एसीसी प्रिमियर कप: मलेशिया र बहराइनको शानदार जित
एसीसी प्रिमियर कप अन्तर्गत बिहीबार भएको खेलमा मलेशिया र बहराइनले शानदार जित हासिल गरेका छन्।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेशियाले साउदी अरबलाई आठ विकेटले पराजित गरेको छ। साउदी अरबले दिएको १५४ रनको लक्ष्य मलेशियाले २१.२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो।
मलेशियाका लागि मुहम्मद अमीर र विरनदीप सिंहले अर्धशतक प्रहार गरे। अमीरले ४४ बलमा ५६ रन बनाए भने सिंहले ५३ बलमा ५१ रन बनाए।
साउदी अरबका लागि जैन अल अबिदिनले दुई विकेट लिए। अन्य बलरले विकेट लिन सकेनन्।
यसअघि ब्याटिङ गरेको साउदी अरबले ४६.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो। साउदीका लागि हसीब गफूरले ४० र अब्दुल वाहिरले ३६ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
मलेशियाका लागि खिजर हयातले तीन, मुहम्मद वाकिफ, रिजवान हैदर र अनवर रहमानले दुई–दुई विकेट लिए।
त्यस्तै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बहराइनले सिंगापुरलाई १३२ रनले पराजित गरेको छ। बहराइनले दिएको २८७ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ४३.१ ओभरमा १५४ रनमै समेटियो।
सिंगापुरका लागि सुरेन्द्र चन्द्रमोहनले अर्धशतक प्रहार गरे। उनले ६६ बलमा ५१ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बहराइनका लागि इमरान अनवरले चार, रिजवान बटले तीन, अब्दुल मजिदले दुई र अलि दावूदले एक विकेट लिए।
यसअघि ब्याटिङ गर्दै बहराइनले आठ विकेटको क्षतिमा २८६ रन बनाएको थियो। बहराइनका लागि फियाज हमदले ७९, सहबाज बादरले ७६ र सोयल हमदले ४६ रन बनाए। सिंगापुरका लागि रमेश कालिमुथु, थिलिपन ओमइदुराइ र विनोथ बास्करनले दुई–दुई विकेट लिए।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा नेपाल र ओमन तथा मूलपानी क्रिकेट मैदानमा हङकङ र यूएईबीच प्रतिस्पर्धा हुनेछ।