कहिले खुल्छ काठमाडौंको आकाश?
एक सातादेखि काठमाडौंको आकाश धूलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ भने तापक्रम पनि बढिरहेको छ।
मौसममा आएको फेरबदलले काठमाडौंको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ। मौसम बदलीसँगै अधिकतम तापक्रम निरन्तर बढिरहेकाले काठमाडौंमा निकै गर्मी महसूस गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार एक सातादेखि अधिकतम तापक्रम बढेर तराई क्षेत्रमा ४० देखि ४३ डिग्री हाराहारी पुगेको छ। आज सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ४२.३ डिग्री सेल्सियस छ। नेपालगञ्ज र जनकपुरको तापक्रम ३९ डिग्री सेल्सियस पुगेको छ।
काठमाडौंको अधिकतम ३३ र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस छ। बिहीबार काठमाडौंको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १५.८ डिग्री सेल्सियस थियो। काठमाडौंमा पछिल्लो एक सातादेखि अधिकतम तापक्रम ३० देखि ३३ डिग्री सेल्सियस पुगेको छ।
एकातर्फ अधिकतम तापक्रम वृद्धि भएको र अर्कातर्फ वन डढेलोका घटना पनि बढिरहेकाले वायु प्रदूषण बढेको हो। तापक्रम वृद्धि र वन डढेलोका घटनाले काठमाडौंसहित देशभर वायु प्रदूषण समेत बढेको विज्ञहरूको भनाइ छ।
वातावरणविद् भूषण तुलाधरका अनुसार सामान्यतः यो मौसम प्रदूषित हुने र पछिल्ला दिनमा देशका विभिन्न भागमा वन डढेलोका कारण वायु प्रदूषण बढेको हो। जलवायु परिवर्तनका कारण लामो समय पानी नपरेकाले वन डढेलोका घटना बढिरहेको र यसले वातावरणमा प्रत्यक्ष असर पुर्याइरहेको तुलाधरको भनाइ छ।
तापक्रम वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन्। सुक्खा खडेरीको बढ्दो क्रमसँगै बुधबार मात्र देशभर एकै दिन १७ जिल्लामा ३७९ स्थानमा डढेलो लागेको थियो। बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा ज्वलनशील पदार्थको प्रचुरता तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।
वन तथा भूसंरक्षण विभागले दिएको जानकारी अनुसार बुधबार एकै दिन ३७९ डढेलोका घटना जानकारीमा आएका छन्। वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ।
वायु प्रदूषण नियन्त्रणका लागि तत्कालै डढेलो नियन्त्रण र आगामी दिनमा यसको जोखिम न्यूनीकरणमा रणनीतिक योजना आवश्यक रहेको विज्ञहरू बताउँछन्। “यो तापक्रम बढ्ने वेला भए पनि बीचबीचमा बादल थपिंदा तापक्रममा केही कमी हुने वा उस्तै रहने अवस्था हुन्थ्यो, तर अहिले तापक्रम लगातार बढिरहेको छ,” मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारी भन्छन्। साथै नयाँ मौसमी प्रणाली विकास नहुँदा मौसम स्थिर रहेको अधिकारीको भनाइ छ।
अर्का मौसमविद् गोविन्द झा पश्चिमी वायुको सक्रियतासँगै स्थानीय वायुको प्रभाव देखिएकाले बदली र वर्षा गराएको बताउँछन्। बादल लागेर वर्षात् हुने भएकाले विगत केही दिनको तुलनामा अबका दिनमा तापक्रम क्रमशः घट्ने झाको भनाइ छ। “अबको केही दिनसम्म यही मौसमी प्रणाली कायम रहे पनि आइतबारदेखि क्रमिक रूपमा सुधार आउनेछ,” मौसमविद् झा भन्छिन्।
दुई वर्षअघि चैतमा वायु प्रदूषण अत्यधिक बढेकाले स्वास्थ्यमा हुन सक्ने जोखिमलाई दृष्टिगत गर्दै सरकारले चार दिन विद्यालय बन्द गरेको थियो। तराईमा तापक्रम वृद्धि भएसँगै ‘लू’ समेत चलेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तराईमा गर्मी बढेसँगै ‘लू’ बाट बच्न आग्रह गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै लू चल्न सक्ने भएकाले सबैलाई सतर्क रहन आग्रह गरे। मन्त्रालयले तातो हावा वा लूबाट बच्न दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कन परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न, फलफूलको रस र पानी पिउन तथा धेरै पसिना आएमा जीवनजल खाना आग्रह गरेको छ।
नेपालमा खासगरी माघदेखि जेठसम्म वनमा बढी डढेलो लाग्ने गरेको छ। विभागको तथ्याङ्क अनुसार यही वैशाख १ गते २६ जिल्लाका ११२, वैशाख २ गते आठ जिल्लाका २८, वैशाख ३ गते १२ जिल्लाका ३२, वैशाख ४ गते १० जिल्लाका ६४ र वैशाख ५ गते ३३ जिल्लाका १८० स्थानमा डढेलो लागेको थियो।
नेपालमा विशेषगरी तराई र भित्री मधेशका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका सहायक वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिन्छन्। पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलोबीचको दुष्चक्रीय अन्तरसम्बन्धले समस्या जटिल बन्नाका साथै डढेलोका घटना समेत वृद्धि हुँदै आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सन् २००८ देखि सन् २०२१ सम्म वन डढेलोका ३४ हजार ७२५ घटना घटेका छन्। (रासस)