नेपालमा ‘हिट वेभ’, किन बढ्यो हपक्क गर्मी?
चैत अन्तिमदेखि विशेष गरी तराईका केही स्थानमा ‘हिट वेभ’ नै भन्न मिल्ने गरी तापक्रम बढ्दा ती क्षेत्रमा उखरमाउलो गर्मी भएको छ।
काठमाडौं, पोखरा, जनकपुर सहित देशका विभिन्न क्षेत्रमा ‘हिट वेभ’ (अत्यधिक गर्मी) देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, विशेष गरी पूर्वी र मध्य तराई तथा मध्यपहाडका केही स्थानमा हिट वेभको क्रम विगत केही दिनदेखि जारी छ। अत्यधिक गर्मीका कारण छिमेकी देश भारतका विभिन्न क्षेत्रमा दैनिक जनजीवन प्रभावित भएको छ, पश्चिम बंगालमा विद्यालय बन्द गरिएका छन्। नेपालमा भारतको जस्तो गम्भीर अवस्था नरहे पनि पूर्वको झापा चन्द्रगढीदेखि पश्चिमको भैरहवासम्म गर्मी, अति गर्मी वा अत्यधिक गर्मीको अवस्था तापक्रम अनुगमन प्रणालीबाट देखिएको विभागले जनाएको छ।
विभाग अन्तर्गतको वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार झापा, इलाम, जनकपुर, भैरहवा सहितका क्षेत्रमा विगत चारपाँच दिनदेखि अधिकतम तापक्रम औसतभन्दा माथि मापन भएको छ। “जनकपुरमा विगत एक सातादेखि नै निकै गर्मी छ,” डा. कँडेल भन्छिन्, “गत चैत २९ देखि वैशाख १ गतेसम्म त्यहाँको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा बढी मापन भएको थियो, जुन विभागले निर्धारण गरेको मापदण्ड अनुसार गर्मीको अवस्था हो।”
जनकपुरमा वैशाख २ र ३ गतेको तापक्रम ३८.९ र ३९.६ अर्थात् अति गर्मी र वैशाख ४ गतेको तापक्रम ४०.५ डिग्री सेल्सियस अर्थात् अत्यधिक गर्मीको स्तर पार भएको छ।
प्रि-मनसुनमा पानी नपर्दा बढ्दो तापक्रम
दुई दिन वा बढी समय कायम रहने असामान्य गर्मीको अवस्थालाई हिट वेभ भनिन्छ। जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्मको अधिकतम तापक्रम तोकिएको बिन्दुभन्दा माथि मापन भएमा त्यसलाई हिट वेभ भन्ने गरेको छ। चैत अन्तिमदेखि नै विशेष गरी तराईका केही स्थानमा हिट वेभ नै भन्न मिल्ने गरी तापक्रम बढेको हो। हिउँद र प्रि–मनसुनमा पनि खासै पानी नपरेकाले तापक्रम बढ्न सहयोग गरेको मौसमविद्को विश्लेषण छ। कँडेलका अनुसार देशभरका अधिकांश मौसम केन्द्रबाट प्राप्त तथ्याङ्क हेर्दा पछिल्लो सातादेखि अधिकतम तापक्रम बढ्दो छ।
“तराईका केही स्थानको पछिल्लो चारपाँच दिनको तापक्रम हिट वेभकै अवस्था सरह देखिएको छ,” उनी भन्छिन्।
विभागको इलाम कन्यामस्थित मौसम केन्द्रको तथ्याङ्क अनुसार उक्त क्षेत्रमा पाँच दिनदेखि गर्मी वा अत्यधिक गर्मी छ। अधिकतम तापक्रम २५ डिग्री सेल्सियसभन्दा माथि भएमा त्यहाँ गर्मीको अवस्था मानिने विभागले तय गरेको छ। तर, दुई दिनदेखि तापक्रम २७ डिग्री सेल्सियसभन्दा माथि मापन भएको छ, अर्थात् हिट वेभ आएको देखिन्छ।
काठमाडौं, पोखरा, चितवन, झापा, सुनसरी, इलाम, बारा, धनुषा, कपिलवस्तु, रुपन्देही, सिन्धुली, अर्घाखाँची, कैलाली लगायत जिल्लाको तापक्रम अत्यधिक मात्रामा बढेको देखिएको र त्यहाँ हिट वेभ आउन सक्ने विभागले जनाएको छ।
हिट वेभको अवस्था आउन सक्छ भनेर पूर्वानुमान गर्न सक्ने प्रविधि र स्रोत अहिले विभागसँग छैन। विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान र एक सातासम्मको अनुमानित मौसमी विवरण दिने गरेको छ। महाशाखाका अनुसार, आगामी तीन दिन देशका अधिकांश क्षेत्रको मौसम सफा रहनेछ, अर्थात् पानी पर्नेछैन। पहाडी क्षेत्रका केही स्थानमा भने हल्कादेखि मध्यम पानी पर्ने अनुमान गरिएको छ।
नेपालमा विशेष गरी मे र जून महिनामा अत्यधिक गर्मी हुने गरेको छ। तर, केही वर्षदेखि अप्रिलमा पनि हिट वेभ तहमै अधिकतम तापक्रम पुग्ने गरेको कँडेल बताउँछिन्। पानी नपरेको र तापक्रम अहिले नै केही स्थानमा हिट वेभकै तहमा पुगेकाले सचेत हुनुपर्ने उनको भनाइ छ।
कसरी जोगिने?
हिट वेभ ज्यानै लिने गरी घातक हुन सक्छ। त्यसको पछिल्लो उदाहरण भारतको महाराष्ट्रमा गत आइतबार अत्यधिक गर्मीका बीच मुम्बईमा भएको कार्यक्रममा सहभागीमध्ये १३ जनाको हिटस्ट्रोकका कारण मृत्यु भएको घटनालाई लिन सकिन्छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख तथा वरिष्ठ अनुसन्धान अधिकृत मेघनाथ धिमालका अनुसार हिट वेभका कारण हिटस्ट्रोक, रिंगटा लाग्ने, अत्यधिक थकान महसूस हुने सहितका समस्या देखिन्छन्। “पानी सहितका झोलिलो पदार्थ प्रशस्त पिउने, घरभित्र वा छहारीमा बस्ने तथा केही कठिनाइ भएमा स्वास्थ्य संस्था जाने तत्कालीन समस्या समाधानका उपाय हुन्,” धिमाल भन्छन्, “दीर्घकालका लागि हिट वेभ र त्यसले जनस्वास्थ्यमा पार्ने असरबारे जनचेतना फैलाउन प्रभावकारी कार्यक्रमको खाँचो छ।” जनस्वास्थ्य प्रणालीलाई पहुँचयोग्य पनि बनाउनुपर्ने उनको सुझाव छ।
धिमाल सहितको समूहले सन् २०१८ मा हिट वेभको अवस्था र त्यसले निम्त्याउने स्वास्थ्य जोखिमबारे सर्वसाधारणको अवधारणाबारे अध्ययन गरेको थियो। अध्ययन अनुसार सर्वसाधारणले गर्मीका कारण हुने स्वास्थ्य समस्याबारे आफूहरूलाई थाहा भएको तर स्वास्थ्य संस्था वा सेवामा पहुँच र त्यसबारे जानकारी नरहेको बताएका थिए। हिट वेभको प्रभाव कलकारखाना, निर्माण क्षेत्रका श्रमिक, दैनिक ज्याला मजदूरी गर्ने वर्ग तथा विपन्न वा स्रोतको पहुँच नभएका समुदायमा बढी पर्ने हुँदा सूचनाको प्रवाह र स्वास्थ्य सेवाको विस्तार उनीहरूसम्म गर्नुपर्ने धिमाल बताउँछन्।
“जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी)को पछिल्लो रिपोर्टमा पनि अत्यधिक गर्मी सहितका अवस्था घातक हुने भन्दै त्यसलाई प्राथमिकतामा राखिनुपर्ने सुझाव दिएको छ। नेपालमा पनि हिट वेभ सहितका विषम घटना बढ्दै गएको देखिएकाले त्यसलाई सम्बोधन गर्न सक्ने जनस्वास्थ्य प्रणाली बनाइनुपर्छ।”