समुदाय अर्थात् सम-उदय
समुदाय बलियो हुँदा राज्य, बजार र बिचौलियाको नाफाखोरी स्वार्थमा बाधा पुग्ने भएकाले सामुदायिक मूल्यमान्यता भत्काउनु यी तिनैको साझा उद्देश्य हुन्छ।
समुदायलाई समान प्रकृतिबाट उदाउने र अस्ताउनेहरूको समष्टि मान्ने हो भने यो आफ्नै संस्कृति, परम्परा, आदानप्रदान, दुःखसुख, आत्मनिर्भरता आदिसँग गाँसिएको हुन्छ। पँधेरो, मेलापर्व जाने, चाडपर्वमा रमाउने, मर्दापर्दा दुःखी हुने, पर्म चलाउने, उत्पादनहरू एकअर्कासँग साट्ने जस्ता जन्मदेखि मृत्युसम्मका यावत् उपक्रममा समुदायका सदस्य समान रूपले सहभागी हुन्छन्। यसरी हुर्किएको समुदायलाई राज्य र बजारले आफ्ना लागि हानिकारक ठान्छन्।
त्यसैले सबै कुराको समाधान राज्य या बजारसँगै हुने तर्क गर्नेहरू एक ठाउँ जुटी समुदायका आधारभूत चरित्रमाथि धावा बोल्छन्। अर्थात् राज्य र बजार विस्तार हुँदा समुदाय भत्कँदै जान्छ। समुदायभित्रका सोपान, रूढिव्यवस्था, व्यक्तिगत स्वतन्त्रताका सपना, बसाइँसराइ आदिले पनि समुदायलाई कमजोर बनाइरहेका हुन्छन्। अर्कातिर समुदायको मूल चरित्र समयले पनि फेरिरहेको हुन्छ। परम्परागत मान्यता, सीमा र चरित्र भत्कँदै नयाँ, काल्पनिक वा खास उद्देश्यका निम्ति परिचालन हुने समुदाय बन्नु पनि स्वाभाविक प्रक्रिया नै हो।
जनताकै आम्दानीबाट चल्ने राज्य र बजार प्रत्यक्षतः जनतासम्म पुग्दैनन्, बरु बिचौलिया निर्माण गर्छन्। यस अर्थमा राज्यले आफ्नो फाइदाका लागि समुदायलाई उनीहरूका स्रोतसाधन, परम्परागत प्रविधि, आपसी सहयोग तथा आत्मनिर्भरता जस्ता विशेषताबाट विमुख बनाउने उपाय खोज्छ। समुदाय बलियो हुँदा बजार र राज्य तथा समुदाय (जनता) र राज्य तथा बजारका बीच बसेर फाइदा लिने बिचौलियाको स्वार्थमा बाधा पुग्ने भएकाले तीनै समूहको उद्देश्य जसरी पनि समुदायलाई कमजोर बनाउने हुन्छ।
जस्तो- गुथिले कुनै प्रकारको भोज आयोजना गर्दा राज्यलाई फाइदा नपुग्न सक्छ, तर पार्टी प्यालेसमा आयोजना भए त्यसको ‘कर’ राज्यले पाउँछ। बजारले आफ्नो सामग्री धेरै नाफामा बेच्न पाउँछ भने बजार व्यवस्थापनका लागि सघाउने वा राज्यलाई कर उठाइदिने बिचौलियाले पनि काम पाउँछन्।
बजारले सामुदायिक आत्मनिर्भरता मन पराउँदैन। त्यसैले समुदायमा उत्पादन वा प्रयोग हुने ‘रक्सी’ लाई कानून विपरीतको ठह¥याइन्छ अनि समुदायले विश्वास गर्दै आएका परम्परागत उपचार विधि ‘अवैज्ञानिक र रूढ’ बनाइन्छन्। मानिसहरूलाई रमाउन सिकाउने र आपसमा जोड्ने धर्म, कला, संस्कृति, जात्रापर्व र शिल्पहरू पुरातन भइदिन्छन्। समुदायका ज्ञान र सीपलाई अवैज्ञानिक देखाउन ‘पढेलेखेका’ हरू नै अग्रपंक्तिमा देखिन्छन्। बजारले पनि समुदायको यस्तो विशेषतालाई विकासविरोधीका रूपमा प्रचार गरिरहेको हुन्छ।
यस अर्थमा शक्ति र सामर्थ्यको एक मात्र स्रोत राज्य हो। राज्यलाई बलियो बनाउन प्रगतिशील तथा आर्थिक क्रान्ति र पूँजीवादी विकासका सपना बोकेर हिंड्ने उदारवादी एकै ठाउँ उभिन्छन्। समुदाय कमजोर बनाउने अनेकौं उपकरण निर्माण गर्दै सम्पूर्ण शक्ति, सत्य तथा आकर्षण नै राज्य वा बजार रहेको वकालत गर्नु तिनको कर्म हुन्छ।
केही समाजशास्त्री आफ्ना गतिविधिका आधारमा साझा भूभागमा रहने सदस्यलाई समुदाय मान्छन् भने केहीले समुदायलाई त्यस्ता व्यक्तिहरूको घेरा/समूह मान्छन् जो समग्र हित र विषयवस्तुका आधारमा सँगै बस्ने र बाँच्ने गर्छन्। प्राचीन अवधारणामा व्यक्ति, परिवार र त्यससँग सम्बद्ध वातावरणको उदय, विकास तथा विस्तार नै समुदाय बन्ने प्रक्रिया हो। यसले ‘सम’ को अर्थमा उक्त समुदायसँग जोडिने समग्र वातावरण, स्रोतसाधन, संस्कृति, चाडपर्व, आपसी सम्बन्ध जस्ता जन्मदेखि मृत्युसम्मको जीवनचक्रको परिकल्पना गर्छ। बुद्ध धर्ममा चार सत्य- पहिलो दुःख, दोस्रो समुदय (दुःखको कारण), तेस्रो निरोध (दुःखको निवारण) र चौथो सत्य मार्ग (निवारणका उपाय) को कल्पना गरिएको छ।
यसलाई हामीले देखिरहेको समुदायका सन्दर्भमा हेर्न सकिन्छ। ठूलो इच्छाका कारण मान्छे दुःखी हुन्छ र त्यसैले उसलाई आफ्नो अस्तित्वसँग जोडेर पनि राख्छ। इच्छा परिपूर्तिकै उद्यममा मान्छे दिनभर मिलेर काम गर्छ, एकआपसलाई सघाउँछ, दुःखसुखमा सहभागी हुन्छ, साँझ एउटै समयमा सुस्ताउँछ र अर्को बिहान उस्तै समयमा ‘उदाउँछ’। यो जीवनचक्र नै समुदाय हो। तर, समुदायका पनि आफ्नै बाध्यता छन्।
परम्परागत विशेषता बोकिरहने रुचि सबैसँग हुँदैन। त्यसैले त्यस्तो व्यक्ति नयाँ समुदायमा समेटिन खोज्छ। त्यही प्रक्रियामा ऊ राज्य र बजारले चाहे जस्तो बनिसकेको हुन्छ। त्यसैले छिमेकमा नयाँ मान्छे जन्मँदा वा मर्दा सामुन्नेको मान्छे सुखी वा दुःखी केही पनि हुँदैन। कस्तो व्यवहार गर्ने, कस्तो मनस्थितिमा बस्ने र कसरी सहानुभूति प्रकट गर्नेसम्म उसलाई थाहा हुँदैन। तथापि यो समुदायकै एक रूप हो।
(अर्याल मिडिया इतिहासका विद्यार्थी हुन्। हिमालको २०८० वैशाख अङ्कबाट।)
कभर स्टोरी: