चुनावी खर्च विवरण सार्वजनिक गर्न उम्मेदवारलाई निर्देशन
निर्वाचन आयोगले गत मंसीर ४ मा भएको निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारलाई खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।
गत मंसीरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सहभागी उम्मेदवारले आयोगलाई खर्च विवरण बुझाएका थिए। आयोगका अनुसार प्रतिनिधि सभाका दुई हजार ३७३ जना र प्रदेश सभाका पाँच हजार ५६१ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन्।
उनीहरूलाई सात दिनभित्र खर्च विवरण सार्वजनिक गर्न पनि आयोगले निर्देशन दिएको छ। खर्च विवरण सार्वजनिक गरी त्यसको जानकारी सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा जिल्ला प्रशासन कार्यालयलाई दिन पनि भनिएको छ।
त्यस्तै, अहिलेसम्म खर्च विवरण नबुझाएका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारलाई पनि सात दिनको म्याद दिइएको छ। आयोगका अनुसार प्रतिनिधि सभाका ३५ र प्रदेश सभाका ३७ जना उम्मेदवारले अझै खर्च विवरण बुझाएका छन्।
उनीहरूलाई खर्च विवरण किन नबुझाएको भन्दै स्पष्टीकरण मागेको छ। सात दिनभित्र खर्च विवरण सहित स्पष्टीकरण नदिएमा कारबाही हुने आयोगले जनाएको छ।