दुई करोड घूस मागेका सांसदलाई कारबाही गर्न ढिलाइ
‘कोर टीम’ लाई घूस खुवाउन भन्दै दुई करोड रुपैयाँ मागेका ढाकाकुमार श्रेष्ठलाई रास्वपाले कारबाही गरे पनि सांसदबाट हटाउने प्रक्रिया पर्याप्त कागजातको अभावमा अगाडि बढ्न सकेको छैन।
व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घूस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद श्रेष्ठलाई चैत ३० मा पार्टीबाट निष्कासन गर्यो। श्रेष्ठ विरुद्धको पत्र वैशाख ३ गते दर्ता भएको सचिवालयले जनाएको छ। त्यस हिसाबले वैशाख १८ सम्म उनी पदमुक्त भइसक्नुपर्छ।
सचिवालयका अनुसार‚ श्रेष्ठलाई सांसदबाट हटाउन आवश्यक कतिपय कागजपत्र रास्वपाले पठाइसकेको छैन। श्रेष्ठसँग पार्टीले स्पष्टीकरण सोधेको, छानबिन समितिको प्रतिवेदन, पार्टीको निर्णय लगायत कागजपत्र प्राप्त नभएको हो।
सचिवालय सचिव रोजनाथ पाण्डे कतिपय कागजपत्र आउन बाँकी रहेको बताउँछन्। उनी भन्छन्, “उहाँको विषयमा कानूनी परामर्श पनि जारी छ।”
रास्वपाका प्रवक्ता डा. मुकुल ढकाल भने पार्टीको तर्फबाट ढिलासुस्ती नभएको बताउँछन्। “हामीले निष्कासित गरेको पत्र दिइसकेका छौं, पहिलो घटना भएकाले सचिवालयले छलफल गरेर कुन कुन कागज चाहिने हो खबर गर्छौं भनेको थियो, तर गरेको छैन‚” उनी भन्छन्, “उहाँहरूले सूची पठाए हामी सबै कागज दिन तयार छौं।”
संसद् सचिवालयका पूर्व सचिव मुकुन्द शर्मा भने केन्द्रीय समितिको निर्णय र अधिकारप्राप्त अधिकारीको हस्ताक्षर सहितको पत्र भए पदमुक्त गर्न समस्या नपर्ने बताउँछन्। ट्रान्सपरेन्सी इन्टरन्याशनल नेपालका पूर्व अध्यक्ष खेमराज रेग्मी सांसद श्रेष्ठले भ्रष्टाचार गर्ने उद्योग गरेकाले भ्रष्टाचारीलाई हुने सजायको आधा सजाय हुने बताउँछन्। उनी भन्छन्, “उहाँको अपराध हेर्दा पदमुक्त हुने देखिन्छ, तर प्रक्रिया भने पूरा गर्नै पर्दछ।”