दुई वर्षमा सक्नुपर्ने काम सात वर्षसम्म पनि अधुरै
निर्माण सम्पन्न गर्ने मिति सकिएको चार वर्ष बितिसक्दा पनि दाङको तुलसीपुर उपमहानगरपालिका-१५ मा पर्ने डुरुवा-कोठरी जोड्ने हापुरखोलामा आधा मात्रै काम भएको छ।
२०७५ चैत १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपीय सूर्य जेभी कन्स्ट्रक्सन निर्माण कम्पनीले २०७३ असोज १९ गते भ्याट बाहेक १० करोड ५० लाख २१ हजार ४०० रुपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो। तर‚ अहिलेसम्म आधा मात्र काम सकिएको छ।
शुरूका दिनमा व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माणमा विवाद भएको थियो। अहिले निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै म्याद थप्दै आएको छ। लामो समय पुल नबन्दा वर्षात्को समयमा सवारीसाधन वारपार गर्न समस्या हुने अटोचालक सुरेश परियार बताउँछन्। “वर्षात्मा झनै समस्या हुने गरेको छ, पानीको बहाव बढ्ने गरेकाले वारपार गर्न पनि सकिंदैन,” उनी भन्छन्।
पुल नबन्दा सास्ती भएपछि नागरिकले स्थानीय सरकारलाई पनि झकझक्याउने गरेका छन्। वडामा पुलका कारण नागरिकले सास्ती पाएकाले निर्माण कम्पनीलाई चाँडो पुल निर्माण गर्न आग्रह गर्दै आएको तुलसीपुर-१५ का कार्यवाहक वडाध्यक्ष मङ्गल चौधरी बताउँछन्।
पछिल्लो समय २०८० असार मसान्तसम्म म्याद थप भएको छ। तोकिएको समयमा निर्माण नभएमा म्याद थप नहुने र निर्माण कम्पनीलाई कारबाही गर्ने सडक डिभिजन कार्यालय दाङका इन्जिनीयर विके लाखेले बताउँछन्।