सगरमाथामा हालसम्मकै ठूलो जमघट, सफा राख्न चुनौती
नेपाली सेना र केही आरोहण सञ्चालकले सगरमाथामा हिमाल सफाइ अभियानलाई निरन्तरता दिइरहेका छन्। तर‚ फोहोरको मुहान खुला राखेर गरिने सफाइले दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न कठिन देखिन्छ।
वसन्त ऋतुको आगमनसँगै सगरमाथा र आसपासका हिमाल आरोहण गर्न आरोहीहरू सगरमाथा आधार शिविरमा जम्मा हुने क्रम शुरू भएको छ। विभिन्न मुलुकबाट आएका आरोही सहित पथप्रदर्शक, शेर्पा र सहयोगी कामदारको जमघटले आधार शिविर करीब दुई महीना ‘ग्लोबल भिलेज’ मा परिणत हुन्छ।
‘टेन्ट सिटी’ को नामले चिनिने सगरमाथा आधार शिविरमा यसपटक कम्तीमा दुई हजार ५०० जनाको आवागमन हुने सगरमाथा आरोहण सञ्चालकको प्रारम्भिक अनुमान छ। शेर्पा सहयोगी बाहेक सगरमाथा आरोहणकै लागि करीब ५०० आरोही आउने अनुमान छ। आरोहीका सहयोगी, भान्से तथा व्यवस्थापक र सरकारी अधिकारीहरूको संख्या जोड्दा आधार शिविरमा यस वर्ष हालसम्मकै ठूलो जमघट हुने देखिन्छ।
सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणका लागि खुम्बु आइसफलको फेदमा फूटबल कोर्ट जस्तो आकृतिमा फैलिएको आधार शिविरमा आरोहीका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, अक्सिजन सिलिन्डर र डोरी लगायत आरोहणका सामान काठमाडौंबाट हेलिकोप्टरमा ओसारिसकिएको छ। अपुग सामान लुक्लादेखि भरिया, चौंरी र जोप्के प्रयोग गरेर पुर्याइँदै छ।
प्रायः सुनसान रहने आधार शिविर अबको दुई महीना झिलिमिली हुनेछ। केही साता उच्च हिमाली वातावरणमा अभ्यस्त भएपछि आरोहीहरू बन्दोबस्तीका सामान बोकेर शिखरतर्फ लाग्छन्। शिखरमा पुग्ने सपना भने सबैको पूरा हुँदैन। केही बीचमै आरोहण रद्द गरेर अनुभव मात्र बोकेर फर्किन्छन्।
आरोहणका क्रममा कतिले ज्यान पनि गुमाउँछन्। डेथ जोन (मृत्यु क्षेत्र) भनेर चिनिने आठ हजार मिटरमाथि ज्यान गुमाउने आरोहीका शव बाटोमा अलपत्र छन्। शवसँगै अलपत्र छन् आरोहीले हिमालमा पुर्याएका सामान।
यही कारण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सगरमाथालाई सर्वाधिक उचाइको डम्पिङ साइट भनेर नकारात्मक रूपमा चित्रण गरिरहेका छन्। संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको तथ्याङ्क अनुसार पहिलो पटक सगरमाथा आरोहण भएको सात दशकयता १४० टन फोहोर त्यहाँ थुप्रिएको अनुमान छ।
सरकारी कमजोरीले सगरमाथामा फोहोरको रास
पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार आरोहण सञ्चालक र आरोहीले आरोहणका क्रममा प्रयोग गरेका अक्सिजन सिलिन्डर, रेगुलेटर, टेन्ट र खाना राख्न प्रयोग गरिएका प्लास्टिक लगायत सामग्री फिर्ता ल्याउनुपर्छ। यस बाहेक प्रत्येक आरोहीले फर्कंदा आठ किलोग्राम फोहर आधार शिविर ल्याउनुपर्छ। वाचा कार्यान्वयनको शर्त सहित आरोहण सञ्चालकले प्रतिसमूह चार हजार अमेरिकी डलर धरौटी पनि राखेका हुन्छन्।
तर‚ कानूनी व्यवस्था जे भए पनि आधार शिविरमा सरकारको उपस्थिति कमजोर छ। पहुँचका आधारमा हिमाल र आरोहण कानूनको ज्ञान नै नभएकाहरू सम्पर्क अधिकृत नियुक्त हुने र उनीहरूले आधार शिविर पनि नपुगी फोहोर व्यवस्थापन भए वा नभएको अनुगमन गरी पर्यटन विभागलाई ब्रिफिङ गर्ने परम्पराका कारण फोहोर व्यवस्थापनमा सरकारको कदम प्रभावकारी नभएको आरोहण अध्येताहरू बताउँछन्।
सम्पर्क अधिकृतले आरोहण सञ्चालकबाटै पारिश्रमिक बुझ्ने भएकाले पनि फोहोर सङ्कलनका लागि राखिएको धरौटी कम्पनीलाई सहजै फिर्ता गरिदिन्छन्। आधार शिविर पुग्ने सम्पर्क अधिकृत पनि एकदुई दिन बसेर आरोहण सञ्चालककै हेलिकोप्टरमा फर्कन्छन्। यस्ता लापरवाहीका कारण सगरमाथामा फोहोरको रास थुप्रिंदै छ।
सेनाको प्रयास, प्रभावकारितामा प्रश्न
हिमाल सफा राख्न सरकारी, गैरसरकारी र विभिन्न व्यापारिक संस्थाहरूको आर्थिक सहयोगमा शेर्पा, उच्च हिमाली क्षेत्रमा कार्यरत मजदूर र भरिया परिचालन गरेर नेपाली सेना आफैं खटिइरहेको छ। सन् २०१९ बाट ‘सफा हिमाल अभियान’ शुरू गरेयता ७६ टन फोहोर सङ्कलन भइसकेको नेपाली सेनाले जनाएको छ।
सन् २०१९ मा अभियानका क्रममा १० टन फोहोर सङ्कलन गरिएको थियो। सन् २०२१ मा सगरमाथा, ल्होत्से, पुमोरी, आमाडब्लाम, मकालु र धौलागिरि हिमालबाट २८ टन फोहोर व्यवस्थापन गरिएको थियो भने सन् २०२२ मा सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्घा हिमालबाट ३८ टन व्यवस्थापन गरिएको थियो।
यस वर्ष ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्यका साथ सेनाको टोली परिचालन भइसकेको छ। तर‚ सेनाको अभियानले मात्रै हिमाल सफा राख्न सकिन्छ कि सकिंदैन भन्ने अर्को प्रश्न छ।
“हिमाल सफाइ अभियान कुनै समुदायविशेषको मात्र मुद्दा होइन। यो त सबैका लागि सार्वजनिक चासोको विषय हो,” नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यस वर्षको हिमाल सफाइ अभियानमा संलग्न सैनिकहरूलाई बिदाइ गर्ने क्रममा सैनिक मुख्यालयमा आयोजित एक कार्यक्रममा भनेका थिए, “वातावरण संरक्षणका लागि कुल जनशक्तिको १० प्रतिशत वर्कफोर्स खटाएकाले सेना हिमाल सफाइ अभियानमा छ र स्थानीय समुदायलाई पनि यसमा लाग्न प्रोत्साहन गर्छ।”
फोहोर सङ्कलनका लागि नेपाली सेनाले योग्य सैनिकलाई उच्च हिमाली क्षेत्रमा एक महीनासम्म तालीम दिन्छ। सङ्कलित फोहोरमध्येको कुहिने फोहोर समुदायको जिम्मा लगाएर नकुहिने फोहोर हेलिकोप्टरबाट काठमाडौं नै ल्याउनुपर्ने बाध्यता छ।
विश्व सम्पदा सूचीमा सूचीकृत सगरमाथा र आसपासका हिमालमा जलवायु परिवर्तनको असर कम गर्न सचेतना फैलाउन पनि सेनाले नयाँ जिम्मेवारी लिइरहेको छ।
शव पनि चुनौती
सेनाले फोहोर बाहेक आरोहीका शव निकालेर ल्याउने काम पनि गरिरहेको छ। अहिले तापक्रम वृद्धिले हिउँ पग्लिएपछि दशकौं पहिले पुरिएका शव पनि देखिन थालेका छन्। हिमपहिरोले बगाएर ल्याएको हिउँबाट आधार शिविरमै दैनिकजसो मानव कंकाल देखिन थालेको शेर्पाहरू बताउँछन् ।
हालसम्म सगरमाथामा ३०० भन्दा बढी व्यक्तिले ज्यान गुमाएकोमा अधिकांशको शव हिउँमुनि पुरिएको हुन सक्ने आरोहण सम्बद्ध संस्थाहरूको भनाइ छ। “जति धेरै उचाइमा आरोहीको मृत्यु हुन्छ मृतकलाई आधार शिविरमा ल्याउन त्यत्ति नै गाह्रो हुन्छ। आर्थिक हिसाबले पनि निकै महँगो हुन्छ र उद्धारकर्ताले पनि ज्यानको जोखिम मोल्नुपर्छ,” दुई पटक सगरमाथा आरोहण गरेका एक मात्र सरकारी अधिकृत खिमलाल गौतम भन्छन्, “यस कारण पनि साउथ कोलमाथिका धेरै शव तल झार्न सकिएको छैन।”
२०१९ मा चार वटा लास सङ्कलन गरेर काठमाडौं ल्याइएको थियो। यस वर्ष पनि आरोहणका क्रममा बाटोमा अलपत्र छाडिएका केही लास व्यवस्थापन गर्ने योजना बनाएको छ। यस बाहेक आधार शिविरमा मानव मलमूत्रको फोहोर पनि छँदै छ ।
हिमालको फोहोर: एक अर्ब बढी जनसङ्ख्याका लागि सङ्कटको विषय
फोहोर व्यवस्थापनको समस्या सगरमाथामा मात्र नभएर अन्य हिमालमा पनि देखिएको आरोहीहरू बताउँछन्। हिमालमा प्लास्टिकजन्य फोहोर बढिरहेकाले हिउँ पग्लने क्रममा वातावरणीय विनाशका समस्या पनि देखिन थालेका छन्।
सगरमाथाको फोहोर र तापक्रम वृद्धि हिमाली क्षेत्रमा बस्ने समुदायका लागि मात्र नभई हिन्दूकुश हिमालय क्षेत्रको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने एक अर्ब बढी जनसंख्याका लागि सङ्कटको विषय भएकाले आरोहीको चाप भएका हिमालहरूमा नेपाली सेनाको नेतृत्त्वमा हिमाल सफाइकर्मीहरू परिचालन भएको सेनाको भनाइ छ।
अधिकृत गौतम सगरमाथा र आसपासका हिमालमा बढिरहेको मानवीय गतिविधिले दिगो फोहोर व्यवस्थापनका लागि चुनौती भएको बताउँछन्। सन् २०११ यता बर्सेनि सगरमाथा आधार शिविरमा पुगेर त्यहाँका गतिविधि र परिवर्तनसँग साक्षात्कार हुँदै आएका गौतम अहिलेको आधार शिविरमा आरोही बाहेक अरूलाई प्रवेशमा कडाइ गर्नुपर्ने बताउँछन्। “आधार शिविर पर्वतारोहीका लागि हो। त्यहाँ पदयात्रीको आवागमनलाई नियमन गर्न जरुरी छ,” उनले भने।
‘कोकाकोलाले प्रायोजन गर्ने सफाइ अभियानको विकल्प खोजिनुपर्छ’
प्लास्टिकको बोतलमा प्याक गरिएका कोकाकोला लगायतका चिसो पेयपदार्थ, बियर र महँगो ब्रान्डका रक्सी हेलिकोप्टरमा चार्टर गरेर सगरमाथाको आधार शिविरमा पार्टी गर्ने र फेरि तिनै कोकाकोलाको प्रायोजन र सरकारी रकममा हिमाल सफाइ अभियान सञ्चालन गर्ने अभियानको विकल्प खोजिनुपर्ने स्थानीयको माग छ।
आरोहणमा लिएको समान प्रयोग गरिसकेपछि सम्बन्धित कम्पनीले नै फिर्ता ल्याउने अनिवार्य शर्त नभएसम्म हिमाल सफा राख्न चुनौती हुने उनीहरूको भनाइ छ। खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा सगरमाथामा दीर्घकालीन योजना नआएसम्म फोहोर व्यवस्थापन हुन नसक्ने बताउँछन्।
“फाल्नेले फालिरहने र टिप्नेले टिपिरहने गरिरहँदा यो समस्या कहिले पनि सकिंदैन,” शेर्पाले भने, “त्यसका लागि फोहोर नियन्त्रण लुक्लाबाटै हुनुपर्यो। आधार शिविरमा सीधै हेलिकोप्टर मार्फत सामान ढुवानी गर्ने व्यवस्था भएसम्म यो समस्या सधैं यस्तै हुन्छ।”
गाउँपालिका आफैंले पनि यसअघि प्लास्टिकजन्य पदार्थको प्रयोग निषेध गरेको भए पनि कोरोना महामारीयता खुकुलो बनाएको छ। “प्लास्टिकजन्य वस्तुको निषेध र आरोहीले प्रयोग गरेका सामान फिर्ता ल्याउने बाध्यकारी नियम बनाउनुपर्छ। हामी दीर्घकालीन रूपमा कसरी फोहोर व्यवस्थापन गर्ने भन्ने विषयमा नयाँ योजना ल्याउँदै छौं।”
उनले ट्रेकिङ रूटमा भएको फोहोर गाउँपालिकाले व्यवस्थापन गरे पनि आधार शिविरमाथिको फोहोर व्यवस्थापन गर्न सरकार कडा रूपमा प्रस्तुत हुनुपर्ने बताए। “एक्सपिडिशनमा जानेले शुरूमा तलबाटै फोहोर नियन्त्रण गर्नुपर्यो। अन्यथा फोहोर टिपेर मात्र यो समस्या समाधान हुँदैन,” उनले भने।