बेलिब्रिज भाँचिंदा ज्यान गुमाएका मजदूरको सनाखत, गम्भीर घाइतेलाई नेपालगञ्ज लगियो
ठूलीभेरी नदीमाथि निर्माणाधीन बेलिब्रिज भाँचिंदा ज्यान गुमाएका दुवै जनाको सनाखत भएको छ।
भेरी करिडोर अन्तर्गत ठूलीभेरी नदीमाथि निर्माणाधीन बेलिब्रिज बिहीबार दिउँसो भाँचिएको थियो। बेलिब्रिज भाँचिंदा दुई जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए।
मृत्यु हुनेमा भारतको बहराइचका ४० वर्षीय प्रशान्त राजकुमार र ३० वर्षीय धर्मेन्द्र हरिजन चमार रहेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले बताए।
दुर्घटनामा क्रेन चालक नवलपरासीका २६ वर्षीय निरजकुमार चौधरी, भारतको बहराइचका ५० वर्षीय मैकु गौतम, ३० वर्षीय गोरखनाथ, २५ वर्षीय सञ्जय गौतम, १९ वर्षीय सोनु चमार, ४९ वर्षीय गोपाल चमार र ६० वर्षीय राजकुमार हरिजन चमार घाइते भएका छन्।
उनीहरूमध्ये गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमा बाँकेको नेपालगञ्ज लगिएको छ। त्यस्तै, सामान्य घाइते चार जनाको जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीस्थित अस्पतालमा उपचार भइरहेको छ।
जाजरकोटको नलगाड नगरपालिका-१२ र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-४ जोड्ने ठूलीभेरी नदीमाथि बनिरहेको बेलिब्रिज भाँचिएको हो। मृतक र घाइते बेलिब्रिज निर्माणमा संलग्न मजदूर हुन्।