अख्तियारलाई सांसदको प्रश्न- सुरक्षण मुद्रण केन्द्र घोटालाका ठूला माछा खै?
सांसद रञ्जु झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्र घोटाला प्रकरणका प्रमुख दोषीलाई जोगाउन खोजेको आशङ्का गरेकी छन्।
अख्तियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सहित नौ जना विरुद्ध साढे दुई अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोप सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यो प्रकरणका प्रमुख दोषीलाई उम्काउन खोजेको सांसद झाको भनाइ छ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकबारे आफ्नो धारणा राख्दै सांसद झाले सुरक्षण मुद्रण प्रकरणमा निर्देशन दिनेमाथि पनि मुद्दा चलाउनुपर्ने माग गरेकी हुन्।
“कसको निर्देशनमा भ्रष्टाचार गरे होलान्, त्यो व्यक्तिसम्म अख्तियार पुगेन,” झाले संसद् बैठकमा भनिन्, “सानो माछामा हात हाल्न ठूला माछालाई छोड्ने गरेका छन्।”