चक्र पूजा रोकिएपछि स्थानीय बासिन्दाद्वारा विरोध
गुठी संस्थानले बेवास्ता गर्दा चक्र पूजा रोकिएको भन्दै काठमाडौंको कीर्तिपुरका बासिन्दाले विरोध जनाएका छन्।
मत्स्येन्द्रनाथको रथयात्राका क्रममा काठमाडौंका उपत्यकाका विभिन्न स्थानमा चक्र पूजा हुने गरेको छ। यही क्रममा साँखु र भक्तपुरमा चक्र पूजा भएको छ।
कीर्तिपुरको बाघभैरवभन्दा माथि शुक्रबार चक्र पूजा हुने तयारी गरिएको थियो। तर, गुठी संस्थानको बेवास्ताले चक्र पूजा हुन नसकेको स्थानीय बुद्धिलाल महर्जनले बताए।
पूजा गर्न गएका योगी तथा नाथहरू पनि फर्किएका छन्। गुठी संस्थानले बेवास्ता गर्दा पूजा हुन नसकेको बृहत् आध्यात्मिक परिषद्का महासचिव योगी दयानाथले बताए। “पहिले काठमाडौंका १०८ ठाउँमा चक्र पूजा हुने गरेको थियो। अहिले दुई दर्जन ठाउँमा हुन्छ,” दयानाथले भने, “साँखु र भक्तपुरमा भयो, गुठी संस्थानले बेवास्ता गरेपछि आज कीर्तिपुरमा पूजा हुन सकेन।”
चक्र पूजामा बलि दिने गरिन्छ। यस पटक बलिका लागि गुठी संस्थानले बजेट लगायत व्यवस्थापनको काम नगरेको उनको भनाइ छ।