लोकरिझ्याइँ विरोधको द्विविधा
आफ्नो विरोध हुँदा पनि लोकरिझ्याइँवादी नेताहरू भन्ने गर्छन्, ‘ल हेर त सबै जना म विरुद्ध लागेका छन्, त्यसैले त म जनताको सही प्रतिनिधित्व गर्ने एक मात्र नेता हुँ।’
साह्रै सुस्त गतिमा चलेको एक वर्षसम्मको वार्तापछि टर्कीका ६ वटा राजनीतिक दलहरू अन्ततः यही मेमा हुने राष्ट्रपति निर्वाचनमा संयुक्त उम्मेदवार खडा गर्न तयार भए। दुई दशकदेखि चलिरहेको रेज्जेप ताय्यिप एर्दोगानको दमनकारी र बढ्दो निरङ्कुश शासनको अन्त्य गर्ने आशा सहित त्यो निर्णय गरिएको हो।
एर्दोगानको ‘जस्टिस एन्ड डेभलपमेन्ट पार्टी’ लाई सन् २०१९ मा हराएर इस्तानबुलका मेयर बन्न सफल युवा र ‘क्यारिस्म्याटिक’ प्रतिस्पर्धीलाई पन्छाएर सामाजिक लोकतन्त्रवादी एवं धर्मनिरपेक्षवादी ‘रिपब्लिकन पिपल पार्टी’ (सीएचपी)का नेता केमल कुछ्दरोगोलाई राष्ट्रपति बनाउन यी ६ दल यही (मार्च)मा सहमत भए।
स्वेच्छाचारी लोकरिझ्याइँवादी शासनले लोकतन्त्रलाई धराशायी बनाइरहेका वेला चुनाव जित्ने हरेक अवसर उपयोग गर्न विपक्षी दलहरू एक हुनु सामान्य हो। तर, त्यस्तो एकता मात्रै सफलताका लागि पर्याप्त हुँदैन। वास्तवमा अप्ठ्यारा क्षणहरू त एक हुने निर्णय गरेपछि आउँछन्।
शक्तिशाली लोकरिझ्याइँवादी शासकलाई हत्याउन एकगठ भएका विपक्षी दलहरूले आफ्नो उद्देश्यलाई अन्य राजनीतिक प्रतिबद्धताभन्दा माथि राख्नैपर्छ। आखिर लोकरिझ्याइँवादी शासकले लोकतन्त्रको अवमूल्यन गरिरहेका हुन्छन् र उनीहरू पुनः निर्वाचित भए लोकतन्त्रलाई थप कमजोर बनाउनेछन् भनेर विश्वास गर्ने प्रशस्त आधारहरू हुन्छन्।
उदाहरणका लागि हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनलाई लिन सकिन्छ। धाँधलीपूर्ण निर्वाचन लगत्तै विपक्षी दल र नागरिक समाज चरम निराश भएको क्षणलाई उनले विवादास्पद नीतिहरू थोपर्ने र सांस्कृतिक युद्ध उक्साउने अवसरका रूपमा उपयोग गरे (जातीय शुद्धता, आप्रवासीको विरोध, अल्पसंख्यक लैङ्गिक पहिचानलाई दुत्कार्ने जस्ता काम गरे-अनु.)। सन् २०१४ को निर्वाचनपछि उनी विरुद्ध प्रदर्शनहरू शुरू भए।
तर, ‘क्षति नियन्त्रण’ को आवश्यकताको भाष्य जति महत्त्वपूर्ण छ त्यति नै यसले सिङ्गो राजनीतिक शक्तिशाली व्यक्ति वरिपरि घुम्छ भन्ने देखाउँछ। लोकरिझ्याइँवादी नेताहरूले चाहने नै यही हो। आफ्नो विरोधलाई पनि उनीहरू आफ्नै फाइदाका लागि ध्रुवीकरण गर्न उपयोग गर्छन्। ती भन्छन्, ‘ल हेर त सबै जना म विरुद्ध लागेका छन्, त्यसैले त म जनताको सही प्रतिनिधित्व गर्ने एक मात्र नेता हुँ।’
पछिल्लो पटक प्रकाशित विभिन्न राजनीतिशास्त्रीहरूका अनुसन्धानहरूले के देखाउँछन् भने स्वेच्छाचारी लोकरिझ्याइँवादी नेतालाई भोट दिने हरेक मानिस उसले लोकतन्त्रमाथि पुर्याइरहेको क्षतिबारे अन्जान वा लापरवाह हुन्छन् भन्ने होइन (यहाँ भ्रष्टाचारको चर्चा गरिएको छैन जुन लोकरिझ्याइँवादी सरकारको अर्को चरित्र हो)। तर, हामी र तिनीहरू भन्ने तर्क र उद्देश्य स्पष्ट नभएको विपक्षी गठबन्धनको सामना गर्नुपर्दा उनीहरूले स्वेच्छाचारी शासकलाई नै कम खराब ठान्छन्।
खासगरी एकीकृत विपक्षी दलहरू त्यस्तो उम्मेदवार खडा गरिरहेका हुन्छन् जो आफूले विरोध गरिरहेको स्वेच्छाचारी शासकभन्दा केही बढी लोकतान्त्रिकभन्दा खासै फरक हुँदैन। पछिल्लो वर्ष हंगेरीको विपक्षी गठबन्धनले दक्षिणपन्थी लोकरिझ्याँइवादी शासकको विरुद्धमा रूढिवादी क्याथोलिक प्रान्तीय प्रमुखलाई खडा गर्ने निर्णय गर्यो। त्यसैगरी इजरायलको विपक्षी गठबन्धनले पनि प्रधानमन्त्री बिन्यामिन नेतान्याहूको विपक्षमा पूर्व जनरल बेन्नी ग्यान्ज जस्ता मध्य दक्षिणपन्थी नेतालाई उम्मेदवार बनायो।
त्यस्ता रणनीति प्रायः असफल बन्ने गरेका छन् किनभने विपक्षी शक्ति पूर्णतया प्रतिक्रियावादी देखिन्छ, नभए उनीहरूले लोकरिझ्याँइवादी शासकले स्थापना गरेको शासन नै ‘न्यू नर्मल’ बनिसकेको छ भन्ने खालको पराजित भइसकेको सन्देश दिइरहेका हुन्छन्। टर्कीमै ६ दलीय गठबन्धनले एकातिर राष्ट्रवादी दबाबको सामना गरिरहेछन्, अर्कातिर कुर्दिशपक्षधर पिपल्स डेमोक्रेटिक पार्टी (एचडीपी)लाई अस्वीकार गरिरहेछन्। त्यसैगरी नेतान्याहूको दक्षिणपन्थी इजरायली सरकार विरुद्ध खडा भएको विरोधी पक्षले अहिलेसम्म अरब प्रतिनिधिलाई समावेश गर्न अस्वीकार गरिरहेछ। कडा राष्ट्रवाद र अल्पसंख्यकको अधिकारप्रतिको बेवास्तालाई राजनीतिक प्राप्तिका रूपमा लिइन्छ।
साझा वैरी विरुद्ध सबै लोकरिझ्याँइविरोधीहरू एक भइहाले भने पनि राजनीतिका मानकहरू परिवर्तन गर्नु भने कठिन काम बनेको छ। शक्तिशाली शासकप्रतिको असन्तुष्टि पोखिरहनुभन्दा पनि उनीहरू फराकिला मुद्दाहरूमा केन्द्रित हुनुपर्छ र नीतिगत कार्यक्रम एवं आधारभूत सिद्धान्तको प्रश्नमा फर्किनै पर्छ। लोकरिझ्याँइवादी सत्ताधारीलाई पराजित गर्ने सिलसिलामा सैद्धान्तिक असहमतिहरूलाई पन्छाए पनि लक्ष्य हासिल गरेपछि यी मुद्दा सतहमा आउँछन् भन्ने सबैलाई थाहा छ। यही सामान्य ज्ञानले नै मतदाताहरूमा त्यस्तो विपक्षी गठबन्धनले कसरी शासन गर्ला भन्ने शङ्का पैदा गरिदिन्छ।
टर्कीको ६ दलीय गठबन्धनले विधिको शासन स्थापना गर्ने र इर्दोगानलाई असीमित अधिकार दिने अति राष्ट्रपतीय प्रणाली विघटन गर्ने गरी संरचनागत परिवर्तनको खाका कोरेको छ। लोकरिझ्याइँवादी शासनले कब्जा जमाएका टर्कीका ‘रेडियो एन्ड टेलिभिजन सुप्रिम काउन्सिल’ र ‘काउन्सिल अफ् हाइअर एजुकेशन’ जस्ता संस्थाहरू पुनः स्वायत्त हुनेछन्। त्यस्तै सुल्तान शैलीको शासनको साटो अवैयक्तिक संस्थाहरूमा आधारित भएर इर्दोगानको अति मुद्रास्फीतिमा आधारित आर्थिक रणनीतिहरू र अस्थिर विदेश नीतिबाट मुक्त हुने वचन पनि दिएका छन्।
तर, ‘संस्थावाद’ प्रतिको प्रतिबद्धता अमूर्त हुन्छ। विभिन्न शक्ति मिलेर बनेको विपक्षी गठबन्धनमा हुने शीर्ष नेताहरूबीच हुने नीतिगत र व्यक्तिगत द्वन्द्वले यसलाई सजिलै चुनौती दिन्छ। आफू स्थापित हुन विपक्षी नेताहरूले कमै मात्र चर्चा गरिएको राजनीतिक खूबी देखाउनुपर्छ। अर्को पक्षको आलोचनामा केन्द्रित हुनुभन्दा पनि आफ्ना चुनावी अजेन्डाहरू प्रस्तुत गर्नुपर्छ।
शासक दल भ्रष्टाचारका कारण आफैं पतन भएर जानेछ भनेर उनीहरू ढुक्क हुनुहुन्न। बरु के गलत भइरहेछ भन्ने बताउनुपर्छ र भविष्य योभन्दा सुन्दर हुनेछ भन्ने शक्तिशाली सङ्केतहरू सिर्जना गर्नुपर्छ। टर्कीका विपक्षीहरूका लागि हालै गएको भूकम्प र त्यसअघि र पछि सत्ताधारी दलको अक्षमता आउँदो निर्वाचनका लागि एउटा शुरूआती बिन्दु हुन सक्छ। तर, फरक भविष्यको सङ्केत निर्माण भने चुनौतीपूर्ण हुनेछ।
(प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित लेखको अनुवाद।)