यस्तो छ बारा-२ को चुनावी गणित
बारा-२ का मतदाताले आफ्ना क्षेत्रबाट निर्वाचित नेताले सडक‚ स्वास्थ्य‚ शिक्षा र कृषि क्षेत्रमा काम गरिदिओस् भन्ने चाहना राखेका छन्।
वैशाखको चर्को घाम। बाराको महागढीमाई नगरपालिका-८ का जोलगावाका विजयप्रसाद यादव साइकलमा कलैया पुगेर फर्कंदै थिए। उनी११ किलोमिटर टाढा रहेकाे कलैया प्रादेशिक अस्पताल पुगेर फर्केका हुन्। सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बरियारपुरको पसाहा पुलस्थित चेक पोइन्टछेउको शीतल छहारीमा सुस्ताउँदै उनी भन्छन्‚ “यता आँखाको अस्पताल छैन। साना साना स्वास्थ्य समस्याका लागि पनि कि कलैया कि वीरगञ्ज पुग्नुपर्छ।”
वैशाख १० गते बारा-२ मा उपनिर्वाचन हुन लागेको विजयलाई थाहा छ। खेतीपातीमा व्यस्त उनलाई चुनावी हावाले त्यति छोएको छैन। तर‚ विगतमा नेताहरूले भोट लिएर गएपछि गाउँ फर्किएर नआएको उनलाई थाहा छ। त्यसैले अब त्यस्ता उम्मेदवारलाई भोट नदिने उनले सुनाउँछन्।
“गाउँमा कच्ची सडक छ। नाला छैन। पानी पर्दा निकास छैन। घुँडा घुँडासम्म पानी जम्छ। खेतमा गहुँ रोप्दा गहुँ नै खत्तम हुन्छ‚ मकै रोप्यो मकै,” विजय भन्छन्, “न विद्यालय राम्रो छ न पढाइ गतिलो हुन्छ। गाउँमा पक्की सडक बनाउने, अस्पताल, स्कूल बनाउने, गाउँसमाजमै बस्ने व्यक्तिलाई भोट दिने हो।”
सुवर्ण गाउँपालिका-३ चारमोहनाका सरजु यादव किसान हुन्। उनलाई मलखाद, बीउबीजनको समस्याबाट मुक्ति चाहिएको छ। “नालाको समस्या त छँदै छ, खेती किसानी गर्ने मान्छेलाई मलखाद, बीउबीजनको समस्या छ,” उनी भन्छन्, “सरकारी अनुदानको रासायनिक मल पाइँदैन। कि व्यापारीसँग लिनुपर्छ कि भारत बिहारको सीमावर्ती शहर छौडादानोबाट ल्याउनुपर्छ। अबको नेतृत्वले यसबाट मुक्ति देओस् भन्ने छ।”
तर‚ चुनावी अभियानमा आएका नेताहरूले जनताको कुरा सुनिरहेका छैनन्। “आउँछन्, प्रणामपाती गर्छन्, जान्छन्,” सरजु भन्छन्, “कार्यकर्ताको घेरामा बस्छन्, हामी जनताको कुरा सुन्ने फुर्सद नै छैन।”
सिमरा गछियाका विनोद गिरीलाई चुनाव व्यवसायमा परिणत भइसकेको जस्तै लाग्छ। विनोद भन्छन्‚ “चुनावमा लगानी गर्ने र जितेर गएपछि त्यसको ब्याज सहित असुल उपर गर्ने।”
यादव र कुसवाहा मुख्य प्रतिस्पर्धी
नेपाल राष्ट्रिय निमावि बरियारपुर सेमराको सामुन्नेमा रामजानकी मन्दिर छ। मन्दिर छेउको पीपलको छहारीमा दुई समूह बाँडिएर पाका उमेरका मानिस तास खेलिरहेका थिए। चुनावी अभियानमा विभिन्न दलका समर्थक भए पनि उनीहरू तास खेल्दा सँगै बस्छन्।
चुनावी चर्चा पनि गर्छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुसवाहामध्ये एकले चुनाव जित्ने उनीहरूको अनुमान छ।
स्थानीय राजेश यादवका अनुसार गाउँमा ‘उपेन्द्र यादव र सिके राउतलाई मत दिन्छौं’ भन्ने मानिसहरू बढी भेटिन्छन्। संगठन र धनबलमा बलिया रहेका उपेन्द्रलाई सीके राउतको साथ पाएका शिवचन्द्रले नै टक्कर दिने अनुमान स्थानीयको छ। बारा-२ मा १२ जना राजनीतिक दलका र स्वतन्त्र गरी ३६ जना उम्मेदवार चुनावी मैदानमा छन्।
विकासका लागि संघको आश
महागढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा गत फागुन ८ गते सरुवा भएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत चैत १५ गते रोशन ज्ञवालीलाई पठाइएको भनी पत्र पठायो। तर‚ नगरपालिका कार्यालयमा अहिलेसम्म उनको अत्तोपत्तो छैन।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना र लेखाका सम्पूर्ण काम ठप्प भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत कृष्ण सर्राफ बताउँछन्। सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन। कर्मचारीले माघ, फागुन र चैतको तलब पाएका छैनन्।
योजना अधिकृत वीरबहादुर साह योजना धमाधम सम्झौता गर्ने समयमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा ९५ प्रतिशत योजनाको काम अघि बढ्न नसकेको बताउँछन्। “बरियारपुरमा १६ करोडको लागतमा १५ शय्याको अस्पताल बनाउने योजनाको टेन्डर गरेका थियौं, कार्यालय प्रमुख नहुँदा सम्झौता गर्न सकिएन,” उनी भन्छन्‚ “तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतको ४० लाखको योजना पनि अघि बढाउन सकिएन। ९५ प्रतिशत योजना प्रभावित छन्।”
स्थानीय सरकारले विकास गर्न नसकेकाले ती काम संघीय सरकारबाट होस् भन्ने स्थानीयको अपेक्षा छ। तर‚ विगतमा नेताले चुनावमा वाचा गर्ने र चुनाव जितेपछि बिर्सने गरेको बरियारपुरका बासिन्दाको गुनासो छ।
“सडक र नालाको समस्या ठूलो छ, पानी पर्दा हिंडडुल गर्न धेरै गाह्रो हुन्छ, सबैतिर सडक पनि विस्तार हुन सकेको छैन,” स्थानीय जयनाथ चौधरी भन्छन्, “अहिले नै गाडीबाट नमस्कार गरेर गइरहेका छन्, कुर्सी पाएपछि झन् फर्केर आउँदैनन्।”
रामपुकार गिरी आफ्नो ठाउँमा मलखाद, नालाको समस्या रहेको सुनाउँछन्। विद्यालयको एउटा कोठामा स्वास्थ्य चौकी रहेको र विद्यालयको भवन पनि राम्रो नरहेको उनको भनाइ छ। सेमरा तेगछियाका जितन पण्डित नेताले जनताको समस्या सोध्नुको साटो माइकमा बोलेर हिंडिरहेको गुनासो गरे।
किसानलाई बालीकै पीर
महागढीमाई-१ का खेदु राम र उमरावतीदेवी गहुँ भित्र्याउँदै थिए। आफ्नो जमीन नभएका उनीहरूले साहुको १५ कट्ठा खेतमा गहुँ खेती गरेका हुन्। ४० किलो अन्न फले पाँच किलो उनीहरूले पाउने सम्झौता छ।
गाउँमा चुनावी सरगर्मी बढे पनि उनीहरूलाई चासो छैन। गत वर्षभन्दा कम गहुँ फलेकोमा चिन्ता छ। “गत वर्ष प्रतिकट्ठा दुई मन (एक मनमा ४० किलो हुन्छ) गहुँ भएको थियो, यस पटक १२ कट्ठामा १६ मन मात्रै निस्कियो,” खेदु भन्छन्, “मल पनि ७० रुपैयाँ प्रतिकिलोमा किनेर हाल्नुपर्यो।”
खेतीपातीमा व्यस्त उनीहरूसँग भोट माग्न कुनै नेता आएका छैनन्। “कमाएर खाने मान्छेलाई को राम्रो को नराम्रो भन्ने थाहा हुँदैन,” उनी भन्छन्, “पैसा त लिंदैनौं, मुखियाले जसलाई दिन भन्छन्‚ उसैलाई दिने हो।”
यस्ता छन् उम्मेदवारका वाचा
देशभर तीन वटा क्षेत्रमा मात्रै चुनाव हुने भएकाले त्यस क्षेत्रमा केन्द्रीय नेताहरूको उपस्थिति बाक्लो छ। दलले चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन्। तर‚ मतदाताका समस्या भने उठाइरहेका छन्। मतदाताले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीको उचित प्रबन्ध गरिदिऊन् भन्ने अपेक्षा राखेको नेताहरू बताउँछन्।
‘गाँव नगर औरी शहर, सबके विकास के पूरा होइ रहर’ भन्ने नारा दिएर उपेन्द्र यादव चुनावी अभियानमा छन्। उनले स्थानीय मात्रै नभई राष्ट्रिय मुद्दा सम्बोधन गराउन आफू संसद्मा जानुपर्ने दाबी गर्दै आएका छन्।
“स्कूल, बाटोघाटो‚ अस्पताल र सिंचाइको व्यवस्था छैन। बेरोजगारी छ। गरीबी दिन प्रतिदिन बढ्दै गएको छ। यी समस्याको समाधान गर्नु छ‚” आफूले जित्नुपर्ने कारण राख्दै यादव भन्छन्‚ “मधेश जनविद्रोहबाट आएको संघीय गणतन्त्रमाथि पटक पटक प्रहार हुँदै आएको छ। यसको रक्षा गर्दै संस्थागत गर्नुपर्ने छ। संघीयता, सुशासन, आर्थिक विकास र समृद्धिलाई कसरी अघि लैजाने यसमा काम गर्छु।” उनी किसानलाई सरकारले सहुलियत दिनुपर्ने बताउँछन्।
मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारू लगायत समुदायमाथि हुँदै आएको विभेद र असमानता अन्त्य गर्ने लक्ष्य रहेको यादवले बताउँदै आएका छन्। राजनीतिक अस्थिरता, आर्थिक अनुशासनको कमी, भ्रष्टाचार आदि विकास नहुनुको कारण रहेको उनको दाबी छ।
जनमतका उम्मेदवार शिवचन्द्रप्रसाद कुसवाहा स्वास्थ्य, शिक्षा, रोजगार र कृषिका समस्या देखिरहेको बताउँछन्। “यहाँ किसान नै छन्, उद्योगपति छैनन्। हामी किसानका समस्या सुनिरहेका छौं। सीमामा आवातजावत गर्न पनि समस्या भइरहेको छ‚” कुसवाहा भन्छन्‚ “चुनाव जितिसकेपछि शिक्षा, स्वास्थ्य रोजगारी, किसानका समस्या, नेपाल-भारत सीमा क्षेत्रका समस्या संसद्मा उजागर गर्ने हो।”
एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले शिक्षा, स्वास्थ्य, कृषि र उत्पादन वृद्धिसँग सम्बन्धित सवाल मतदाताले उठाएको बताउँछन्। “जनताले स्तरीय शिक्षाको कुरा उठाइरहेका छन्। स्कूलको व्यवस्थापन राम्रो छैन। कलेज बनेकै छैन। स्वास्थ्य केन्द्र बेवारिसे अवस्थामा छ‚” उनी भन्छन्‚ “तीन-तीन वटा नदी बगेका छन्, तर सिंचाइको व्यवस्था छैन। ट्युबवेलबाट सिंचाइ गर्दा पेट्रोल खर्च भइरहेको छ।”
फास्ट ट्र्याक, निजगढ विमानस्थल, सिमरास्थित विशेष आर्थिक क्षेत्र पनि बारा-२ को विकासका लागि महत्त्वपूर्ण आयोजना भएको पौडेल बताउँछन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले विकास, शिक्षा, सुशासनको मुद्दा अघि सारेका छन्। प्रहरी सेवामा रहँदा अपराधी र तस्करलाई कानूनको दायरामा ल्याएको बताउँदै अब सिंहदरबार र बालुवाटारमा बसेर भ्रष्टाचार गर्नेहरूलाई कानूनी दायरामा ल्याउने उनको दाबी छ।
“यसअघि जितेर गएकाले मतदातालाई अन्याय गरे। लूट मच्चाए‚” खरेल भन्छन्‚ “जनताको अवस्था बदलिएन, नेताहरूको बदलियो। त्यसैले वैशाख १० गते इमानदारलाई भोट दिने कि बेइमानलाई?”
यस्तो छ चुनावी गणित
बारा-२ मा वैशाख १० को उपनिर्वाचनमा राजनीतिक दलतर्फ १२ जना र २४ जना स्वतन्त्र गरी ३६ जना उम्मेदवार छन्। तर‚ जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुसवाहा, एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेलको बढी चर्चा छ। चार जनामध्ये पौडेल बाहेक तीन जना मंसीर ४ को आमनिर्वाचनमा पराजित भएका थिए।
जसपाका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा-२ मा उपनिर्वाचन हुँदै छ। मंसीर ४ को निर्वाचनमा रामसहाय १३ हजार ८२२ मत ल्याएर बारा-२ बाट निर्वाचित भएका थिए। उनलाई एमालेले समर्थन गरेको थियो। एमाले र जसपाबीच चुनावी गठबन्धन बनेको थियो।
त्यतिवेला निकटम प्रतिस्पर्धी रहेका नेकपा (माओवादी केन्द्र)का शिवचन्द्रप्रसाद कुसवाहाले १३ हजार ४६८ मत ल्याएका थिए। उपनिर्वाचनमा माओवादीबाट टिकट नपाउने स्थिति बनेपछि उनै कुसवाहा जनमतमा प्रवेश गरेर अहिले उम्मेदवार बनेका हुन्।
त्यतिवेला जनमत पार्टीबाट राजेश साह उम्मेदवार थिए। उनले दुई हजार ७२५ मत पाएका थिए। उनी छैटौं नम्बरमा थिए।
त्यस्तै तीन जना स्वतन्त्र उम्मेदवार तेस्रो, चौथौ र पाँचौ नम्बरमा थिए। स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३, रविन्द्रप्रसाद यादवले १० हजार ७५० र अरुणकुमार ज्ञवालीले सात हजार ६९८ मत पाएका थिए।
जसपा अध्यक्ष उपेन्द्र यादव मंसीरमा सम्पन्न निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग सप्तरी-२ मा पराजित भएका थिए। सीकेले ३५ हजार ४२ मत ल्याउँदा उपेन्द्रले १६ हजार ७७९ मत मात्र प्राप्त गरेका थिए। यसअघि जसपाले नै जितेको बारा-२ मा अहिले उपेन्द्रलाई कांग्रेस, माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) को साथ छ।
यसअघि जसपालाई समर्थन गरेको एमालेले यस पटक परुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ। पौडेल पूर्व मन्त्री हुन्। उनी सुशील कोइराला नेतृत्वको सरकारमा युवा तथा खेलकूद मन्त्री थिए। २०७० मा बारा-६ बाट निर्वाचित भएयता उनले टिकट पाएका थिएनन्।
रास्वपाका रमेश खरेल मंसीरमा भएको निर्वाचनमा काठमाडौं-१ मा पराजित भएका थिए। त्यो वेला उनी आफ्नो नेतृत्वको नेपाल सुशासन पार्टीबाट उम्मेदवार बनेका थिए।
बारा-२ मा ८२ वटा मतदानस्थल र १७३ वटा मतदान केन्द्र तोकिएका छन्। जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार‚ यस क्षेत्रमा एक लाख पाँच हजार २९८ मतदाता छन्। यो क्षेत्रमा करैयामाई, सुवर्ण, देवताल गाउँपालिका, महागढीमाई र पचरौता नगरपालिका पर्छन्।