बिरालो तीन लाखसम्ममा किनबेच, नजन्मिँदै ‘बूकिङ’
गाउँघरमा ‘म्याउँ म्याउँ’ गर्दै यताउता डुलिरहने बिरालो शहरमा भने शोखका रूपमा पाल्न थालिएको छ। माग बढेसँगै एउटा बिरालो तीन लाख रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
काठमाडौंको बानेश्वरमा बस्ने ३० वर्षीया आकृति श्रेष्ठ बिरालो भनेपछि हुरुक्कै हुन्छिन्। उनले ६० हजारको दरले पाँच वटा बिरालाका ङ्याउरा (बिरालाको बच्चा) पनि किनेकी छिन्। बिहान र साँझ उनी बिरालोसँगै खेल्छिन्।
आकृति दिनभर अफिसको काममा व्यस्त हुन्छिन्। कामबाट थकित भएर साँझ घर फर्किंदा बिरालाहरू काखमा आएर बस्छन्। अनि सारा थकान मेटिने उनी बताउँछिन्। “बिरालो सानैबाट मन पर्थ्यो, रहर लागेर बिरालो किनेर पालें। बिरालोको स्पर्श मात्रले पनि आनन्दित बनाउँछ,” उनी भन्छिन्। आकृति जस्तै बिरालालाई माया गर्नेको संख्या बढ्दो छ।
पर्सियन जातको बिरालो लोकप्रिय
ललितपुरको झम्सिखेलमा रहेको ‘एब्सट्र्याक्ट पेट्स’ मा विदेशी जातका पर्सियन, ब्रिटिश शर्ट हेयर, सायामिज, स्कटिश फोल्ड लगायत बिराला पाइन्छन्। यी बिराला भारत, थाइल्यान्ड, चीनबाट आयात गरिन्छन्। सञ्चालक पारस कपालीका अनुसार उनको पसलबाट अहिलेसम्म ३० हजारदेखि तीन लाख रुपैयाँसम्मको बिरालो बिक्री भएको छ।
बिरालाको मूल्य अनुहारको बनोट, आँखाको रङ, जात लगायतले निर्धारण हुन्छ। कपालीका अनुसार ब्रिटिश शर्ट हेयर, स्कटिश फोल्ड जातको बिरालालाई आयात गर्दा सात लाखसम्म पनि पर्छ। बिरालो ल्याउने उडान खर्च, भन्सार शुल्क लगायत खर्च पनि बिक्री मूल्यमा जोडिन्छ। तर, उनले सात लाखको बिरालो चाहिं अहिलेसम्म बिक्री गरेका छैनन्।
एब्सट्र्याक्ट पेट्सकै अर्की सञ्चालक संगम लामा नेपाली बजारमा पर्सियन जातको बिरालो लोकप्रिय रहेको बताउँछिन्। नेपालको हावापानीमा घुलमिल हुन सक्ने, नेपाल सरकारले पनि स्वीकृति दिएको जात भएकाले यो बजारमा सहजै पाइन्छ। अहिले त पर्सियन जातको बिरालो नेपालमै प्रजनन गरिने लामाले बताउँछिन्।
कास्कीको पोखरा महानगरपालिका-७ शान्तिनगरमा रहेको ‘मिस्टर पल पेट मार्ट’ का सञ्चालक सन्तोष गुरुङले बिरालो बेच्न थालेको चार वर्ष भयो। उनले पर्सियन जातको बिरालो मात्र बेच्छन्। “पहिले कुकुर पाल्ने धेरै थिए। अहिले बिरालो पाल्ने पनि बढ्दै गएका छन्। बिरालोको व्यापार राम्रो छ,” गुरुङ भन्छन्।
उनको पसलमा ४५ हजारदेखि एक लाखसम्मका बिराला पाइन्छन्। उनले भारत, रूस, चीन लगायत मुलुकबाट बिरालो आयात गर्दै आएका छन्। नेपालीसँगै विदेशीले पनि बिरालो किन्ने गरेको गुरुङ बताउँछन्।
पोखरा-६ लेकसाइडमा अवस्थित ‘पेट्स वर्ल्ड’ का सञ्चालक सविन अधिकारी ग्राहकले बिरालाको फोटो देखाएर विदेशबाट नै मगाउने गरेको बताउँछन्। अधिकांश ग्राहक युवा रहेको अधिकारी बताउँछन्।
नजन्मिँदै बिरालो बूकिङ
काठमाडौंको शंखमूलका भक्त महर्जन शोखले बिरालो पाल्थे। पछि शोखलाई व्यापार बनाए। बिरालाको भाले र पोथी ल्याएर ‘क्रस’ गराउन थाले। अहिले बिरालाका बच्चा बिक्री गर्न थालेका छन्।
काठमाडौंको शंखमूलमा उनको ‘पेट संसार’ नामको बिरालो पसल छ। पेट संसारमा विदेशी जातका एक्स्ट्रिम पन्च, डल फेस, सेमिपन्च जातका बिराला पाइन्छन्। यिनको मूल्य २० हजारदेखि दुई लाख रुपैयाँसम्म पर्छ।
महर्जनका अनुसार तीन महीना पूरा भएको ङ्याउरो मात्र बेच्न सकिन्छ। ग्राहकले फेसबूक, टिकटकमा हेरेर त्यहाँ देखेको जस्तै बिरालो ल्याइदिनू भनेर माग गर्दै आएको उनी बताउँछन्।
महर्जनका अनुसार ग्राहकले तीन साताअघिदेखि नै अग्रिम पैसा दिएर बिरालो मगाउने गर्छन्। तर, माग अनुसार बिरालो ल्याउन भने नसकेको उनी सुनाउँछन्। “कोराना महामारीले बन्दाबन्दी भएसँगै बिरालोको माग ह्वात्तै बढ्यो। अहिले त बिरालोको पेटमा बच्चा भएदेखि नै बूकिङ हुन्छ,” महर्जन भन्छन्।
महर्जनले जर्मन, इटाली र भारतबाट बिरालो आयात गर्छन्। बिरालाको रङ जति पृथक् भयो मूल्य उति नै बढी पर्ने उनी बताउँछन्। २०७९ सालमा महर्जनले दुई सय वटा बिराला बेचेका थिए। यो वर्षको वैशाखको पहिलो सातामै आठ वटा बिराला बेचिसकेका छन्।
किन बढ्यो बिरालाको माग?
पहिला बिरालो भनेपछि अशुभ ठान्ने र नजिक नै नपर्ने गरे पनि अहिले ग्राहक खोजी खोजी आउने गरेको एब्सट्र्याक्ट पेट्सकी सञ्चालक लामा बताउँछिन्। उनी बिरालाले जहाँ पायो त्यहीं दिसापिसाब नगर्ने, स्याहार पनि धेरै नचाहिने भएकाले पाल्न सजिलो हुने बताउँछिन्। बिरालोले ‘क्याट लिटर स्यान्ड’ मा बाहेक बाहिर दिसापिसाब गर्दैन।
“कुकुरलाई मानिसले पर्याप्त समय दिन सकेन भने कुकुरमा एन्जाइटी, डिप्रेशन जस्तो समस्या देखिन्छ, तर बिरालोमा त्यस्तो हुँदैन। बिरालो आत्मनिर्भर जनावर हो। मानिसको कमै समय पनि पर्याप्त हुन्छ,” लामा भन्छिन्।
एब्सट्र्याक्ट पेट्सकै कपालीका अनुसार सानो आकार र पाल्नलाई पनि सजिलो हुने भएकाले बिरालोको माग बढेको हो। स्वदेशीभन्दा विदेशी जातका बिरालाको स्वभाव शान्त र मिलनसार हुने भएकाले तिनको माग बढ्दै गएको उनी सुनाउँछन्।
मिस्टर पल पेट मार्टका गुरुङ विदेशबाट फर्केर आउने, यूट्यूब, फेसबूक जस्ता सामाजिक सञ्जालबाट प्रभावित हुनेहरूका कारण बिरालो पाल्ने ‘ट्रेन्ड’ बढेको हो। बिरालालाई कम समय दिएर पनि पाल्न सकिने पेट संसारका महर्जन बताउँछन्।
बिरालाको कपाल दिनमा एक पटक कोरिदिए पुग्छ। अर्को, बिरालाले दिनभरमा ६० प्रतिशत समय आफूलाई चाटेर बस्ने भएकाले यो अरू जनावरभन्दा सफा पनि हुन्छ।
बिरालो पालन बढ्नुमा शोख नै महत्त्वपूर्ण भए पनि कसैकसैले बिरालोलाई आत्मनिर्भरता र आत्मविश्वासको प्रतीक मानेर पनि किन्ने र पाल्ने गरेको महर्जन बताउँछन्।