संरक्षक समुदाय
समुदायले जोगाएको रैथाने ज्ञानलाई प्रकृतिले साथ दिँदा पर्यावरणीय पुनरुदयसँगै समुदायको शक्ति पनि पुनःपुष्टि भएको छ।
२०१६ सालमा वनस्पति विज्ञानमा स्नातक सकेर वनस्पति विभागमा काम थालेपछि मेरो व्यावसायिक जीवन नेपालको वनस्पति र वनजङ्गलमै व्यतीत भयो। कामको सिलसिलामा गाउँठाउँ डुल्दै जाँदा नेपाल समुदायको शक्तिमा टिकेको रहेछ भन्ने भेउ पाएँ। समुदायको त्यही शक्तिलाई सरकारले योजनाबद्ध तवरमा विकास कार्यमा उपयोग गर्दा नचिताएकै उपलब्धि भए।
यस्तो प्रयत्नको शुरूआत पोखरा मत्स्य विकास केन्द्रबाट भएको थियो। फेवातालको माछा संरक्षण गर्न तथा माछा मारेर जीविकोपार्जन गर्ने समुदायको दिगो जीविकाका लागि यस्तो अभ्यास भएको थियो। परिणामस्वरूप, माछा संरक्षण हुनुका साथै स्थानीय समुदायले आयआर्जनको दिगो उपाय पनि फेला पार्यो। नेपालको विकास पहलमा समुदायलाई संलग्न गराउनुपर्छ भन्ने अवधारणा चाहिं विहारीकृष्ण श्रेष्ठले जुम्लाका स्थानीयले कुलो संरक्षण गरेको अनुभवका आधारमा केन्द्रीय योजनाहरूमा लागू गराउनुभएको हो। जुन सामुदायिक वनको अवधारणाका रूपमा विकसित भयो।
अनुभव र अभ्यास
२०१४/१५ सालमा वनलाई सरकारीकरण गरिसकेपछि नेपालको मध्यपहाडबाट धमाधम रूख काटिएका थिए। भात पकाउन, घाँसदाउरा गर्न र घर बनाउन पनि वनको उपयोग गर्दा नेपाल विनाशको बाटोमा लम्किएको भविष्यवाणी वैज्ञानिकहरूले गरे। वृक्षरोपण नगरी धमाधम रूख काटिँदा नाङ्गो पहाडको माटो बगेर जानेछ र पहाडी क्षेत्र ध्वस्त हुनेछ भन्ने निचोड प्रस्तुत गर्दै सन् १९७६ मा एरिक पी. एल्कहोल्मले लुजिङ ग्राउन्ड पुस्तक नै प्रकाशित गरेका थिए। मनसुनमा नेपालमा पर्ने ठूलो पानीका कारण पहाडी माटो बगेर बंगालको खाडीमा पुग्छ भन्ने तर्क थियो उनको। त्यस्तै चेतावनी दिनेमा नेपाल डुलेका टोनी हागन र मेरा प्रोफेसर डोब्रोमेज पनि थिए।
नेपालको विकास पहलमा समुदायलाई संलग्न गराउनुपर्छ भन्ने अवधारणा चाहिं विहारीकृष्ण श्रेष्ठले जुम्लाका स्थानीयले कुलो संरक्षण गरेको अनुभवका आधारमा केन्द्रीय योजनाहरूमा लागू गराउनुभएको हो।
त्यसपछि नेपालले नीति परिवर्तन गरेर समुदायलाई नै संलग्न गराई नाङ्गो पहाडमा वृक्षरोपण थाल्दा धेरैजसो ठाउँमा सल्लाका रूख लगाइए। नाङ्गो र सुक्खा ठाउँमा अरू वृक्ष नहुर्किने भएकाले सल्ला लगाइएको थियो। वृक्षरोपण गर्दा नेपाली मात्र नभई अस्ट्रेलियाबाट झिकाइएका सल्ला पनि लगाइए। यसरी सल्ला रोप्दा अरू वनस्पतिदेखि जीवजन्तु र चराचुरुङ्गी पनि भएनन् भन्ने आलोचना पनि भयो। त्यस्तो आलोचना केही अघिसम्म हुने गरेको थियो। तर, सल्लाका जङ्गलहरू अहिले फेरिइसकेका छन्। सन् १९७४/७५ तिर रसुवादेखि रक्सौलसम्मको वनजङ्गलको अध्ययन गर्दा र अहिलेको अवस्था हेर्दा दृश्य अर्कै छ। नागार्जुनकै वनमा पनि पहाडको शिरमा बाहेक जताततै सल्लाकै जङ्गल थियो। अहिले त्यहाँ कटुस र चिलाउनेको जङ्गलले ढाकिसकेको छ। अन्यत्र पनि त्यस्तै देखिन्छ।
यो प्रकृतिबाट पाएको वरदान हो। विज्ञानको भाषामा ‘क्लाइमेटिक क्लाइमेक्स’ भनिने नेपालको मध्यपहाडको वनको उच्च बिन्दु चिलाउने र कटुसको जङ्गल हो। बिस्तारै नेपालका मध्य तथा पूर्वी पहाडका जङ्गल कटुस र चिलाउनेको जङ्गलमा रूपान्तरण भइरहेका छन्। हामीले जङ्गललाई व्यवधान नपुर्याउँदा प्रकृति स्वतस्फूर्त आफ्नो दिशामा बढेको हो। सुइरे पात हुने ‘कोनिफर फरेस्ट’ चौडा पात हुने ‘ब्रोड लीफ फरेस्ट’ मा रूपान्तरण हुनुमा सल्लाको वृक्षरोपणको योगदान छ। यसलाई समुदायले गरेको कामलाई प्रकृतिले दिएको साथका रूपमा हेर्नुपर्छ। परिणाम- पर्यावरण र समुदाय दुवैको पुनरुदय भयो।
त्यस्तै राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि समुदायले राम्रो काम गरेको छ। विगतमा सधैं तनाव रहने मध्यवर्ती क्षेत्रले अहिले होमस्टेदेखि संरक्षणका अन्य नवीन प्रयास गरिरहेछ। गाउँ गाउँमा आमा समूहहरूले चलाएका होमस्टे पनि हाम्रो सामुदायिक प्रयत्नका उदाहरण हुन्।
नमूना नेपाल
नेपाललाई धान्ने अर्को शक्ति साना किसानहरूको निर्वाहमुखी खेती प्रणाली हो। पहाडी क्षेत्रका नेपाली किसानले हासिल गरेको गरा–कान्ला बनाउने सीप हासिल अद्वितीय छ। एउटै पाखोमा एउटा भित्र फर्केको पानी अडिने र अर्को बाहिर फर्केको पानी नअड्ने गरा बनाउने अनौठो विधि नेपाली किसानले जानेका छन्। एकातिर पानी जम्ने, अर्कातिर पानी नअडिने भिरालीहरू बनाइएका छन्। सन् १९८६ तिर मैले संखुवासभाका एक किसानलाई किन यस्तो गरेको भनेर सोधेको थिएँ। भित्र फर्केको पानी जम्ने गरामा धान र बाहिर फर्केको पानी नजम्ने गरामा कोदो लगाउन त्यसो गरिएको रहेछ। कथङ्कदाचित् पानी नपरे मकै र कोदोले गर्जो टार्ने विकल्पका रूपमा यस्तो विधि विकास गरिएको रहेछ। खाद्य सुरक्षाको यो वैज्ञानिक विधि देखेर विदेशीहरू छक्क पर्ने गरेका छन्।
नेपाललाई धान्ने अर्को शक्ति साना किसानहरूको निर्वाहमुखी खेती प्रणाली हो। पहाडी क्षेत्रका नेपाली किसानले हासिल गरेको गरा–कान्ला बनाउने सीप हासिल अद्वितीय छ।
संखुवासभामा मकालु वरुण राष्ट्रिय निकुञ्ज स्थापनार्थ सम्भाव्यता अध्ययन गर्न अमेरिकी विज्ञ जोन क्रेगहेडसँग म त्यहाँ गएको थिएँ। एक/डेढ घण्टाको हेलिकोप्टर उडानपछि उनलाई ‘नेपाल कस्तो लाग्यो’ भनेर सोधेको थिएँ। उनले नेपाल हिमाल, शेर्पा र गोर्खाहरूको देश भन्ने पढेर आएका थिए। त्यसमा उनले एउटा उपमा थपे– ‘नेपाल इज द ल्यान्ड अफ बिलियन टेरेसस्’ (नेपाल करोडौं गरा–कान्लाहरूको देश हो)। पानीभित्रको माछाले पानीको परख गर्न नसके जस्तै हामी पनि हाम्रो रैथाने सीपबारे अनभिज्ञ रहेछौं।
उनले हेलिकोप्टरबाट देख्दा नेपाली किसानले औजार लगाएर गरा बनाएको भन्ठानेका रहेछन्। त्यो सबै काम हातैले गरेको भन्ने थाहा पाएपछि उनी चकित परे। पाखुरीकै बलले यत्रो पहाड ताछ्ने आँट नेपालीले कहाँबाट पाए भनेर उनी आश्चर्यमा परेका थिए। उनीसँगै म पनि झल्याँस्स भएँ, आखिर यो पनि त नेपाली सामुदायिक शक्ति हो नि। पछि जोनले विद्यार्थीलाई नेपालको स्थलगत अध्ययन गर्न पठाए। उनका विद्यार्थीले त्यहाँका स्थानीय किसानसँग १५ दिन जति स्थानीय सीप, प्रविधि र ज्ञान सिकेर गए। पछि एउटा सेमिनारका लागि इथियोपिया पुग्दा नेपालमा काम गरेका स्वीस भेटिए। त्यहाँ उनीहरूले ‘माटो जोगाउन नेपालमा यसो गर्ने गरिएको छ’ भन्दै नेपाली किसानले अपनाएको विधि सिकाएको देखेपछि मलाई गरा–कान्ला बनाउने नेपाली रैथाने सीप त धेरै महत्त्वपूर्ण रहेछ भन्ने लाग्यो।
नेपाली किसानको रैथाने ज्ञानको अर्को उदाहरण, एकपटक लेकतिर पुगेको वेला सम्म पारिएको ठाउँमा मकै लगाइएको देखें। बारीमा गिर्खे ढुङ्गा टन्नै थियो। मैले सोधें, “यत्रो ढुङ्गा त छानिसक्नुभएको रहेछ, यति पनि छानेर माटो मात्रै राखे हुन्नथ्यो?” बारीबाट ढुङ्गा पन्छाए माटो मात्र बाँकी हुन्थ्यो, उब्जाउ राम्रो होला भन्ने मेरो बुझाइ थियो। उनीहरूले भने, “ढुङ्गा पन्छाए त मकै नै उम्रँदैन।” दिउँसो घामले तातेको ढुङ्गाले राति त्यो तापमान कायम राख्दो रहेछ।
जोगाऔं समुदाय
स्वीसहरूले इथियोपिया लगेको अर्को नेपाली प्रविधि रूख हुर्काउने विधि हो। कुनै बिरुवा काष्ठ पैदावारका लागि रोपेपछि त्यसलाई दाउरा बनाउने कि खाँबो बनाउने हो त्यसै अनुसार हुर्काउन पर्दो रहेछ। खाँबो बनाउने हो भने रूखलाई छिमल्दै जाने जसले गर्दा त्यो सुरिलो हुँदै जान्छ। दाउराका लागि रोपेको हो भने अलि फेदतिरै काटिदिने, त्यसो गर्दा झिँझो भएर रूख फैलिन्छ।
स्वीसहरूले इथियोपियामा माटो जोगाउन नेपाली किसानले अपनाएको विधि सिकाएको देखेपछि मलाई गरा–कान्ला बनाउने नेपाली रैथाने सीप त धेरै महत्त्वपूर्ण रहेछ भन्ने लाग्यो।
स्वीसहरूले यो विधि स्थानीय महिलाहरू मार्फत सिकेका रहेछन्। रूखलाई किन ठूला हुन नदिई झिँझो हुने गरी काटेको भन्दा स्थानीय महिलाले भनेछन्, “घाँसदाउरा गर्न, हँसिया-आँसीले काट्न मिल्ने जत्रो दाउरा पो काम लाग्छ। ठूलो रूख के काम?”
समुदायले जोगाउँदै आएका यस्ता रैथाने ज्ञान गाउँठाउँमा अनेकौं छन्। तर, हाम्रो आधुनिक विकासका कारण यी हराउँदै गएका छन्। समुदायले जोगाएको रैथाने ज्ञान हामीले जोगाउनुपर्ने थियो, सकेनौं। अहिले चौंरी चराउने युवाहरू उँट चराउन जाँदा उनीहरूसँगै हाम्रो संस्कृति/संस्कार पनि गयो। युवा विदेशिए भन्ने पीर सबैले लिएको देखिन्छ, तर रैथाने ज्ञान गयो भन्ने पीर कसैले लिएको देखिँदैन।
अचेल हरेक वर्ष जङ्गली च्याउ खाएर मान्छे मरे भन्ने समाचार आउँछ। विगतमा त्यस्तो हुँदैनथ्यो किनभने पहिलेका बूढापाकाले च्याउ चिनेका थिए। यो रैथाने ज्ञान पशुमा पनि लागू हुने रहेछ। जुम्लाको गुठीचौरमा भएको भेडाफर्ममा अस्ट्रेलियाबाट भेडा ल्याइयो। विदेशी भेडाका बच्चा विषालु जडीबुटी खाएर मरे। तर, स्थानीय भेडाको बच्चाले खाएन। यो ज्ञान आमाको दूध मार्फत सन्तानमा जाँदो रहेछ।
नेपालको कृषि धानिएको नै निर्वाहमुखी किसानहरूको प्रयासले हो। त्यो प्रयासलाई भरथेग गर्ने र टेको दिने प्रयास गर्नुपर्छ। बालीको विविधीकरण गर्न सक्दा मात्र कृषि दिगो हुन्छ। यसका लागि सामुदायिक वनको जस्तै सामुदायिक अवधारणामा काम गर्नुपर्छ। त्यसो भए अहिले भइरहेको बिचौलियाको समस्या पनि समाधान हुन्छ।
(वनस्पतिविद् श्रेष्ठका नेपालः नखुलेका पाटा, नेपाल अध्ययन भाग १ र २ लगायत पुस्तक प्रकाशित छन्। हिमालको २०८० वैशाख अङ्कबाट।)