उपचुनावका लागि निर्वाचन आयोगको पाँच बुँदे निर्देशन
प्रतिनिधि सभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले पाँच बुँदे निर्देशन जारी गरेको छ।
आयोगले शुक्रबार जारी गरेको निर्देशनमा चुनावी प्रचारप्रसार नगर्न सचेत गराइएको छ। वैशाख ७ गते राति १२ बजेदेखि वैशाख १० गते मतगणना सम्पन्न नभएसम्म प्रचारप्रसार निषेध गरिएको आयोगले जनाएको छ।
यससँगै निर्वाचन आचारसंहिता पालना गराउन विशेष संयन्त्र मार्फत सूक्ष्म अनुगमन गराउने व्यवस्था गरिएको आयोगले जनाएको छ। यसका लागि आयोगले अनुगमन समितिसँगै विशेष अनुगमन टोली पनि खटाएको छ।
मौन अवधि लागू भएसँगै कुनै पनि उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसार नगर्न आयोगले सचेत गराएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएमा कारबाही गर्ने आयोगले चेतावनी पनि दिएको छ।
आयोगको पाँच बुँदे निर्देशन:
१) नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, आयोगबाट खटिएका विशेष अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित र सघन अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षता कायम गर्ने।
२) उपनिर्वाचन हुने सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारकर्मी तथा निर्वाचनमा संलग्न व्यक्ति, संघ/संस्था र निकाय बाहेक निर्वाचन कार्यसँग असम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्ति र व्यक्तिहरूको अवाञ्छित आवागमन र अनधिकृत गतिविधिलाई कानून बमोजिम नियन्त्रण गर्ने।
३) बुँदा नं. २ मा उल्लिखित अवाञ्छित आवागमन र गतिविधि भई निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने।
४) निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसका रूपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनका लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुने जस्ता कार्य निर्वाचन कसूर भएकाले त्यस्तो कार्य कहींकतै भए/गरेको पाइए कानून बमोजिम तत्काल कारबाही गर्ने।
५) निर्वाचन आचारसंहिता, निर्वाचन आयोग तथा जिल्ला सुरक्षा समितिको निर्णय तथा अनुमति विपरीत निर्वाचनका क्रममा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले सवारी साधन प्रयोग गरेको पाइएमा त्यस्तो सवारी साधन मतदान सम्पन्न नभएसम्म कब्जामा लिई आवश्यक कारबाही गर्ने व्यवस्था मिलाउने।