अर्गानिक जोनमा कर्णालीको अर्नी
कर्णाली प्रदेशको अर्नी खानु भएको छ? छैन भने ललितपुरको सातदोबाटोस्थित अर्गानिक जोनमा कर्णालीकै उत्पादनको स्वाद लिनसक्नु हुनेछ।
२०७६ सालमा काठमाडौं विश्वविद्यालय र आइडिया स्टुडियोले गरेको ‘इनोभेशन कम्पिटिशन’ मा ७०० जनालाई उछिन्दै दीपकबहादुर बुढाले पहिलो स्थान हासिल गरेका थिए। ‘सोसल इम्प्याक्ट’ शीर्षकमा भएको प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूले आआफ्ना सिर्जनात्मक उपाय प्रस्तुत गरेका थिए। उत्कृष्ट भएका दीपकले पाँच लाख रुपैयाँको ‘शुरूआती लगानी’ पनि पाए।
दीपकले सातदोबाटोमा रेस्टुरेन्ट सञ्चालन गरेको पाँच वर्ष भयो। उनले कर्णालीको रैथाने बाली प्रवर्द्धन गर्ने सोचले रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्। उनी सुनाउँछन्‚ “मेरो सोच कर्णालीका गाउँमा कृषकलाई अर्गानिक खेती गर्न लगाउने र उत्पादनलाई बजारीकरण गर्ने।”
हाम्रो विडम्बना! एकातिर भोकमरी लाग्दै आएको कर्णाली जस्ता ठाउँका जमीन बाँझै छन्। कृषि क्षेत्रमा लागेकाहरूको उत्पादनले बजार नपाउँदा पेशाबाट पलायन हुने अवस्था छ। शहरबजारका मानिस सम्पन्न भईकन पनि रसायन मिसिएको खानेकुरा खाँदा विभिन्न रोगबाट पीडित छन्। यही समस्यालाई चिर्ने प्रयासमा रहेको दीपक बताउँछन्। “शहरबजारका डिपार्टमेन्ट स्टोरमा किन्न पाइन्छ‚ खान पाइन्न। रेस्टुरेन्टमा खान पाइन्छ, तर किन्न पाइन्न‚” उनी भन्छन्‚ “त्यो ग्यापलाई पूरा गर्ने पनि हाम्रो उद्देश्य हो। हामीकहाँ खान पनि पाइन्छ, खरीद गर्न पनि पाइन्छ।”
रैथाने बाली खरीद गरेर लगे पनि सबैले त्यसको परिकार बनाउन जानेका हुँदैनन्। अर्गानिक जोनमा मार्सी चामलको भात खाएर धेरैले मार्सी चामल खरीद गरेर लगे, तर केहीले पकाउन जानेनौं भनी सुनाए। ग्राहकको त्यही गुनासोलाई मध्यनजर गर्दै दीपकले आफ्नो रेस्टुरेन्टमा पाककला सिकाउन थाले। उनी भन्छन्‚ “ढिंडो रुचाएकाले घरमा ढिंडो कसरी पकाउने भनी हाम्रै भान्छामा पकाएर देखाइदियौं।”
पछिल्लो समय अर्गानिक रेस्टुरेन्टमा फापरको चाउमिन र जौको मःमः खान आउनेको संख्या बढिरहेको दीपक बताउँछन्। जसले जे खाएर हुर्केको छ उसलाई त्यही मन पर्छ। नयाँ परिकारमा बानी लगाउन केही समय लाग्न सक्छ। खाँदै जाँदा मन पर्छ।
यसमा परिकारबारे लेखिएको पुस्तक टिमुरका लेखक प्रशान्त खनालको भनाइ सान्दर्भिक छ। “हामी चीज, पिज्जा जस्ता खाना खाएर हुर्केका होइनौं‚” उनी भन्छन्‚ “खाँदै जाँदा मीठो लाग्दै गएको हो। पेटलाई बानी पार्दै गएपछि मीठो-नमीठो भन्ने हराउँदै जान्छ।”
मीठो-नमीठो भन्दा पनि स्वस्थकर खानामा पेटलाई बानी लगाउँदा स्वास्थ्य राम्रो हुन्छ। यस सम्बन्धमा जनस्वास्थ्य अभियन्ता डा. अरुणा उप्रेतीको अनुभव मननयोग्य छ। उनले आफ्ना सन्तानलाई सानैदेखि घरकै खानेकुरामा अभ्यस्त बनाइन्। अहिले उनीहरू घरबाहिर जाँदा चिउरा, रोटी तरकारी जस्ता स्थानीय खाजा नै खोज्ने गरेको उप्रेती बताउँछिन्। नयाँ पुस्तालाई अस्वस्थकर खाजा तथा खानामा बानी पार्नुमा अभिभावकको ठूलो भूमिका हुने उनको बुझाइ छ।
अर्गानिक जोनका सञ्चालक दीपक पनि नयाँ पुस्तालाई स्वस्थ्यकर खानेकुरा खुवाउनपर्छ भन्ने अभियानमा छन्। त्यसैले उनले फापरको चाउमिन र जौको मःमः बनाएर बेच्न थाले। “हामीले टार्गेट गर्नुपर्ने नै युवा पुस्तालाई हो। उनीहरूलाई स्वस्थ्यकर खाना खुवाउने बानी लगाइयो भने त्यसपछिको पुस्ताले आफैं सिक्दै जान्छ,” उनी भन्छन्, “अहिले छोरीहरूका साथीहरूले कम्तीमा पनि मैदा धेरै खानु हुँदैन भन्ने बुझेका छन्।”
शिक्षा र प्रविधिमा फड्को मारेको बताउँदै आइरहे पनि हामीमा खानाको अनुशासन नभएको दीपक बताउँछन्। “हाम्रो खाने रूटिन छैन। खाना अनुशासन नै छैन,” उनी भन्छन्, “के‚ कसरी खाने भन्ने जानेकै छैनौं। कार्बोहाइड्रेट कति खाने? प्रोटिन कति खाने? भन्ने जानेका छैनौं। अनावश्यक रूपमा कार्बोहाइड्रेट खाइरहेका छौं। साग र फलफूललाई खानामा समावेश गरेकै छैनौं।”
साधारण मानिसले विभिन्न समस्याका कारण खानाको अनुशासन पालन गर्न सक्दैनन्। तर‚ आर्थिक हैसियत राम्रै भएकाहरूले पनि पालना नगरेको उनको भनाइ छ। “हाम्रो पेशाकर्मीको न खानाको ठेगान छ न राम्रो खान पाएका छन्‚” उनी भन्छन्‚ “नेताहरूले राम्रो खाना खान पाउनुपर्ने हो, तर पाएका छैनन्। ब्युरोक्र्याटले पनि पाएका छैनन्।”
चीनका नेता तथा व्यापारीले ‘फरबिडन राइस’ भन्ने कालो चामल खाने गरेको उनले सुनाए। “चीनका उच्च तहका मान्छेले त्यो खाँदा रहेछन्। चामलको राजा भनिंदो रहेछ‚” दीपक भन्छन्‚ “त्यो चामलमा इन्टरनल क्लिन्जिङ गर्ने शक्ति धेरै हुँदो रहेछ। हाई फाइबर हुने रहेछ।”
हामीले भने पेट बिगार्ने खाना खाइरहेको दीपक बताउँछन्। हाम्रा शहरबजारमा पाइने खाना तथा खाजाले आन्द्रा जाम गराउँदै लगेका छन्। जसका कारण रोगीको संख्या बढ्दै गएको छ।
“धेरै चिल्लो खाँदा आन्द्रा साँघुरिएको छ। आन्द्रा सफा नहुँदा त्यहाँ लेउ लाग्छ। जसका कारण ग्यास्ट्रिक, पाइल्स, अल्सर रोगीको संख्या बढिरहेको छ‚” दीपक भन्छन्‚ “अहिले ४० वर्ष नपुग्दै प्रेसर, सुगरको औषधि खानुपर्ने अवस्थामा पुगेका छन्। यो खानपिनको गडबडीले गर्दा हो।”
अर्गानिक जोनमा स्वास्थ्य समस्या बढ्न नदिने मात्रै होइन, समाधानतर्फ लाने खानेकुरा पाइने उनी बताउँछन्। “जौ, मार्सी, कालो धानले भाँडा माझ्ने लुँडोले जस्तै हाम्रो पेट सफा गर्छ‚” दीपक भन्छन्‚ “आन्द्रा, पेट सफा हुँदा न ग्यास्ट्रिकको समस्या हुन्छ न कब्जियतको।”
रैथाने बालीको प्रवर्द्धन तथा उपयोगबारे खोज गर्दै जाँदा दीपकले नेपालको प्राचीन खाना पद्धति मात्रै होइन, लोकतत्त्वबारे पनि बुझ्ने अवसर पाए। त्यसलाई प्राज्ञिक रूपमा अगाडि बढाउन अहिले उनी नेपाल संस्कृत विश्वविद्यालयबाट लोकतत्त्वमा विद्यावारिधि गर्दै छन्।
लोकतत्त्वमा मानवीय व्यवहारका सबै कुरा पर्ने भए पनि नेपालमा भने लोकतत्त्व अन्तर्गतको साहित्यको मात्र शोध अनुसन्धान भइरहेको उनी बताउँछन्। “हाम्रा पुर्खाले किन फलामको भाँडामा पकाए? चुलो किन तीन ढुङ्गाको हुन्छ? ओदानमा किन तीन वटा खुट्टा हुन्छन्?” दीपक भन्छन्‚ “त्यसको कारण खोज्ने पहल लोकतत्त्वको शोधमा गर्ने चाहना छ।”
२०५४ सालमा एसएलसी गरेका दीपकले हुम्ला सदरमुकामबाट आईए सके। त्यसपछि उच्च शिक्षाका लागि राजधानी हान्निए। भक्तपुरको सानोठिमी क्याम्पसबाट बीएड र काठमाडौंको ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसबाट स्नातकोत्तर गरे।
यस अवधिमा उनले भक्तपुरका विभिन्न निजी स्कूलहरू नेपाली शिक्षकका रूपमा काम गरे। “भक्तपुर जिल्लामा उत्कृष्ट शिक्षक पनि भएँ,” उनी भन्छन्, “मलाई आफ्नै जिल्लामा गएर काम गर्नुपर्छ भन्ने लाग्यो र हुम्ला फर्किएँ।”
२०६३ सालमा हुम्ला फर्किएर शिक्षक भए। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कर्णाली विकास आयोग बन्यो। २०६९ सालमा उनी आयोगको सदस्यमा नियुक्त भए। आयोगमा तीन वर्ष काम गर्दा कर्णालीका सबै जिल्ला घुमे। खेतीयोग्य जमीन बाँझो तर युवाहरू बेरोजगार रहेको देखे। उनलाई लाग्यो‚ कर्णालीमा उत्पादनको सम्भावना छ।
कर्णाली घुम्दा बाहिरबाट चामल लगेर त्यहाँका मान्छेलाई अल्छी बनाउने ‘भिसियस साइकल’ चलिरहेको देखे। कर्णालीमा गैरसरकारी संस्थाको भीड छ। ती संस्थाहरूले विभिन्न शीर्षकमा लगानी पनि गरेका छन्, तर तिनले खास विषय नसिकाएको दीपकको बुझाइ छ। “तिनले पानी तताएर भात पकाउन सिकाए। चामल फलाउन सिकाएनन्,” उनको बुझाइ छ।
कर्णालीको भूगोल छाम्दै गर्दा, सबलता नाप्दै गर्दा उच्च क्षेत्रमा फल्ने मार्सी धान, प्रोटिन तत्त्व अधिक हुने उवा, फापर तथा जौ र ‘सुगर फ्री’ चिनो फल्ने सम्भावना देखे। तर, जमीन बाँझो छ‚ युवाहरू बेरोजगार। “अहिले पनि कर्णालीको खेतीयोग्य जमीनको ३१ प्रतिशत बाँझो छ। एक त त्यहाँको जमीनको उत्पादकत्व कम छ‚ अर्कातर्फ भएको जमीन पनि बाँझो हुँदा डबल घाटा भएन त!” उनी भन्छन्, “अनि म के अभियानमा लागें भने ‘जस्तो खाना त्यस्तो सोच, जस्तो सोच त्यस्तो विचार, जस्तो विचार त्यस्तो काम, जस्तो काम त्यस्तो परिणाम।”
कर्णालीको रूपान्तरणको आधार कृषि भएको दीपक बताउँछन्। भन्छन्‚ “त्यहाँका किसानले फापर बेचेर गर्जो टार्ने क्षमता बनाएपछि कर्णालीको विकास हुन्छ।” त्यसैले उनको परिवार त्यही लक्ष्य प्राप्ति गर्न होमिएको छ। प्राकृतिक चिकित्सामा स्नातक उनकी श्रीमतीले उनलाई साथ दिएकी छन्। श्रीमती बेलमती रोकायाले रेस्टुरेन्टको भान्छादेखि पाहुना सत्कारसम्मको सबै जिम्मेवारीमा संलग्न छिन् । छोरी स्वस्तिकाले काउन्टरमा बसेर रेस्टुरेन्टको व्यवस्थापन सम्हालिरहेकी छिन् । “मान्छेहरूले शुरूमा त मलाई खिज्याए। तर‚ मेरो प्रश्न के हो भने मैले गरेको काम गलत हो त?” दीपकको प्रश्न छ ।
उनको रेस्टुरेन्टमा जुम्ला र हुम्लाबाट ल्याइएको तोरीको तेल प्रयोग हुन्छ। अचारमा हालिने तिल‚ अमिलो पनि कर्णालीका किसानबाटै खरीद गरिएको हो। नुन पनि हिमालयन नुन मात्र प्रयोग हुन्छ। “हामी पनि सधैं यहीं नै खान्छौं। यहाँको स्वस्थताको ग्यारेन्टी गर्छौं,” उनी भन्छन्।
शुरूमा मान्छेलाई आफ्नो अभियानमा सहमत गराउन गाह्रो भएको अनुभव छ दीपकसँग। अहिले केही सहमत भएका छन्। जसले अभियानका लागि राम्रो सन्देश दिएको छ। तर‚ बजारमा टिकिरहन त्यतिले मात्र पुग्दैन। महँगो बहाल, सञ्चालन खर्चलाई कम माग भएको वस्तुको बिक्रीले धान्न गाह्रो छ।
गाउँका निम्न मध्यम वर्गीय परिवारको दीपकलाई परिवार पनि चलाउन मात्रै होइन, आफ्नो अभियान पनि सँगै अगाडि बढाउनुपर्ने बाध्यता छ। “एउटा संस्कृति विकास गरौं भन्ने सोच हो। अलिकति प्रयास नगरीकन त हुँदैन,” उनी भन्छन्, “प्रकृति र संस्कृतिको सोचमा हामी अघि बढेका छौं।”
दीपकको सोच छ, अर्गानिक जोनमा नेपालको प्रतिनिधि परिकार दिन सकियोस्। आइतबार कोशी, सोमबार मधेश, मंगलबार बागमती, बुधबार गण्डकी, बिहीबार लुम्बिनी, शुक्रबार कर्णाली र शनिबार सुदूरपश्चिमको खाना तथा तथा गीत/सङ्गीतको प्रस्तुति दिने उनको मन छ।
“सातदोबाटो चोकमा सातै बार सातै प्रदेशको खाना त्यही प्रदेशको वेशभूषामा दिने सोच छ‚” उनी भन्छन्‚ “अहिले देउडाको नियमित कार्यक्रम गर्न सफल भएका छौं। कर्णालीको खाना र गानाको ३८औं शृङ्खला गरिसकेका छौं।” पारिवारिक वातावरणमा खानपानको संस्कृति विकास गर्ने सोच भए पनि लगानी अभावमा त्यसलाई कार्यान्वयन गर्न सकेका छैनन्।
दीपकको अर्को प्रयास अर्गानिक खाजा ‘अर्नी’ को प्रवर्द्धन हो। के हो त अर्नी? “कर्णालीतिर खाजालाई अर्नी भनिन्छ। हाम्रो अर्नी प्याकेजमा शरीरलाई चाहिने प्रोटिन, कार्बोहाइड्रेट मिलाएर आडिलो र स्वस्थ्यकर खाजा राखिएको छ,” उनी भन्छन्, “मार्सी, चिनो, कोदो, फापर, लट्टे मिसाएर बनाइएको हुन्छ। सलादमा मिक्स अचार र सिजनल फलफूल हुन्छ।”
अर्नीमा वैज्ञानिक मापन गरेर के कति राख्ने भन्ने योजना भए पनि अहिले सन्तुलित खाजा दिने प्रयासमा रहेको दीपक बताउँछन्। अर्नीमा लट्टेको लड्डु पनि समावेश हुन्छ। चिनीलाई सकेसम्म प्रयोग गरिंदैन। लड्डु बनाउन सक्खर, जौ र लट्टेको उपयोग हुन्छ। “गाउँघरतिर कसार बनाए जस्तै लट्टेको सातुलाई डल्लो बनाएर बाहिर दाना मिसाइन्छ। यसरी बनाउँदा रैथाने ज्ञान पनि त जोगियो नि,” उनी भन्छन्। ५० जनाभन्दा बढीको माग आए २५० रुपैयाँमा अर्नी काठमाडौं उपत्यकाभरि डेलिभरी हुने दीपकले सुनाए।
पाँच वर्षको व्यावसायिक यात्रामा दीपकले कोभिड महामारी पनि भोगे। अहिले व्यवसाय जेनतेन चलिरहेको छ। उनलाई लाग्छ- कर्णालीको रैथाने र स्वस्थकर बालीको प्रवर्द्धन गर्न सकिए जमीन बाँझो रहँदैन। त्यहाँका मान्छेले काम र रोगजार पाउँछन्। विदेश जानु पर्दैन। तर‚ कृषि रूपान्तरणको कुरा गर्न सजिलो छ, काम गर्न गाह्रो।
गाह्रो काम भए पनि दीपक त्यसलाई फत्ते गर्न निरन्तर लागिपरेका छन्। कृषि विभागले गर्ने प्राङ्गारिक महोत्सवहरूमा भाग लिंदै आएका छन्। २०७५ सालमा ललितपुरको जावलाखेल र २०७६ सालमा सुर्खेतमा भएको प्रदर्शनीमा प्रथम भएका थिए।
उनको आइडिया सबैले मन पराएका छन्। अब त्यसलाई फैलाउन लगानी आवश्यक छ। दीपक भन्छन्‚ “मेरो आइडिया फर्स्ट भयो, तर मैले लगानी पाउन सकेको छैन। दुई करोडको लगानी पाउने हो भने धेरै राम्रो गर्न सकिन्छ। मलाई त सफ्ट लोन भए पनि हुन्थ्यो‚ अनुदान चाहिन्न। त्यसो हुन सके रूपान्तरणको सन्देश जाने थियो।” काठमाडौं उपत्यकाका १० ठाउँमा अर्गानिक रेस्टुरेन्ट खोल्न सकिए देशभर सन्देश जाने उनको बुझाइ छ। साथै‚ स्वास्थ्यमा सचेतहरूले स्वस्थकर खाना खान पाउने पनि दीपक बताउँछन्।
सर्वसाधारणदेखि राष्ट्र प्रमुखसम्मले कृषि क्षेत्रको क्रान्तिका कुरा गर्छन्। खेती गर्न हामीसँग जमीन पनि छ। तर‚ बीउ‚ मल‚ विषादी लगायत विदेशबाट आयात गर्नुपर्छ। “विदेशी रसायन नहाली उब्जाउ नै नहुने गरी जमीन बिग्रिसकेको छ। यस्तो अवस्थामा हामीले गर्ने कृषिका सबै कुरा बेकारका हुन्,” उनी भन्छन्, “त्यसैले अब रूपान्तरणतर्फ पाइला चाल्नैपर्छ।”