कुशल र सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालको अहिलेसम्मकै उच्च स्कोर
कुशल मल्ल र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ।
एसीसी प्रिमियर कप अन्तर्गत शुक्रबार ओमन विरुद्धको खेलमा नेपालले ३१० रन बनाएको हो। यो नेपालको एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर हो।
यसअघि नेपालको उच्च स्कोर २९७ रन थियो। एक महीनाअघि त्रिवि क्रिकेट मैदानमै भएको पपुवा न्यूगिनी विरुद्धको खेलमा नेपालले २९७ रन बनाएको थियो।
त्यसअघि नेपालको उच्च स्कोर २८७ रन थियो। त्यो पनि त्रिवि मैदानमै यही वर्ष बनाएको थियो। दुई महीनाअघि भएको खेलमा नामिबिया विरुद्ध २८७ रन बनाएको थियो।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको शुरूआत राम्रो भएको थिएन। कुशल भुर्तेल र आसिफ शेख शून्यमै आउट भएका थिए।
त्यसपछि आएका भीम सार्की र रोहित पौडेलले नेपालको पारी सम्हालेका थिए। सार्कीले ५६ बलमा ३३ रन बनाए भने पौडेलले ३४ बलमा २३ रन बनाए।
दुवै जना आउट भएपछि धरमराएको नेपालको पारीलाई कुशल मल्ल र आरिफ शेखले सम्हालेका हुन्। मल्लले ६४ बलमा १०८ रन बनाए भने शेखले ४३ बलमा २९ रन बनाए। मल्लको यो पहिलो शतक हो।
दीपेन्द्रसिंह ऐरी सात रनमै आउट भएपछि आएका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे। कामीले ४८ बलमा ६३ रन बनाए। उनलाई करण केसीले साथ दिए। केसीले १५ बलमा २९ रन प्रहार गरे।
जसले गर्दा नेपाल एकदिवसीयमा अहिलेसम्मकै उच्च स्कोर बनाउन सफल भयो।