प्रहरीको कुटाइले थलिए मिटरब्याज पीडित (तस्वीरहरू)
शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेपछि घाइते बनेका मिटरब्याज पीडित थलिएका छन्।
दुई सातादेखि रत्नपार्कस्थित शान्तिवाटिकामा धर्ना दिइरहेका मिटरब्याज पीडित वैशाख ४ मा सिंहदरबार अगाडि प्रदर्शन गर्ने तयारीमा थिए। शान्तिवाटिकाबाट निस्किन नपाउँदै प्रहरीले हस्तक्षेप गरेको समितिका सदस्य मनोज खतिवडा बताउँछन्।
शान्तिवाटिकाको गेटमा उभिएर प्रहरीले जथाभावी कुटपिट गरेको मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समितिले जनाएको छ। माथिको आदेश भन्दै प्रहरीले शान्तिवाटिकाबाट बाहिर निस्कनै नदिएको उनीहरू बताउँछन्।
प्रहरीको कुटपिटबाट पर्वतका सौर्य श्रेष्ठको बायाँ हात भाँचिएको छ। प्रहरीले गेटबाटै तानेर कुटपिट गर्दा हात भाँचिएको उनले बताए।
सप्तरीकी राजुदेवी रामको टाउकोमा गम्भीर चोट लागेको छ। शान्तिवाटिकामा गाडिएको टेन्टमा सुस्ताइरहेकी उनी बोल्न सकिराखेकी छैनन्।
नवलपरासी पश्चिमबाट आएका कुलबहादुर थापाको पनि टाउकोमा चोट लागेको छ। उनी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन शान्तिवाटिकाबाट बाहिर निस्किन गेटमा लाइन लागेका थिए। प्रहरीले अश्रु ग्यास प्रहार गरेसँगै लाठीले टाउकोमा हानेको उनी बताउँछन्।
त्यस्तै, पश्चिम नवलपरासीकै हर्षबहादुर विक र रामकवल चमारलाई पनि प्रहरीले कुटपिट गरेको छ। हर्षको टाउकोमा चोट लागेको छ भने रामको बायाँ हात भाँचिएको छ।
आन्दोलनका क्रममा ४३ जना घाइते भएका थिए। अधिकांशको हात र टाउकोमा चोट लागेको छ। त्यस्तै, प्रदर्शनमा उत्रिएका ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएर पछि पनि प्रहरीले कुटपिट गरेको उनीहरू बताउँछन्।