भुइँबाट उठिरहेका अनेकौं माया
जबसम्म संसारमा विभेद, दलन, स्त्रीद्वेषी व्यवहार जारी रहन्छ, तबसम्म माया एन्जेलोका शब्द र उनी जोडिएका आन्दोलनको सान्दर्भिकता अझ बढ्नेछ।
२०५० सालको दशकमा म महिला, दलित र सीमान्तीकृतको मुद्दामा केन्द्रित भएर लेख, कविता लेख्न कोशिश गर्थें। दृष्टि साप्ताहिकमा साहित्य र राजनीति क्षेत्रका विदेशी व्यक्तिमाथि लेख्दै आएका लेखक/पत्रकार अग्निशिखासँग एक दिन सोही पत्रिकाको कार्यालयमा भेट भयो। उनले मेरा लेख र कविता पढेर सुझाव दिए, “तपाईं महिला, दलित, सीमान्तीकृतमाथि लेख्न चाहनुहुन्छ भने एक पटक अफ्रिकी मूलकी अमेरिकी कवि तथा लेखक माया एन्जेलो (४ अप्रिल १९२८–२८ मे २०१४) का सिर्जना पढ्नुस्। जब तपाईंले उनको आत्मकथा कृति आई नो ह्वाई द केज्ड बर्ड सिङ्स (मलाई थाहा छ, पिंजडाको चरा किन गाउँछ) पढ्नुहुन्छ, तपाईं आफूमा कायापलट भएको अनुभव गर्नुहुनेछ।”
त्यस वेला अहिले जस्तो इन्टरनेटको सहज पहुँच थिएन। विदेशी साहित्य पढ्न पुस्तक किन्नु या पुस्तकालय चहार्नुको विकल्प थिएन। एन्जेलोलाई पढ्न म कहिले ब्रिटिश, कहिले अमेरिकी त कहिले भारतीय पुस्तकालय धाउन थालें। उनका गद्य र पद्यको संसारमा छिर्दै गएँ।
जब उनको आत्मकथा पढें, तब मानसपटलमा अनेकौं एन्जेलोका चित्र आउन थाले। उनी कहिले कुशल नर्तकी भएर आइन्, कहिले रोमान्टिक अभिनेत्री। कहिले प्रतिरोधी र नारीवादी लेखक बनिन् त कहिले प्रखर मानव अधिकारकर्मी।
४ अप्रिल १९२८ मा अमेरिकाको मिसौरी राज्यस्थित सेन्ट लुइसमा गुलाम परिवारमा जन्मिएकी थिइन् एन्जेलो। उनले तीन वर्ष मात्र आमाबुबाको छत्रछाया पाइन्। आमाबुबाको सम्बन्धविच्छेद भएपछि उनी हजुरआमाको रेखदेखमा हुर्किइन्। एन्जेलोको बाल्यकालको नाम मार्गरेट एनी जोन्सन थियो। पछि उनका भाइले उनलाई ‘माया’ नाम दिएका रहेछ्न्।
उनको जीवनयात्रा नियाल्दा बाटोभरि आँधी र हुरी चलिरहेको, चट्याङ बर्सिरहेको, काँडैकाँडा ओछिएको देखिन्छ, जहाँ उनी चोटग्रस्त भएर रक्ताम्य पाउ हिंडिन्।
एन्जेलो अश्वेत परिवारकी थिइन्। आजको समयमा त दलित, सीमान्तीकृत, अश्वेत समुदायले कति विभेद र प्रताडना भोग्नुपर्छ भने उनी बाँचेको जमानामा झन् कति पीडादायी अवस्था हुँदो हो! उनी रङ्गभेदको शिकार भएर हाँसोठट्टाको पात्र बन्थिन्। यसै पनि त्यतिखेर अश्वेतहरूले गुलामीका नीलडाम बोकेकै थिए। आफू सधैं उपहासको पात्र भएको विषयलाई एन्जेलो यसरी व्यक्त गर्छिन्:
जब म आफ्नो बारेमा सोच्छु
लगभग आफैंमाथि हाँसीहाँसी मर्छु
म आफ्नै विषयमा यति हाँस्छु
सास रोकिन थाल्छ।
बाल्यकालदेखि नै एन्जेलोलाई आफैंमाथि हाँस्ने साहस जुटाउनुपरेको थियो। उनको गुनासो सुन्न न कुनै प्रशासन थियो न त न्यायालय। बसमा यात्रा गर्दा अश्वेत समुदायका अरू व्यक्ति झैं उनी सधैं पछाडिको सीटमा बस्नुपर्थ्यो। तर, यस्तो विभेदको पीडा कसले सुन्ने? उनी विभेदको सामना गर्दै पीडा मनभित्रै गुम्स्याएर जिउन विवश थिइन्।
केही समय हजुरआमा र काकासँग बसेपछि ६ वर्षकी हुँदा उनी आमा विवियनलाई भेट्न सिकागो पुगिन्। तर, मातृप्रेमले डोर्याएर पुग्दा उनी यौन हिंसाको शिकार भइन्। आमाको प्रेमीले नै उनलाई बलात्कार गर्यो। त्यस घटनाले एन्जेलोलाई मानसिक रूपमा गहिरो असर गर्यो। उनलाई आफ्नो शरीरबाट लासको गन्ध आएको महसूस हुन्थ्यो। निद्राबाट ब्युँझिंदा पनि त्यही दृश्य आँखाभरि आएर झस्काउँथ्यो।
एकातिर अश्वेतका रूपमा भोग्नुपरेको विभेद र बलात्कारको पीडा, अर्कातिर दोस्रो विश्वयुद्धले निम्त्याएको आर्थिक मन्दीको मार। तमाम प्रतिकूल परिस्थितिबीच आत्मसम्मान जोगाएर अघि बढ्न गरेको साहसलाई उनी यसरी अभिव्यक्त गर्छिन्:
तिमी आफ्नो तीतो र तोडमोड गरिएका झूटले
मलाई इतिहासमा खस्काउन सक्छौ
तिमी फोहोरमा मलाई कुल्चिन सक्छौ
तर फेरि पनि म धूलो झैं उठ्नेछु।
एन्जेलोको जीवन सधैं कठिन परिस्थितिमा अघि बढ्यो। जीविका चलाउन विभिन्न काम गर्नुपर्यो। कतिपय काम ऐच्छिक थिए त कतिपय बाध्यताको उपज। कहिले बच्चा स्याहार्ने आया बनिन्, कहिले नर्तकी। एक समय त देहव्यापारमा लागिन्।
सन् १९५४ मा वैवाहिक सम्बन्ध टुङ्गिएपछि उनी सान फ्रान्सिस्कोको आसपासका नाइटक्लबमा गाएर तथा नाचेर जीविका चलाउन थालिन्। त्यस वेला उनी रातभर जागा बसेर पढ्ने-लेख्ने गर्थिन्। कहिले अफ्रिकन रिभ्यूमा फिचर लेखिन्, कहिले घाना विश्वविद्यालयको स्कूल अफ म्युजिक एन्ड ड्रामामा पढाइन्।
सन् १९५० को अन्त्यमा कालाहरूको लेखक संघमा आबद्ध भएपछि एन्जेलोको जीवनमा क्रान्तिकारी मोड शुरू भयो। उनी ‘हर्लेम राइटर्स गिल्ड’ मा आबद्ध भइन्, जहाँ जोन हेनरिक क्लार्क, रोजा गाइ, जुलियन मेफिल्ड लगायत कैयौं अफ्रिकी-अमेरिकी लेखकहरूसँग उनको भेटघाट भयो। सन् १९६० मा अश्वेत आन्दोलनका नेता मार्टिन लुथर किङसँग उनको भेट भयो, जसले उनलाई संघर्षशील नारीमा रूपान्तरण हुन सघायो।
सन् १९६४ मा उनले अश्वेत नेता मेलडम वाक्सलाई भेटिन्। वाक्सप्रति उनको गहिरो सम्मान थियो, तर वाक्सको हत्याले उनको हृदयमा गहिरो चोट पुग्यो। त्यो चोटको घाउ पुर्न मार्टिन लुथर किङलाई सघाइन्। तनमन लगाएर अश्वेत आन्दोलनमा होमिइन्। विडम्बना, सन् १९६८ मा उनकै जन्मदिनको दिन किङको पनि हत्या भयो। त्यसले उनको हृदय यति छियाछिया बनायो, आफ्नो जन्मदिन वर्षौंसम्म मनाइनन्।
सन् १९६९ मा एन्जेलोको जीवनमा दोस्रो क्रान्तिकारी मोड आयो। एउटा रात्रिभोज थियो, जसमा उनका निकट साथी उपन्यासकार जेम्स बाल्ड्विन, प्रख्यात प्रकाशन संस्था र्यान्डम हाउसका मालिक रबर्ट लुइस आदि सामेल थिए। त्यतिखेर बाल्ड्विन, लुइसले उनको जीवनका उतारचढाव, विभेद, मान, अपमान, हर्ष, विस्मात्, अवसाद, आदि विविध पक्षलाई ध्यान राखेर आत्मकथा लेख्न प्रेरित गरे।
बाल्ड्विनले उनलाई भने, “जीवनको भोगाइ, संघर्ष, स्मृतिदंश आदिलाई आत्मकथामा बुनेर संसारलाई बुझाइदेऊ कि यहाँ रङ्गभेद, सबल्टर्नका अपरिमित पीडाहरू बोकेर जिउन कति कठिन छ। नश्लभेद र सबल्टर्नको जन्जीरमा बाँधिएको समाज कहिल्यै रमाउन सक्दैन।”
बाल्ड्विनले बाटो देखाएपछि उनी आत्मकथा लेख्न थालिन्। अन्तत: सन् १९६९ मा आई नो ह्वाई द केज्ड बर्ड सिङ्स प्रकाशन भयो। जुन त्यस वर्षकै ‘बेस्टसेलर’ बन्यो।
आत्मकथामा जीवनप्रति एन्जेलोको अगाध विश्वास देखिन्छ। उनी यथास्थितिलाई कहिल्यै स्विकार्दिनन्। पीडा र यातनालाई नियति र गन्तव्य मानेर बस्दिनन्। उनी त्यस्तो संसार खोजी गर्छिन्, जहाँ शोषित, सीमान्तीकृत, बहिस्कृत, घरेलु श्रमिक, बाल श्रमिक, नश्लभेद तथा रङ्गभेदका शिकार सबैलाई उचित स्थान होस्। उनको यो आत्मकथा हिम्मत र साहसको दस्तावेज हो भन्दा हुन्छ।
एक अन्तर्वार्तामा एन्जेलो भन्छिन्, “साहस विना तपाईंले कुनै पनि मूल्यको रक्षा गर्न सक्नुहुन्न। तपाईं दयालु, आत्मविश्वासी जे पनि बन्न सक्नुहुन्छ, तर यसो बन्न तपाईंमा साहस चाहिन्छ।”
त्यो साहस नै थियो, जसबाट एन्जेलो सन् १९६३ मा मार्टिन लुथर किङको नेतृत्वमा भएको वासिङ्टनको बृहत् र्यालीमा सहभागी भएकी थिइन्। जसको उद्देश्य विश्वभरि अश्वेतहरूको अधिकार पुन:स्थापित गर्नुथियो। त्यही आन्दोलनको बलमा अश्वेतहरूका साहित्य, कला, सङ्गीत, संस्कृतिले विश्वभरि विशेष पहिचान बनाउन सफल भए। सन् १९६० देखि १९७५ सम्म अश्वेतहरूका ठूलो संख्यामा आत्मकथा लेखिए, जसमा अधिकारको आन्दोलन र अन्य विविध पक्ष समेटिएका थिए। अन्ना हेजम्यानको द ट्रम्पेट साउन्ड्स (१९६४), इरिना रातुशिन्स्कायाको ग्रे इज द कलर अफ होप (१९८८), मेरी किङको फ्रीडम सङ (१९८८) सँगै माया एन्जेलोको आई नो ह्वाई द केज्ड बर्ड सिङ्स लगायत आत्मकथामा अश्वेत महिलाहरूका रङ्गभेद, नश्लभेद, यौनिकताका मुद्दा समाविष्ट छन्।
सात आत्मकथा कृति प्रकाशन गरेकी एन्जेलोले कवितामा पनि प्रशस्त कलम चलाइन्। उनको कविताबारे टिप्पणी गर्दै अमेरिकी समीक्षक लायन ब्लुमेन भन्छन्, ‘एन्जेलोका कवितामा रङ्गभेद, शोषणको पीडाका साथै आफ्ना वर्गको निम्ति शुभेच्छा छ। उनका प्राय: कविता महिला मुद्दामा केन्द्रित छन्। यौनशोषण र देहव्यापारमाथि केन्द्रित छन्। घरेलु कामदार महिलाका दमित इच्छा उद्घाटित छन्। उनका कवितामा एड्गर एलन पो, विलियम शेक्सपियर जस्ता शास्त्रीय कविहरूको प्रभाव भेटिन्छ भने अर्कातिर अश्वेत कवि ल्याङ्सटन ह्युज, अफ्रिकी लोकगीतको राग भेटिन्छ। सुरम्य लोकरागका कारण उनका कविता मानिसका हृदय छुन सफल छन्।'
विभेद भोग्दै संघर्ष र आन्दोलनबाट अघि बढेकी उनले लेखक र नागरिक अधिकारकर्मीका रूपमा प्रखर छाप छाडिन्। उनको योगदानलाई राज्यले पनि सम्मान गर्यो। अमेरिकी सिक्कामा चित्रित हुने उनी पहिलो अश्वेत महिला हुन्।
एन्जेलोको २८ मे २०१४ मा निधन भयो। तर, एन्जेलो आफ्ना कवितामा भने झैं धूलो र खरानीबाट फिनिक्स चरा झैं उठेर खडा भइरहनेछिन्। जबसम्म संसारमा विभेद, दलन, स्त्रीद्वेषी व्यवहार जारी रहन्छ तबसम्म उनका शब्द र उनी जोडिएका आन्दोलन अझ सान्दर्भिक हुनेछ।
अन्तिममा उनकै कविता काममा तल्लीन महिलाबाट बिट मारौं।
काममा तल्लीन महिला
- माया एन्जेलो
बालकहरूको हेरचाह गर्छु
कपडा मिलाएर राख्छु
सिनित्त पुछ्छु भुइँ
किन्छु दैनिक रासन
बालबच्चालाई सुग्घर राख्छु
सँगसँगै खाना खुवाउँछु
इस्त्री लगाउँछु सर्ट-पाइन्ट
पहिर्याउँछु पोशाक
टुक्र्याउँछु उखु
र ध्यानपूर्वक रेखदेख गर्छु बिरामीलाई।
ओ घाम,
सेक मलाई
ओ वर्षा,
ममाथि वर्ष
ओ ओसको बुँद,
बिस्तारै बिस्तारै झर ममाथि
शान्त पार मेरो शिरलाई।
ओ आँधी,
आफ्नो भीषण बहावले
बगाएर लैजाऊ मलाई यहाँबाट
उड्न देऊ आकाशमा।
ओ हिउँ,
झर बिस्तारै बिस्तारै
बेर सेतो बर्कोले
देऊ बरफको शीतल चुम्बन
गर्न देऊ आराम आजको रात।
घाम, वर्षा, विस्तीर्ण आकाश
पर्वत, सागर, पत्थर, पत्कर
ताराको चमक, चन्द्रमाको आभा
तिमी नै हौ सबथोक
जसलाई भन्न सकूँ म आफ्नो ।
भावानुवाद: राममणि सिटौला