कांग्रेस पनि कर्णाली सरकारमा सहभागी
नेपाली कांग्रेस पनि कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ।
मुख्यमन्त्री राजकुमार शर्माले कांग्रेसका तीन जनालाई मन्त्री बनाएका छन्। कांग्रेसबाट वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बीसी मन्त्री बनेका छन्।
नवनियुक्त मन्त्रीले बिहीबार शपथ लिएका छन्। प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
आर्थिक मामिला तथा योजना मन्त्रीमा सिंह, सामाजिक विकासमन्त्रीमा पोखरेल र वन तथा वातावरण मन्त्रीमा बीसी नियुक्त भएका हुन्।
त्यस्तै, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्मा ऊर्जामन्त्री बनेकी छन्। मन्त्री विश्वकर्माले पनि बिहीबार पद तथा गोपनीयताको शपथ लिएकी छन्।
कांग्रेसलाई सरकारमा सहभागी गराउन एक मन्त्रालय टुक्र्याइएको हो। वैशाख ५ मा बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार, ऊर्जा र जलस्रोत मन्त्रालयलाई टुक्र्याएर ऊर्जा मन्त्रालय बनाउने निर्णय गरेको थियो।
यसअघि नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को सरकारले ऊर्जालाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेको थियो।