गाउँपालिकाका पूर्व अध्यक्ष सहित २३ जना विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्व अध्यक्ष सहित २३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
दुई वटा योजनामा भ्रष्टाचार गरेको अभियोगमा बिहीबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए। लक्ष्मीपुर पतारी गाउँपालिका–४ धन्छुवारको पश्चिम कटनियाँ नयाँ नदीमा पुल तथा कल्भर्ट निर्माण पूरा नगरी रकम निकासा गरेको पाइएको आयोगले जनाएको छ। यसमा उपभोक्ता समिति, जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा पाँच लाख २८ हजार ४४० रुपैयाँ निकास गरिएको पाइएको छ।
त्यही पुल तथा कल्भर्टको बाँकी काम पूरा गर्ने भन्दै फेरि २६ लाख ४६ हजार २७ रुपैयाँ निकासा गरिएको पाइएको छ। तर, दुई पटक योजना पार्दा पनि काम पूरा नभएको र निर्माण सम्पन्न गर्न नसकिने अवस्थामा रहेको आयोगको ठहर छ।
यसमा आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह विरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको हो। त्यस्तै तत्कालीन उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत लगायत कर्मचारी र सम्बन्धित वडाका वडाध्यक्षलाई विपक्षी बनाइएको छ।