पूर्व गोर्खाका मागबारे फेरि छलफल गर्न बेलायत सहमत
समान सेवासुविधा पाउनुपर्ने पूर्व गोर्खा सैनिकको मागबारे आउँदो भदौ-असोज (सेप्टेम्बर)मा फेरि छलफल हुने भएको छ।
वैशाख ६ गते लन्डनमा पूर्व गोर्खा सैनिक सहित नेपाल र बेलायतबीच भएको वार्तामा फेरि छलफल गर्ने सहमति बनेको हो। बैठकमा गोर्खा सैनिकले पाउनुपर्ने पेन्सन र कल्याणकारी सुविधाको हालसम्मको प्रगतिबारे समीक्षा भएको बेलायतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य नेतृत्वको नेपाली टोलीले बेलायतको रक्षा राज्यमन्त्री एन्ड्र्यू मोरिसनको टोलीसँग वार्ता गरको हो।
बेलायती सेनाले भन्दा ज्यादै थोरै तलब, पेन्सन र कल्याणकारी सुविधा दिएर आफूहरूलाई विभेद गरेको भन्दै पूर्व गोर्खा सैनिकले भोकहडताल लगायत आन्दोलन गर्दै आएका छन्। सन् २०१८ मा नेपाल र बेलायत दुवै पक्ष सम्मिलित प्राविधिक समितिले गोर्खा सैनिकको माग सम्बोधन गर्नुपर्ने राय सहितको प्रतिवेदन तयार गरेको थियो। तर, त्यसपछि बेलायत छलफलमा बस्न तयार भएको थिएन।
प्रतिवेदन बनेको चार वर्षपछि ३ नोभेम्बर २०२२ मा पहिलो बैठक बसे पनि प्रगति भएको थिएन। दोस्रो बैठकमा भने गोर्खा सैनिकको मागबारे बेलायत छलफल गर्न तयार भएको भन्दै सत्याग्रह आन्दोलनका अभियान निर्देशक ज्ञानराज राईले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए।
यसअघि बेलायतले फनफनी नचाइरहेको बताएका राई यस पटकको छलफलपछि भने आशावादी देखिएका छन्। “यो समस्या टुङ्ग्याउनुपर्छ भनेर बेलायतीहरू अजेन्डामा छलफल गर्न तयार भएका छन्,” राईले हिमालखबरसँग भने, “अब सेप्टेम्बरमा ठोस निर्णय हुने गरी छलफल होस् भन्ने हाम्रो चाहना छ। वार्ता हामीलाई अलमल्याउने माध्यम नबनोस्।”
प्राविधिक समितिको प्रतिवेदनले गोर्खा सैनिकका १३ वटा माग लिपिबद्ध गरेको थियो। सेवारत र अवकाशप्राप्त गोर्खा सैनिक र बेलायती सैनिकले पाउने सेवासुविधाबीच ठूलो अन्तर रहेको भन्दै गोर्खा सैनिक लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।