा काम गर्न थालेपछि वन्यजन्तुको माया लाग्दै जाने रहेछ, होइन त?
हो, त्यस्तै हो। वन्यजन्तुको माया लाग्दो रहेछ।
संरक्षण बलियो बनाउन नीतिगत तहमा काम गर्ने, केन्द्रमा बस्नेहरू महीनाको १० दिन फिल्डमा जानुपर्छ भन्ने सुझाव दिनुभएको छ। पुस्तक पढ्दा केन्द्र र फिल्डमा काम गर्नेबीच दूरी देखिन्छ। यो दूरी किन छ र यसलाई कसरी घटाउन सकिन्छ?
नीतिगत तहमा काम गर्नेहरूलाई कामको चापाचाप हुन्छ। मैले त्यो सुझाव दिनुको कारण के हो भने फिल्डमा कसरी बसेका छन्, फिल्डमा के काम भइरहेको छ, आफैंले भोग्नुहुन्छ, देख्नुहुन्छ। त्यसो भयो भने हामीलाई हाँक्ने निकायले हाम्रो समस्या सजिलै बुझ्छ भन्ने मेरो तर्क हो।
संरक्षण प्रभावकारी बनाउन तलदेखि माथिसम्म समन्वय हुनुपर्छ। गेम स्काउटदेखि वन सचिवसम्मले काम गर्दा मात्र संरक्षणले सकारात्मक परिणाम दिन सक्छ। फिल्डमा राम्रो काम भए त्यसको जस आखिरमा वार्डेन, विभाग, मन्त्रालयले पाउने हो नि।
तपाईंले ठुटे हात्तीको अन्तिम क्षणको प्रसङ्ग पुस्तकमा उल्लेख गर्नुभएको छ। त्यो प्रसङ्ग संक्षेपमा बताइदिनुहुन्छ कि?
म बर्दिया निकुञ्जमा काम गर्दा कार्यालय पुगेकै दिनको राति माओवादी र सुरक्षाकर्मीबीच भिडन्त भयो। हताहती भएन। एक जना गेम स्काउटको श्रीमतीलाई छर्रा लाग्यो। भवन र गाडीमा क्षति पुग्यो। तैपनि म दुई वर्ष बर्दियामा बसें।
त्यही क्रममा एक दिन कार्यालयमा सिनियर रेन्जर रमेश थापाले लामाकोइली फाँटमा हात्ती थला परेको खबर आयो भन्नुभयो र हामी सबै त्यतैतिर हानियौं। बिरामी हात्तीको हेरचाह गर्न दुई दिनसम्म त्यहीं बस्यौं। केन्द्रबाट आएको डा. कमल गैरे लगायतको पशु चिकित्सकको टोलीले सक्दो गर्दा पनि उसको घाउ निको हुन सकेन र प्राण बिसायो।
यदि हामीले १० दिनअघि उसको घाउबारे थाहा पाएको भए केही हुन सक्थ्यो होला। तर, ऊ अशक्त भएर लामाकोइली फाँटमा आउँदा ढिला भइसकेको थियो। काँडा जस्तो केही बिझेर घाउ भई पाकिसकेछ। खानै नसक्ने गरी अशक्त भएको थियो।
त्यस्तै, अर्को दुःखद घटना गर्भिणी मृगको भएको थियो। म लाङटाङको ड्यूटीमा हुँदाको प्रसङ्ग हो। राति १० बजे सेनाले बोलायो। राजमार्गमा गर्भिणी मृग घाइते भएको खबर आयो। खुट्टा फटफटाइरहेको थियो। उपचार गर्न नपाउँदै मर्यो। साह्रै दु:ख लाग्यो। यसरी गर्भिणी मृग मर्नु हाम्रा लागि ठूलो चुनौती हो।
हाम्रो नीतिनियम कमजोर छ। संरक्षण क्षेत्रमा राति ११ बजेसम्म सडक खोल्नु दुःखदायी हो। जनताको सुविधाका लागि खोल्नु ठीकै होला, तर वन्यजन्तुको दृष्टिले राम्रो होइन। निकुञ्जको क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म खोल्ने नियम हो, तर पालना हुन सकेको छैन। हाम्रो ऐन एकातिर छ, कार्यनीति अर्कोतिर गइराखेको छ।
जनावर र मान्छेमा को ठूलो भन्ने कुरा आउला। दुवैसँगै जानुपर्छ। पारिस्थितिक सन्तुलन हुनुपर्यो।
यत्रो वर्ष संरक्षण कर्ममा लाग्दा तपाईंलाई गर्वलाग्दो क्षण चाहिं कुन हो?
२०७२ सालमा हामी जुगल हिमाल क्षेत्रमा यार्सागुम्बाको अनुज्ञापत्र दिन खटिएका थियौं। सेना सहितको ३२-३३ जनाको टोली थियो। हामीले ६ दिन काम गरेका थियौं, ६ दिनमा झन्डै ६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो। त्यही वेला भूकम्प गयो।
यस्तो कहालीलाग्दो अवस्था भयो कि हाम्रो रासन सबै पुरियो। मर्नु र बाँच्नुको दोसाँधमा परियो। त्यो वेला हामीलाई स्थानीय बासिन्दाले सहयोग गर्नुभयो। विशेष गरेर तेब्बाथाङका जनताले सहयोग गर्नुभयो। त्यसरी दुःखकष्ट सहेर पनि काम गरेको सम्झिँदा गर्व लाग्छ।
त्यस्तै रसुवामा मैले २५ वर्ष बिताएँ। त्यही क्रममा लाङटाङमा सल्लो काट्नेलाई कारबाही गर्ने पहिलो व्यक्ति पनि म नै थिएँ। साथै, डोल्पामा पुग्दा क्याराभान फिल्मका निर्माता-निर्देशक एरिक भ्यालीसँग पनि काम गर्न पाएको थिएँ।
किताबका कुराका थप सामग्री: