कुपोषण निम्त्याउँदै पत्रु खाना
स्थानीय परिकारको साटो तयारी खाना–खाजाको प्रयोग व्यापक हुन थालेपछि बैतडी जिल्लामा यसले सामाजिक समस्याकै रूप लिएको छ। जसकारण जिल्लामा कुपोषण बढ्दो देखिन्छ।
जिल्ला स्वास्थ्य कार्यालय, बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा एक हजार ६० जना शिशु कम तौल र १८६ शिशु अति कम तौल भएका जन्मिएका थिए। २०७७/७८ मा एक हजार ७३ जना कम तौल र २२६ जना अति कम तौल भएका शिशु जन्मिए। २०७८/७९ मा एक हजार ६४२ कम तौल भएका शिशु जन्मिंदा ३१२ जना शिशु अति कम तौल भएका जन्मिएका थिए।
पछिल्लो समय जिल्लाका अधिकांश स्थानमा अभिभावकहरूमै पत्रु खानाप्रतिको आकर्षण बढेको छ। जसकारण जन्मँदै कुपोषणको शिकार भएका बालबालिकाले पछिसम्म पनि आवश्यक पोषक तत्त्व खान पाउँदैनन्। स्वास्थ्यकर्मीहरूका अनुसार कुपोषित आमाबाट जन्मेका बालबालिकामा पनि कुपोषण हुने सम्भावना अधिक रहन्छ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा जनस्वास्थ्य अधिकृत योगेश भट्ट पत्रु खानालाई कुपोषणको मुख्य कारण मान्छन्। “पत्रु खानाले सागपात र गेडागुडीहरू समेत विस्थापित हुने अवस्थामा छन्, पहिला मकै भुटेर खाने बालबालिकाहरू अहिले चाउचाउ र कुरकुरेमा भुलिने गरेका छन्,” उनी भन्छन्।
जिल्ला अस्पताल, बैतडीका मेडिकल अधिकृत डा. थानेश्वर न्यौपाने पत्रु खानामा जिब्रोका लागि स्वादिलो बनाउन प्रयोग गरिएका सामग्रीले मानव शरीरलाई अत्यन्तै हानि गर्ने बताउँछन्। न्यौपानेका अनुसार पत्रु खाना खानेहरूलाई अन्य खानेकुरा खान मन लाग्दैन। जसकारण शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वको अभाव भएर रोग लाग्छ।
“पत्रु खानामा खराब पोषणयुक्त वस्तु जस्तै, ट्रान्सफ्याट, चिनी, सोडियम र अनेक किसिमका रसायनहरू हुन्छन्,” उनी भन्छन्, “त्यसैकारण पत्रु खाना सेवनको मात्रा घटाउन जरुरी छ।”
पत्रु खानाले शरीरमा आइरनको कमी
जिल्ला अस्पताल, बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. धीरज जैसवाल पछिल्लो समय युवा पुस्तामा बढ्दो क्यान्सर, मधुमेह, उच्च रक्तचाप आदिको कारण पत्रु खाना पनि भएको बताउँछन्। “अहिले अस्पतालमा अभिभावकहरू आफ्ना बालबालिकाले घरको खानेकुरा खानै नमान्ने गरेको समस्या लिएर आउन थालेका छन्। यसको एउटा कारण पत्रु खाना धेरै खानु पनि हो,” डा. जैसवालले भने। उनका अनुसार पत्रु खानाको सेवनले शरीरमा रगत बनाउने तत्त्वको कमी भई विभिन्न रोग लाग्ने सम्भावना रहन्छ।
स्वास्थ्य कार्यालयका प्रमुख भट्टका अनुसार घरैमा उत्पादित खानेकुरा खाने चलन घट्दै गएपछि अहिले प्रायः किशोरीहरूमा रक्तअल्पताको समस्या देखा पर्न थालेको छ। पोषिलो खानाको अभाव र पत्रु खानाको अत्यधिक सेवनले शरीरमा आइरनको कमी भई रक्तअल्पताको समस्या हुने भट्टले बताउँछन्। “किशोरीहरूमा रक्तअल्पताको समस्या देखिन थालेपछि सरकारले अहिले विद्यालय किशोरी आइरन कार्यक्रम सञ्चालन गरेको छ,” उनी भन्छन्।
सुदूरपश्चिममा ६ देखि ५९ महिनाका ४५ प्रतिशत र १५ देखि ४९ वर्ष उमेर समूहका २७ प्रतिशत बालबालिकाहरूमा रक्तअल्पताको समस्या देखिएको भट्टले बताए। भट्टका अनुसार पत्रु खानामा अत्यधिक मात्रामा हुने क्यालोरीले मानव शरीरको तौल अनियन्त्रित रूपमा बढाउँछ।
यस्तै पत्रु खानामा सोडियमको मात्रा उच्च हुने र अत्यधिक सोडियम सेवनले उच्च रक्तचाप र स्ट्रोकको खतरा निम्त्याउने उनी बताउँछन्। अहिले युवा, किशोरदेखि बालबालिकालाई समेत मधुमेह हुनुका कारण पत्रु खाना नै भएको उनी बताउँछन्।
सडक पुग्यो, पत्रु खाना बढ्यो
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बैतडीका प्रमुख प्रविन अधिकारी जिल्लाका अधिकांश ठाउँ सडक सञ्जालले जोडिएपछि पत्रु खानाहरू गाउँ गाउँसम्म पुगेको बताउँछन्। अहिले बैतडीका अधिकांश गाउँमा चाउचाउ, कुरकुरे, चिप्स, बिस्कुट, कोल्ड ड्रिंक्स जस्ता खानेकुराहरू प्रचलनमा छ। स्थानीय परिकारप्रति आकर्षण क्रमशः घट्दै गएको छ।
पञ्चेश्वर गाउँपालिकाका रामिराम औझी नातिको चिजबल, चाउचाउ र जुस खाने इच्छा पूरा गर्न दैनिक दुई पाउ भैंसीको दूध छिमेकीलाई बिक्री गर्दै आइरहेका छन्। औझीको घरमा कोदो पनि छ। तर, नातिले कोदो होइन, कुरकुरे नै खोज्छ।
औझीलाई कुरकुरे र बजारमा पाइने जुस केकस्ता पदार्थ राखेर बनाइएको हो भन्ने थाहा छैन। औझीका अनुसार उनको बुहारीले त झन् परिवारका सबैले मन पराउने भएकाले तरकारी पनि चाउचाउकै बनाउँछिन्। “चाउचाउ खाने बानी नै परिसक्यो। २० रुपैयाँको चाउचाउले पूरै परिवारलाई तरकारी पुग्छ। खाँदा स्वादिलो पनि हुन्छ,” उनी भन्छन्।
पञ्चेश्वर–२ का भवानी चन्दको खेतमा आठ वर्ष पहिले कोदो, काउन, बाजुर, गानरो लगायतका बाली टन्न फलेका हुन्थे। चार क्विन्टलसम्म उब्जिन्थ्यो। तर, गाउँमा सडक पुगेसँगै भवानीको खेत अहिले बाँझो भएको छ। “गाउँमा गाडी पुग्यो। बजारको चामल आयो। चाउचाउ, कुरकुरे, बिस्कुट, कोदो जस्ता खानेकुरा आउन थाले। यस्तो अवस्थामा कसले खेतमा गएर काम गर्छ,” उनी भन्छन्।
चन्द अहिले त्यही बाँझो खेतको आली हुँदै चार वर्षीय नातिलाई काँधमा चढाएर कुरकुरे किन्न पसल जान्छन्। “कुरकुरे बाहेक केही खान मान्दैन। रोइकराइ गरिरहन्छ। के गर्ने बच्चाको इच्छा पुर्याउनै पर्यो,” उनी भन्छन्।
यी त प्रतिनिधि पात्र मात्र हुन्। पञ्चेश्वरका धेरै परिवारको खाने शैली अहिले यस्तै छ। दूध बेचेर प्याकेटको जुस किन्ने अनि भटमास, कोदो बेचेर चाउमिन खाने चलन बढ्दो छ। जनस्वास्थ्य अधिकृत भट्ट पत्रु खानाले पार्ने प्रभावबारे थाहा नभएर पनि यो सबैको रोजाइमा पर्ने गरेको बताउँछन्।
अनुगमन छैन
बैतडीमा म्याद नाघेका पत्रु खाना पनि समस्याका रूपमा देखिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बैतडीका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पुससम्म अनुगमन गरिएका १८० पसलमा ८२ हजार मूल्य बराबरका म्याद सकिएका पत्रु खानाहरू बरामद गरी नष्ट गरिएको छ।
आर्थिक वर्ष २०७८/७९ मा ३०० पसलमा अनुगमन गर्दा एक लाख ८० हजार ५६० रुपैयाँ बराबरका पत्रु खाना नष्ट गरिएको थियो। तीन वर्षयता म्याद नाघेका अखाद्य सामग्री बिक्री गर्ने ७६५ पसलहरू कारबाहीमा परेका छन्। पसल सञ्चालकलाई जरिवाना तिराएर कारबाही गर्दा दुई लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख अधिकारीले बताए।
उनका अनुसार अधिकांश पसलहरूमा चाउचाउ, बिस्कुट, कुरकुरे जस्ता बालबालिकाले बढी खाने पत्रु खानाको म्याद नाघेको पाइएको छ। “स्थानीय बजार अनुगमनको जिम्मा पालिकाको भए पनि कुनै चासो दिइएको छैन। बजारमा पाइने मिठाईजन्य खानेकुरामा अत्यधिक रङ प्रयोग गरिएको हुन्छ, यसले मानव स्वास्थ्यलाई नकारात्मक असर गर्छ,” अधिकारी भन्छन्।
बजारमा अखाद्य वस्तुको बिक्री भइरहेको गुनासो आएपछि २०७९ असोजमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी नेतृत्वको बजार अनुगमन टोलीले पुचौंडी नगरपालिका–१ हाट बजारको अनुगमन गर्यो। त्यस क्रममा टोलीले एक लाख २० हजार बराबरका म्याद नाघेका अखाद्य वस्तु भेट्यो। आठ व्यापारीलाई जरिवाना तिरायो।
प्रजिअ पन्थी स्थानीय तहले बजार अनुगमन प्रभावकारी नबनाउँदा गाउँका पसलहरूमा अखाद्य वस्तु बिक्री भइरहेको बताउँछन्। उनले अनुगमन गरेको सबै ठाउँमा अखाद्य वस्तु भेटिएको पनि छ। उनका अनुसार अन्तरपालिका बैठकमा बजार अनुगमन गर्नेबारे पटक पटक निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन।
१० पालिका रहेको बैतडीमा चालू आर्थिक वर्ष २०७९/८० को माघसम्म पाटन नगरपालिका बाहेक अन्य कुनै पनि स्थानीय तहले बजार अनुगमन नगरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अधिकारीले बताए। त्यसो त पाटन नगरपालिकाले पनि एक पटक बाहेक बजार अनुगमन गरेको छैन।
अपुग खाद्यान्न
दशरथचन्द नगरपालिका–७ का नारायण बडू वर्षभरि नै खेती गर्छन्। तर, कृषि उत्पादनले उनको ६ जनाको परिवारलाई ६ महिनासम्म पनि धान्दैन। “यो माटो के उब्जाउन उपयुक्त हो भन्ने हामीलाई थाहा छैन। विना अध्ययन परम्परागत मकै, गहुँ मात्रै लगाइरहेका छौं,” उनी भन्छन्।
मेलौलीका डम्बर चन्दको पनि उस्तै छ गुनासो। वर्षभरि काम गरेर ६ देखि ७ महिनासम्म मात्र अन्न पुर्याउन पनि गाह्रो हुने उनको भनाइ छ। “हामीसँग आधुनिक कृषिको ज्ञान छैन। बुबा–बाजेले जसरी गर्थे, हामीले पनि त्यसरी नै खेती गरिरहेका छौं,” उनी भन्छन्।
गाउँमा पसल खुलेसँगै खेती गर्नेको संख्या यसै पनि घटिरहेको उनी बताउँछन्।
सोही नगरपालिकाको वडा नम्बर ५ आइतका नवराज लेखल गुलेली समातेर दिनभर आँगनमा बसिरहन्छन्। बाँदरको आतङ्कले खेतमा अन्न लगाउन छोडेका उनी आफ्नै घर अगाडिको बारीमा लगाएका तरकारी समेत बचाउन सक्दैनन्। बाँदरले झ्यालबाट छिरेर घरमा पकाएर राखेको रोटी समेत लैजाने गरेको लेखल बताउँछन्।
“पहिले प्रशस्त अन्न उब्जाउने खेत अहिले बाँझो देख्दा म विचलित हुन्छु, बाँदरको बिगबिगीले घरभित्र राखेको र बजारबाट ल्याएको खानेकुरा रहन दिंदैन,” उनी भन्छन्।
बैतडीमा बाँदर, दुम्सी र जङ्गली बँदेलको आतङ्कका कारण अन्नबालीमा क्षति पुग्न थालेपछि किसानहरू हैरान छन्। डिभिजन वन कार्यालय, बैतडीका अनुसार बाँदर र दुम्सीले नोक्सान गरेको अन्नको आवश्यकता अनुसार क्षतिपूर्ति दिने व्यवस्था छैन। डिभिजन वन अधिकृत भीमप्रसाद कँडेलका अनुसार बँदेलले बाली क्षति गरेको भन्दै सयदेखि डेढ सय जनासम्म किसान गुनासो गर्न आउँछन्। कँडेलका अनुसार उनीहरूले क्षतिपूर्ति बापत पाउने रकमले गाउँबाट आएको गाडी भाडा समेत तिर्न नपुग्ने गुनासो गर्ने गरेका छन्। राहत निर्देशिका अनुसार एक किसानलाई बढीमा १० हजारसम्म क्षतिपूर्ति दिन मिल्छ।
जङ्गली जनावरको बिगबिगी र स्थानीय उत्पादनमा आएको ह्रास लगायतका कारण बैतडीले पर्याप्त खानेकुराका लागि कैलाली र कञ्चनपुरको भर पर्नुपरेको छ। कृषि ज्ञान केन्द्र बैतडीका अनुसार वार्षिक ४९ हजार १२४ मेट्रिक टन खाद्यान्न आवश्यक हुने बैतडीमा अधिकतम ३६ हजार ३०८ मेट्रिक टन खाद्यान्न मात्रै उत्पादन हुने गरेको छ। अर्थात् १२ हजार ८१६ मेट्रिक टन खाद्यान्न अपुग छ।
केन्द्रका अनुसार जिल्लाको ३१ हजार ४८५ हेक्टर जमीन खेतीयोग्य छ। तर, २५ हजार ७०० हेक्टर क्षेत्रफलमा मात्रै खेती हुने गरेको छ।
हराउँदै परम्परागत बाली
कृषि ज्ञान केन्द्र बैतडीका अनुसार अहिले जिल्लाभर ३८० मेट्रिक टन मात्रै कोदो उत्पादन हुन्छ। १० वर्ष अगाडिसम्म अधिकांशको घरमा कोदो उत्पादन हुन्थ्यो।
कुनै समय घरको भकारीभरि जौ हुने यहाँका किसानहरू अहिले पूजाका लागि आफूलाई चाहिने जति मात्र जौ एउटा गरामा लगाउँछन्। केन्द्रको तथ्याङ्कमा जिल्लामा अहिले वार्षिक ४२० मेट्रिक टन मात्र जौ उत्पादन हुन्छ।
केन्द्रका सूचना अधिकारी मिलन कँडेलका अनुसार अहिले जिल्लामा वार्षिक १६ हजार २० मेट्रिक टन धान, २१ हजार ९६० मेट्रिक टन मकै, १८ हजार ४०० मेट्रिक टन गहुँ उत्पादन हुने गरेको छ। फापर, बाजुरो, काउन, मादुरो लगायतको उत्पादन शून्य छ।