भेरीको बेलिब्रिज भाँचिंदा दुई जनाको मृत्यु
भेरी नदीमाथि निर्माणाधीन बेलिब्रिज भाँचिंदा दुई जनाको मृत्यु भएको छ।
भेरी करिडोर अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका-१२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज बिहीबार दिउँसो भाँचिएको हो। जिल्ला प्रहरी कार्यालय, जाजरकोटका अनुसार दुई जनाको मृत्यु भएको छ।
दुवै जनाको घटनास्थलमै मृत्यु भएको खबर आएको प्रहरीले जनाएको छ। उनीहरूको सनाखत हुन सकेको छैन। दुवै जना मजदूर हुन्।
दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। उनीहरूको राडीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको आठबीसकोट नगरपालिकाका पूर्व मेयर गोरखबहादुर केसीले बताए। घटनास्थलमै रहेका उनले उद्धार कार्य जारी रहेको बताए।