एसीसी प्रिमियर कप: यूएई र ओमनको सहज जित
एसीसी प्रिमियर कप अन्तर्गत बुधबार भएका खेलमा यूएई र ओमनले सहज जित हासिल गरेका छन्।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा यूएईले कुवेतलाई १४३ रनले पराजित गरेको हो। यूएईले दिएको ३७२ रनको पछ्याउने क्रममा कुवेत २२८ रनमै समेटिएको हो।
कुवेतका लागि शाहित मुनबले ६८, परविन्दर कुमारले ५३ र मोहम्मद अस्लमले ३३ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। यूएईका लागि जुनैद सिद्दीकी र कार्थिक मयप्पनले तीन-तीन विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ६ विकेटको क्षतिमा ३७१ रन बनाएको थियो। यूएईका लागि भृत्य अरविन्दले १८५ र रोहन मुस्तफाले ११८ रन बनाए। कुवेतका लागि शाहरुख कोदुसले दुई र परविन्दर कुमारले दुई-दुई विकेट लिए।
त्यस्तै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा ओमनले कतारलाई ४० रनले पराजित गरेको छ। ओमनले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा कतार ४७.२ ओभरमा २०९ रनमै समेटियो। ओमनका लागि विलाल खानले चार, जोय ओडेड्रा र अकिब इल्यासले दुई-दुई विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमनले आठ विकेटको क्षतिमा २४९ रन बनाएको थियो। ओमनका लागि आयान खानले ६४, जीसन मक्सूदले ४१ र सन्दीप गौडले ३४ रन बनाए। कतारका लागि मोहम्मद मुराद र अमिर फारकले तीन-तीन विकेट लिए।
बिहीबार त्रिवि क्रिकेट मैदानमा बहराइन र सिंगापुर तथा मूलपानी क्रिकेट मैदानमा मलेशिया र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ।