उपनिर्वाचनका लागि मौन अवधि लागू
वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि मौन अवधि लागू भएको छ।
निर्वाचन आयोगका अनुसार‚ वैशाख ७ गते राति १२ बजेदेखि मौन अवधि लागू भएको हो। बारा-२, तनहुँ-१ र चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि लागू गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेल मौन अवधि रहन्छ।
४८ घण्टाभित्र निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाइँदैन। त्यस्तै‚ उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबूक, भाइबर जस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको आयोगले जनाएको छ।
साथै निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसार जस्ता कार्य नगर्न/नगराउन आयोगले आग्रह गरेको छ।