राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार हुँदै
भारतमा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भइरहेको जनाइएको छ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ। राजदूतावासले बिहीबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।’
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई वैशाख ६ गते बिहान भारतको नयाँ दिल्ली लगिएको थियो। उनको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भइरहेको छ।
एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनित मिश्र नेतृत्वको टोलीले राष्ट्रपति पौडेलको उपचार गरिरहेको छ।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल वैशाख ५ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। भारतको एम्स अस्पतालका चिकित्सकसँग परामर्श गरेपछि त्रिवि अस्पतालका चिकित्सकले थप उपचारका लागि भारत लैजान सल्लाह दिएका थिए।